• महामारी जितेर मृत्युसँग हारेका सांगीतिक योद्धा राम धामी

    म्यूजिक खवर
    प्रकाशित: २७ माघ २०७७, मंगलवार

    गणेश खड्का

    प्रभात, साम, दिन, रात, खाँदा, बस्दा, हिँड्दा, डुल्दा‘ अझ सुत्दा पनि, सपना, बिपना जतिखेरै जसले एउटै विषयप्रति अविच्छिन्न चिन्तन गर्छ, कर्म गर्छ भने त्यो गहिरो अध्ययन हो । लामो अनुसन्धान हो । दीर्घ साधना हो र घनघोर तपस्या हो । नेपाली सांगीतिक आकासको एउटा उज्वल नक्षत्र अझ पूर्वी नेपालको त झन् ध्रुवतारा नै सावित एउटा संगीत साधकको नाम हो राम धामी । जसले संगीत नै खायो, संगीत नै ओढ्नु–ओछ्याउनु गर्यो । उनको र मेरो संगतमा जति बसन्त बिते, ती गीत–संगीतभन्दा पर थिएनन् । प्राज्ञ राम धामीलाई संगीतबाट अलग्याउनु पानीबाट माछालाई बाहिर निकालेर बालुवामा स्थानान्तरण गरेजस्तै पीडादायी हुँदो हो । राम धामी यस्ता थिए, उस्ता थिए भनेर उनको जीवन्त गुनगान गाउँदै उनलाई चीरस्मरणमा सजाउनुको विकल्प रहेन अब । तिनै अथक संगीतज्ञ राम धामीले यो धराधाम असमयमै छोडेर महाप्रस्थान गर्दाको असामयिक पिडागान तथा एउटा भयानक महामारीसँग लडेर, जितेर पनि मृत्यु जित्न नसकेको एक योद्दाको अभिशप्त मृत्युकथा लेख्न अनिच्छित यो मन विवश छ यतिबेला ।

    ”जसले गाउँदछ ऊ परमात्माको नजिक पुग्दछ र उसले परमात्मालाई चिन्दछः गीत एउटा स्वरको डोरी हो, जसले गाउने र सुन्ने आत्मालाई एकै ठाउँमा गाँठो पारेर अल्झाइदिन्छ ।” – नाट्य सम्राट स्व. बालकृष्ण समले यसो भनेर उही राम धामीले समाएकै बाटो गएको धेरै भइसक्यो । वास्तवमा राम धामी संगीत शास्त्रका ज्ञाता थिए । गाउने र संगीत भर्ने दुबै काममा पारङ्गत । अझ शब्द रचनामा पनि आफूलाई अब्बल सावित गरिसकेका । गीतकारसँग उनको सम्बन्ध सधैं सुमधुर रहन्थ्यो । गीतका गेडा छाम्न खप्पिस राम शब्द–शब्द केलाएर मात्र संगीत र स्वर प्रदान गर्नुपर्छ भन्ने अहम् मान्यताका मालिक थिए । उनी र यो पंक्तिकारबीचको अनन्य आत्मीयता र मधुर मित्रता पनि सिर्जनाका सवालमा हाम्रो समानान्तर मान्यता नै हो । सर्जक, दर्शक, श्रोता, पारखी, अनुरागी, शिष्य, शुभचिन्तक सबैलाई संगीतको सरगममा एकशुत्र पारी झमझम झुमाउने रसिक तागत थियो राम धामीमा ।

    संगीत सम्बन्धी प्लेटोको कथन छ– “मानिसको आत्मामा संगीतको प्रभाव काफी पाइन्छ, त्यसको लागि संगीतको लय वा ताल साधारण हुनुपर्दछ ।” राम धामीको जीवनशैली जत्ति साधारण थियो, उनका संगीत सिर्जना पनि त्यत्तिकै साधारण लाग्दथे । तर साधारणभित्र उत्तिकै सरलता, सुगमता, बोधगम्यता, श्रुतिमधुरता, भव्यता अनि उत्कृष्ठता पाइने भएकैले राम धामीलाई सादा जीवन उच्च विचार भएको श्रष्टाको रुपमा उनकै सिर्जनाहरुले मृत्युपर्यन्त न्याय गरिरहे ।

    “मान्छे आखिर मान्छेजस्तो हुन किन सकेन
    मान्छेले नै मान्छेको मन छुन किन सकेन ।”

    मेरो गीत, गजल संचयनको डायरी लगेर लगभग महिना दिन आफूसँगै राखेथे राम दाइले । दशवटा गीत छानेर डायरी फिर्ता गर्दै भनेथे– ‘शुरुमा यो मानवतावादी गीतलाई संगीत गर्छु, यसको भाव र शब्दले मुटुसम्मै छोयो ।’ नभन्दै पछि संगीत गरेर त्यसको डमी पठाइदिए मलाई । शिशिर योगी, नरेन्द्र प्यासी वा स्वरूपराज आचार्यमध्ये एकलाई गाउन दिने हाम्रो सल्लाह भयो । त्यही समयको सेरोफेरोमा राम धामी एकल साँझ भयो काठमाडौँमा । नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा प्राज्ञसभा सदस्य पनि थिए राम धामी त्यतिबेला । एकल साँझमा आफ्ना र अरुका गरेर दर्जनजति गीत गाए । ठूलो प्रशंसा र ताली पाए । एक साँझ फेशबुक मेसेन्जरमा सिधै भिडियो कल गरे राम दाइले मलाई । र आफ्नो एकल साँझ अनि उक्त हाम्रो गीतको बेलीबिस्तार लाउँदै भने, ‘ए बाबै, अब यो गीत मै गाउँछु ल !’

    राम धामी कहिलेकाहीँ मलाई सर,आक्कलझुक्कल जी, धेरैजसो भाइ अनि बेलाबखत बाबै पनि भन्थे । म पनि सर, दाइ, दाजु, बुढा‘ मुड अनुसार सम्बोधन गर्थें । खासगरी दाजुभाइकै सम्बन्ध र सम्बोधनमा रमेका थियौं हामी । यो हाम्रो आपसी सदभाव, भाइचारा र प्रेमको प्रतिबिम्ब थियो । शुरुमा मैले शिशिर योगीको लागि फिट गीत कसरी तपाईं गाउने भनेर आनाकानी गरें । तर राम दाइले ‘म प्राज्ञ भएकै बेला यो एउटा गीत गाउन रहर लाग्यो, यत्ति पनि मेरो कुरा नमान्ने त ?’ भन्दा मुटु चरक्क भयो । अन्ततः म हारें, राम दाइले जिते । गीत उनैले गाउने भए, गाए, रेकर्ड पनि भयो ।

    सरलताभित्रको सुमधुरता,सुगमता र भव्यता राम धामीको सिर्जनामा पाइने विशेषतामध्ये यो गीत पनि पछिल्लो दसी हो भन्ने लाग्छ मलाई । त्यसो त कवि तथा पत्रकार सुविद गुरागाईं यो गीतको म्युजिक भिडियो गर्नका निम्ति हामीलाई हौसाइरहन्थे । अझै पनि उनको झक्झकाई निरन्तर छ । लामो छलफल र गहिरो सल्लाहले राम दाइ, सुविन भान्जा र मेरो संयुक्त ड्रिम प्रोजेक्ट बनेको थियो यो गीतको दृश्यांकन । तर, राम दाइले अधुरै छोडेर गए । यद्यपि, यो प्रोजेक्टको स्क्रिप्ट राइटिङ् प्रक्रियामा छँदैछु म । जुन काम राम दाइले मलाई गर्न भनेका थिए । सम्भवतः यो कामको जिम्मेवारी मेरो काँधमा थप जागरुक भएको छ । कहिले लालबाबु पण्डित, कहिले विप्लव प्रतिक र कहिले बद्री अधिकारीहरुलाई यो गीत सुनाउँदै भिडियो निर्माण कार्यमा सहकार्य गर्न अनुरोध गरेको र उनीहरुबाट आश्वाशन समेत पाएको उत्साह सुनाउँथे राम दाई । तर, कामलाई कुरैमा सीमित राखेर अल्पिए उनी सपना जति मेरो आँखामा छोडिदिएर ।

    राम धामीले आफ्नो जीवनकालमा गरेका पचासौं सांगीतिक कर्महरु सबै आ–आफ्नो ठाउँमा अब्बल छन् । तर, आफूसँग जोडिएको हुनाले यो गीतको थोरै चर्चा गर्न पुगें । यहाँ म केही स्वार्थी देखिएछु भने माफी ।

