शहीदहरुप्रति समर्पित गर्दै प्रमोद खरेलले ल्याए ‘शहीद’

म्यूजिक खबर
प्रकाशित: १५ माघ २०७५, मंगलवार

काठमाडौं । माघ १६ गते सहिद दिवसको रुपमा मनाउँदै आइएको थियो । भोलि बुधबारबाट सहिद सप्ताह पनि मनाउने चलन केही समय चल्दै आएको पनि थियो । देशमा विभिन्न समयमा शासनसत्ता फेरिँदै आयो, शहीदहरुको अपमान पनि हुँदै गयो । शहीदका नाममा कसलाई, कस्तोलाई र केका लागि भन्ने कुरामा विवाद हुँदै गयो । राजनीतिकरणमा शहीदको अर्थलाई विनाअर्थ शहीद बनाउँदै आइएको पछिल्लो समयलाई गायक प्रमोद खरेलको ‘शहीद’ गीतले यथार्थपूर्ण पाठ सिकाएको छ ।

कुनै समय राणा शासनविरुद्ध लडेका, प्रजातन्त्रका खातिर लडेका वीर सपूतहरुको नाममा मनाउँदै आइएको शहीद दिवसलाई पछिल्लो समय राजनीतिकरण गरिँदै जाँदा देशका वास्तविक शहीदहरुप्रति अपमान भएको प्रष्ट छ । शहीद दिवसको अर्थमा गायक प्रमोद खरेलले आफ्नै शब्द, संगीत र स्वरमा गीतबाट एउटा शहीदको अर्थमा देशको यथार्थ पस्किएका छन् । देशका लागि प्राण बलिदान गर्ने ज्ञात अज्ञात शहीदहरुप्रति समर्पित गर्दै गायक खरेलले गीत सार्वजनिक गरेका हुन् । फणिन्द्र राईको संगीत संयोजनमा रहेको यो गीतको कार्टुन भिडियो निर्माण गरिएको छ । भिडियोलाई प्रविन श्रेष्ठले प्रस्तुत गरेका छन् । भिडियोमा गरिएको पेन्टिङ आर्ट भने रोहन गुरुङको रहेको छ । भिडियोमा गिटारमा सुदिप सागर देखिएका छन् भने गायक खरेल आफैं प्रस्तुत भएका छन् ।

 

मेरै रगतले देशै भिजेथ्यो
म शहिद भएँ रे आमा
म शहिद भएको धेरै भयो
मेरो देश उस्तै छ रे आमा

मंगलग्रहमा नेपाल बनाउन कसले पो भन्याथ्यो र ?
सुनै सुनको छानो सजाउन कसले पो माग्याथ्यो र ?
यहाँ भोको पेटलाई खान देऊ
यहाँ नाङ्गो शरीरलाई ढाकिदेऊ
मेरै रगतले संसार भिज्याथ्यो
म महान भएँ रे आमा
म महान भएको धेरै भयो
मेरो देश उस्तै छ रे आमा

मर्नेहरु फेरि फर्कंदैनन् बाँच्नेहरु बोल्दैनन्
तिम्ले झण्डा ओढाई आगो लगाउँदा सपना साकार हुँदैनन्
उदाङ्गो झुपडीमा छानो देऊ
यहाँ पाइला अड्याउने माटो देऊ
मेरो अन्तिम सासले देह छोडेथ्यो
म शालिक भएँ रे आमा
म शालिक भएको धेरै भयो
मेरो देश उस्तै छ रे आमा

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु