सुमन बैरागी
राजु परियार लोकदोहोरी क्षेत्रको एउटा ठूलो धरोहर हुन् । तर यतिबेला कहाँ छन् ? के गर्दै छन् ? अत्तोपत्तो छैन । लोकदोहोरीको क्षेत्रमा उनको अभाव सधैं खड्किरहेको छ तर उनी सांगीतिक दुनियाँमा देखिन चाहँदैनन् । उनको पनि आफ्नै बाध्यता होला तर समयको माग अनुसार उनी चल्न नसक्दा आज लोकदोहोरी क्षेत्रले उनको अभाव बेहोर्नुपरेको हो ।
लमजुङको गाउँशहर चिसापानीमा २०३६ साल असार १५ मा जन्मिएका राजु सानैदेखि गाउँलेको संगीत बनेका थिए । जन्मिएको गाउँको संगीतमय वातावरणले गर्दा राजु परियार अजम्बरी लोकधून बोकेर सांगीतिक क्षेत्रमा उदाएका थिए । लाहुरे हुने र काँधमा टेप राखेर गाउँको उकालो आरोलो गर्ने सपना उनको अधुरै रह्यो तर उनी काठमाडौं भित्रिएपछि एउटा सफल गायकका रुपमा लोकदोहोरी क्षेत्रले पायो ।
००००
औपचारिक रुपमा २०५६ सालबाट गायन सुरु गरेका राजु सबैको मुटुको ढुकढुकी बन्न सफल भए । देवीप्रसाद गुरुङको माया ममता र अग्रज दाजु नारायण रायमाझी र बद्री पराजुलीको प्रेरणाका साथ लोकदोहोरीको क्षेत्रमा प्रवेश गरेका थिए राजु परियार । काठमाडौं आएपछि पुकार दोहोरी साँझमा काम गर्ने अवसर पाए, जुन उनको सांगीतिक करिअरमा कर्मथलो काठमाडौंको सुरुको पाइला थियो । त्यसपछि दोभान दोहोरी साँझले उनलाई दोहोरी गायनको यात्रामा ठूलो मद्दत पु¥यायो । आँशु, हाँसो, सबैको समिश्रण लोक संगीत हो भन्ने गायक राजुलाई त्यो दिनको याद आउँछ, जुन दिन गायक झलकमान गन्धर्वको चिता जलाउन सबैसँग सहयोगको हात फैलाउनु प¥यो । कलाकारहरु राष्ट्रको गहना हुन् भनेर बोलीमा सीमित राखियो तर गहना जस्तै नचाहिने बेला फुकालेर राखियो । झलकमान गन्धर्व हुन् या कृष्णविक्रम थापा आर्थिक अभावमै मृत्युवरण गर्नुप¥यो । त्यस्तो देख्दा राजु परियार चिन्ता व्यक्त गर्ने गर्दथे । उनको भेटमा स्रष्टाहरुले आफ्नो मौलिक हकअधिकारबाट वन्चित हुन नपरोस्, कलाकारले आफू मरेको खबर आफैंले रेकर्ड गरेर बस्नुपर्ने अवस्था नआओस् भन्थे ।
००००
गीत गाएर बाँच्ने सम्बन्धमा उनी स्थापित कलाकार बाँच्न सक्छन् नयाँको भविश्य भन्न सकिँदैन भन्ने गर्थे । उनले करिब १५ देखि २० हजारको संख्यामा लोकदोहोरी गीत गाएका छन् । आफ्नै संकलनमा मात्र उनले ६–७ सय गीत गाएका छन् । राजु परियारले धेरै कलाकारको जन्म दिएको छ । आवरणमा आफ्नो नाम राखेर उनको कला र गला बिक्री गरी धेरैजना स्थापित भए । धेरैको गीत उनले गाए तर उनीभन्दा पनि त्यो व्यक्ति धेरै माथि पुगेको अवस्था हामीले लोकदोहोरी क्षेत्रमा देखेकै हौं । उनी समाज बोल्न सक्ने संगीत सिर्जनामा निकै खप्पिस थिए । जहाँ सबैको हक अधिकार र सिर्जनशील एवं भेदभावरहित समाज निर्माण हुन्छ त्यहाँ जन्मभूमिको गीत बोल्न सक्छ, त्यसले मलाई आनन्द दिलाउँछ भन्ने गर्थे उनी ।
००००
व्यवसायिक हिसाबमा माया प्रेमका गीत बजारमा धेरै चल्ने गर्छन् तर उनका गीतहरु ‘सुनपानी’, ‘रुमाल धोको छु’ जस्ता गीतहरुले समाज बोलेको छ । जुन गीत सदासदा समाजको प्रतिनिधित्व गर्न अगाडि बढिरहन्छ । दलितदेखि गैरदलितसम्मको मन छुने गीतका रुपमा उनले सुनपानी र रुमाल धोको छु गीत लिने गर्थे । यथार्थवादी गीतहरु गाउने प्रणका साथ लोकदोहोरी क्षेत्रमा ‘लोक नायक’का रुपमा स्थापित भएका गायक राजु परियार कलाकारको न्यायालय भनेको स्रोतालाई नै मान्ने गर्थे ।
००००
बेलाबेलामा उनीसँगको मिठो भेट हुने गथ्र्यो । उनी भन्ने गर्थे ‘मैले राष्ट्रलाई केही दिन नसकेको भएर होला मैले पनि राष्ट्रबाट केही पाएको छैन ।’ त्यसो त राजु परियारले भन्थे– ‘संसार छोडेर जाला तर राजुले गाउन छोड्दैन किनभने मेरो आमाले मलाई गाउनकै लागि जन्म दिनुभएको हो ।’ नारायण रायमाझी, कृष्णसुधा ढुंगाना, विमाकुमारी दुरा, बद्री पराजुली लगायत सम्पूर्ण कला क्षेत्रमा लागेका स्रष्टालाई सधैं सम्मान गर्ने र नयाँ कलाकारको प्रोत्साहन गर्ने उनको बानी थियो ।
००००
उनीसँग भेट्दाका क्षेण अविश्मरणीय बन्ने गर्थे तर राजु परियार यतिखेर लोकदोहोरीको क्षेत्रमा देखिएका छैनन् । उनी नेपालभित्रै छन् तर के गरिरहेका छन् भन्ने कुरा सबैको चासोको विषय हुन्छ । केही समय पहिला एक दुई वटा गीत उनको स्वरमा बजारमा आएका थिए । लोकदोहोरी क्षेत्रमा सबैभन्दा धेरै गीतमा स्वर दिने गायक राजु परियार सबैका लागि गर्वको विषय बनेका थिए । उनको अभाव बेहोरिरहेको लोकदोहोरी क्षेत्र अझै पनि उनको आगमनको बाटो हेरिरहेको छ ।
उनीसँग कुनैबेला भएका कुराकानीसँग अहिलेको सन्दर्भलाई यहाँ प्रस्तुत गरेको हुँ तर उनको गायनको यकिन डाटा भने मैले प्रस्तुत गर्न नसकेको पनि हुन सक्छु त्यसमा क्षमा चाहन्छु ।