    राम धामीसँग मेरो सामिप्यता पचासको दशकदेखि नै शुरु भएको हो । हाम्रो प्रथम भेट धनकुटामा भएको थियो । मैले भेट्दा उनको नाम रामकुमार राजधामी थियो । पछि राम धामी नाम नै सर्वाधिक प्रचलित र लोकप्रिय बन्यो । म त्यतिबेला धनकुटा बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्दै रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्रमा कार्यक्रम तथा नाटक शाखाको करार कारिन्दा थिएँ । पूर्वान्चलमा बोलिने विभिन्न भाषाभाषिका गीत तथा कार्यक्रम उत्पादन अनि प्रसारण हुन्थे । थारु भाषाका गीत रेकर्ड गर्न राम धामी इटहरीदेखि आफ्नो समूहका साथ धनकुटा रेडियोमा धाइरहन्थे । त्यैबेला रेकर्ड र प्रसारण भएको एउटा थारु भाषाको गीत अझैसम्म कण्ठस्थ छ मलाई – ‘बुल्कीवाली हो,‘। बुल्कीवाली हो !’ यो गीत रामकुमार राजधामीकै नामले बज्दछ रेडियोमा अध्यावधि ।

    समयको लामो अन्तरालमा हामी पुनः भेटियौं इटहरीमा । यो गीत मैले गाएर त्यो समयको रामकाहानी सम्झाउँदा राम दाइ भावुक र रोमान्चित एकैसाथ भएथे । म भोजपुरबाट इटहरीमै बसाईं सरेर आएको कुराले त झन् राम दाइ बेहद खुशी भए । मेरो घरदेश बसाइ अवधिभर अधिकतम समय हाम्रो भेटघाट भइरहन्थ्यो िछुट्टी सकेर परदेश फर्किने बेलामा मलाई विराटनगर एयरपोर्टसम्म पुर्याउन आउनेमा दुई जना मुख्य छन् – अभिषेक तिम्सिना र राम धामी । यी दुई नाम मेरा लागि असाध्यै निकट छन् इटहरीमा । सुखदुःखका सबैभन्दा सजिला । अभिषेकले नभ्याएका बेला राम दाइ नै निर्विकल्प उपस्थित हुन्थे ।

    फेरि २०७२ साल चैतमा एकसाथ धनकुटा जाने सुयोग जुर्यो हाम्रो । धनकुटामा सँगै पदार्पण गर्ने त्यो सुमधुर संयोग पनि गीतरसंगीतले नै जुराइदिएको थियो हामीलाई । आफ्नो वार्षिकोत्सवका अवसरमा रेडियो नेपालले वर्षेनी गर्ने राष्ट्रव्यापी खुल्ला आधुनिक गीत गायन प्रतियोगिताको क्षेत्रीय प्रसारण केन्द्रहरुबाट हुने छनौट प्रक्रियाको लागि मेरो शब्द र राम धामीको संगीतमा एउटा गीत पेश गरेका थियौं । उज्वल काफ्ले भाइले गाउँदै थिए, जो राम धामीका संगीत शिष्य पनि हुन् । चैतको पहिलो साता राम दाइकै मोटरसाइकलमा इटहरीबाट धनकुटातर्फ रवाना भयौं सखारै । उज्वलचाहिं बिहानको पहिलो बसमै गए । भेडेटारमा चिया खाने योजना बन्यो िइटहरीका युवा मूर्तिकार रोजन राईको होटेल मनशान्तको आउटलेट रहेछ । त्यहीँ छिरेर चियापान गर्यौं रोजनजीको आतिथ्यमा ।

    धेरैपछिको भेटघाट, हामी तीनै पुलकित थियौं । मेरा दुई प्रकाशित कृतिहरु झोलाबाट झिकेर हस्ताक्षर गरीवरी रोजनजीलाई उपहारस्वरूप दिएँ । राम दाइले टेबलको तबला बजाएरै आजको हाम्रो गीत गाए । ‘राम धामी फुर्के मान्छे पनि हुन्, सानो चिजको प्राप्तिले पनि फुरुक्कै भइहाल्छन् ।’ त्यसपछि चिया र गफ सिध्याएर रोजनजीसँग छुट्यौं अनि धनकुटा हान्नियौं हामी । झन्डै दुई दशक समयको ग्यापमा हामी एकसाथ धनकुटा रेडियोको आँगनमा उभिएका थियौं । सबै पुराना स्टाफहरु र हामी मुखामुख गर्दै नोस्टाल्जिक बन्यौं । स्टेजमा उज्वलले गीतको एक लाइन नै खाइदिए । म रिसले रन्थनिएँ । राम दाइ पनि रन्किए । नत्र हाम्रो गीत छनौटमा पर्ने हामी लगायत सबैको अनुमान थियो । उज्वल त अघि नै टाप कसिसकेछन् हामीलाई भेटै नगरी । लाज र डरले एकसाथ गाँज्यो होला बिचरालाई । काठमाडौँबाट आएका अतिथिहरु नवराज लम्साल, भुपेन्द्र रायमाझीलगायतले पनि थकथक माने प्रतियोगितामा हाम्रो गायकले गीत बिर्सेकोमा । लज्जाबोध हामीलाई पनि भयो ।

    त्यही दिन फर्किन मन थियो । रात परिसकेकोले धनकुटामै बस्न बाध्य भइयो । इटहरीबाटै गएका अन्य सहभागी गायिकाहरु अन्जु गौतम र गङ्गा आचार्य पनि थिए । रेडियोले उपलब्ध गराएको होटेल अन्जुलीमा कम्प्लिमेन्टरी गेस्ट भएर काठमाडौँदेखि पूर्वान्चलभरिबाट आएका अतिथिहरु खचाखच थियौं । डिनर खाइसकेपछि पुरानो झझल्कोले सिरानबजारस्थित जागेश्वर भैयाको पान तिर्सना जगायो । दुई दशक अगाडिको पान पसल छ कि छैन, हेक्कै नराखी सुतिसकेका हामी जुरुक्क उठेर उकालो लाग्यौं िको मीठा पान खाने को जर्दा पान खाने ? भाग लाउँदै बाटोमा ।

    धनकुटामा सबै कुरा नौला र अनौठा भइसकेछन् । पान पसल त के दबाई दोकान पनि खुल्ला देखिएन । मध्यरातको चैते सिरेटोमा गीत गाउँदै बजार चाहार्यौं । माथ्लो कोप्चे–तल्लो कोप्चे फन्को मारेर टुँडिखेलमा एकछिन शीत खाएपछि होटेल फर्किएर गुटुमुटु भइयो । ‘राम धामी साह्रै रमाइलो मान्छे, समयानुकूल रामरौस गर्न पनि पछि नपर्ने ।’

    त्यो धनकुटा ट्रिपमा हामीले संगालेका केही रोचक प्रशंगहरु पनि छन् । लेख्नका निम्ति राम दाइ चिमोटिरहन्थे मलाई । ल,ल‘ भन्दाभन्दै जुग बित्यो । त्यो काम पनि समयमा गर्नै सकिएन ियिनै दुई कुरामा चाहिं बढी दुःख लागेको छ– गीतको भिज्युअलमा सहकार्य गर्न पाइएन अनि राम दाइ इच्छित त्यो धनकुटा यात्रा संस्मरण समयमै लेख्न पाइएन उनले पढ्नेगरी । आखिर राम दाइले यही लघुलेख पनि त यो मर्त्यलोकमा पढ्न पाएनन् । अब स्वर्गलोकबाटै दिव्यदृष्टिले पढ्लान् सायद ! स–प्रसङ्ग लेख्न सकेछु कहीँ, कहिल्यै भने त्यो पनि उतैबाट पढ्नुपर्ने त भयो राम दाइले अब ।

    “बन्दी भएको होइन रहरले
    बाध्य बनायो कोरोना कहरले ।

    विश्वव्यापी रुपमा फैलिइरहेको महामारी कोरोना भाइरसको कारण संसार लकडाउनको कहर भोग्दैथ्यो । त्यही कहरले एउटा गजल गुजार्यो मनमा । फेसबुकमा पोष्ट्याएँ । राम दाइले टपक्क टिपेर संगीत गरिसकेछन् । मेसेन्जरमा अडियो क्लिप पठाए । संगीत साधनाको प्रेक्षालयमा पँलेटी मारेर बसे, हार्मोनियम बजाउँदै मोबाइलमा कोरोना गजलको सेल्फी भिडियो खिचे र युट्युबमा प्रसारण गरे । नेपालमा लकडाउन खुलेपछि एक दिन राम दाइ भिडियो कलमा आए । संगीत साधना अगाडिको मदिरालयबाट क्रिस्टल क्लिन ग्लास उठाएर मलाई देखाउँदै भने– ‘म त कोरोनाको दबाई खाँदैछु ।’ छेउमा बसेर कम्पनी दिँदैगरेको साथीले सुन्लाकी झैं गरेर सुस्त बोले फेरि– ‘पियुर कोदोको माल हान्दैछु ।’

    धनी या गरिब समान सबैलाई

    सचेत नभए छोड्दैन जहरले‘!’

