स्रष्टाहरुका अभिभावक रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना, अधिकारीसहित ७ जनाको निधन

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७५, बुधबार

काठमाडौं । स्रष्टाहरुको बौद्धिक, नैतिक र आर्थिक अधिकार स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुहुने पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेको छ । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएको छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटी (फुरुङ्गे सिस्नेखोला) नजिकैको तारेढुंगा भीरमा हेलिकोप्टर दुर्घटना भएको हो।

दिउँसो साढे १ बजे भएको दुर्घटनास्थलमा ७ जनाको शव फेला परेको हेली सोसाइटी अफ नेपालका एक प्रतिनिधिले पुष्टि गरे।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा)ले पनि मृतकमध्ये ५ जनाको शव फेला परेको पुष्टि गरे।

‘दुर्घटना भएको जानकारी मिल्नासाथ हामी सो स्थानतर्फ जाँदैछौुं, उपप्रमुख भट्टराईले भने, ‘दुर्घटना स्थलमा पुगेका स्थानीयले सबैजनाको मृत्यु भएको र हालसम्म ५ जनाको शव भेटिएको पुष्टि गरेका छन्।’

उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाको सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘सो क्षेत्र प्रसिद्ध तीर्थस्थल पाथिभराको नजिक रहेको छ।’

अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितको उद्धार टोली पुग्दै गरेको उनले बताए। हाल ताप्लेजुङमा कुहिरो लागिरहेको र पानी पनि परिरहेको छु, भट्टराईले भने।

ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित हेलिकोप्टरमा ७ जना थिए।

हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

एयर डाइनेस्टीको कलसाइन एएस ३५० हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु