
१७ भदौ २०७४, पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान सुगम सङ्गीत यात्राको २६ औँ शृङ्खला शनिबार पोखराको लेकसाइडमा सम्पन्न भएको छ । अनुपम म्युजिक पोखरा, त्रिवेणी सङ्गीतालय र जे.ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको कार्यक्रमको सो शृङ्खलाको व्यवस्थापन रेन्बो चिल्ड्रेन होमले गरेको थियो ।
सो होमकी प्रबन्ध निर्देशक तथा बाल गृह महासङ्घकी उपाध्यक्ष गोमा ढकालको अध्यक्षतामा भएको कार्यव्रmमका प्रमुख अतिथि पर्यटन परिषद्का पूर्व अध्यक्ष तथा खेलाडी गणेशबहादुर भट्टराईले राज्यले गर्न नसकेका कामहरु साङ्गीतिक संस्थाहरुले गरेका भन्दै प्रशंसा गर्नुभयो । खेलाडी, कलाकार तथा साहित्यकारहरुलाई राजनीतिक नेताहरुले ‘गहना’ भन्दै ‘प्रयोग’ मात्रै गरेको बताउँदै उहाँलेसाहित्य, सङ्गीत, संस्कृति र खेल क्षेत्रले देशलाई विश्वमा चिनाएको बताउनुभयो । भट्टराईले कला, साहित्यलाई प्रबद्र्धन गर्न उचित कदम चाल्नुपर्ने माग राख्नुभयो ।
कार्यव्रmमा पर्यटन बोर्डका पूर्व सदस्य अग्निप्रसाद कँडेल, बालगृह महासङ्घका सचिव विजय प्रधानलगायतले शुभकामना दिनुभएको थियो ।
अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको सञ्चालन र सचिव रुपिन्द्र प्रभावीको स्वागतमा भएको कार्यव्रmममा त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बराल, लक्ष्मी गिरी, प्रमिला बराल, प्रज्ज्वल भित्रीकोटी, निशान बराल, सङ्गम राना, सन्तोष पराजुली, सुदिप गुरुङ, अन्तिम परियार, निरुता विक, कल्पना बोगटी, अन्जली नेपाली, अनिता रानाभाट, आशा विक, सम्झना पौडेल, विपना सुनार, अमिषा गिरी, आशा थापा मगर, भूमिका क्षेत्री, मनिषा विकलगायतले आफ्ना साङ्गीतिक प्रस्तुति राख्नुभएको थियो ।
सोही कार्यव्रmममा गीत गाएका बाल गायक सुदिप गुरुङको गायनबाट प्रभावित भएर त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक तथा सङ्गीतकार नवराज बरालले तथा अन्तिम परियारको गायनबाट प्रभावित भएर गायक प्रज्ज्वल भित्रीकोटीले सङ्गीतको प्रशिक्षण लिनका लागि छात्रवृत्ति दिने घोषणा गर्नुभएको थियो ।