    गजलको अन्तिम शेर यस्तो थियो । दाइ सचेत हुनु है, भनें । जवाफमा– ‘अब पेलियो यो नाथु कोरोना–सोरोना’ भनेर गीत–संगीतका कुरामा मन मोडे । हाम्रो गीतको भिडियो गर्ने कुरामा पनि महत्वपूर्ण छलफल भयो । राम दाइ र कोरोनाको घमासान भयो, तर जितेर पनि हारे दाइले । यसैमा दर्दभरि दुःख लागेको छ ।

    राम धामी संगीतमा ओरिजिन्यालिटी खोज्ने साधक हुन् । एकपटक इटहरीमा एक जना गजलकारको गजलसङ्ग्रह विमोचनको सन्दर्भमा आजकलको आडम्बर र हेल्चेक्र्याइँप्रति कडा कटाक्ष गरे । स्टेजमा गाउँदा आधी गीत आफू गाउने अनि आधी गीत गाउन दर्शकदीर्घातिर माइक तेर्स्याउने जस्तो वाइह्यात काम गरेर यो पुस्ताले सक्कली गीत–संगीतकै बेइज्जत गर्यो भन्दा नजिकै यही पुस्तामा चलेका तन्नेरी गायकरसंगीतकार निःशब्द भएका थिए । उक्त कार्यक्रमको उद्घोषक संयोगले मै थिएँ र राम दाइको यो कथनमा ताली बजाउन मैले नै शुरु गरेको थिएँ ।

    ‘राम धामी संगीत जगतको अजीव प्राणी हो, जसले संगीत शास्त्रमा आफ्नो सैद्दान्तिक अडान कायम राख्न कसैसँग केही सम्झौता गरेन ।’

    पुषको पहिलो साता मेलिना राईको आवाजमा रेकर्ड भएको मेरो एउटा गीत केही अग्रज संगीतकर्मी र शुभचिन्तकहरुलाई फेसबुक मेसेन्जरमा अडियो क्लिप पठाउने क्रममा राम धामीलाई पनि पठाएँ र प्रतिक्रिया मागें । उताबाट तीनवटा रिएक्ट आएः थम्स अप ! गीत सुने ! राम्रो छ ! यो थियो पुष ७ गते बिहान । अन्ततः त्यो नै अन्तिम भर्च्युअल संवाद रहेछ राम दाइको तर्फबाट । त्यसअघि त हाम्रो डिजिटल भेट र भलाकुसारी बाक्लै हुने गर्दथ्यो । पुष २२ गते इटहरीका गायक, गायिका दुर्गा पराजुली र रन्जिता श्रेष्ठको फेसबुकले राम धामी कोरोना संक्रमित भएर कोभिड अस्पताल धरानमा उपचाररत भएको सूचना लेख्दा भीरबाट खसेजस्तो भएँ । संगीत साधना प्रतिष्ठानका महासचिव तथा राम धामीका सहकर्मी राजु केसीलाई अनलाइन देखें । तुरुन्तै सम्पर्क गरेर सत्यतथ्य बुझ्दा थाहा लाग्यो– पिसिआर टेस्टले कोरोनाको नतिजा त नेगेटिभ देखायो तर निमोनियाको संक्रमणले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आइसीयुमा उपचाररत छन् राम धामी, अवस्था गम्भीर छ । राम धामी कोरोनामुक्त भएको राजु दाइको कुरामा थोरै आशा थियो सँगै निमोनियाका कारण अवस्था गम्भीर सुन्दा पीडा झनै दियो । सुनेको कुराले मनमा ढ्यांग्रो बजायोः कोरोना र निमिनोया एकसाथ भएको मान्छे फर्किन मुस्किल छ । अब भगवान भरोसामा हाम्रो कामना र प्रार्थानाले काम गरे राम धामी– चिरन्जीवी, हामी– भाग्यमानी । त्योभन्दा अर्को उपाय नै थिएन । यद्यपि, सास हुन्जेल आश हुन्छ भन्छन् ।

    २०७७ पुष २६ गते, आइतबार साँझ । संगीत रुचाउने नेपाली फेसबुक रुँदै थियो । राम धामीकी संगीत शिष्य तथा इटहरेली गायिका रन्जिता श्रेष्ठ भक्कानिदै मेसेन्जरमा एउटा अशुभ समाचार सुनाउँदै थिइन् । हिजोसम्म राम धामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने शुभचिन्तक मनहरु धमाधम श्रद्धाञ्जली अर्पण गरिरहेका थिए । हस्पिटलबाट फर्किनेहरू मृत्यु संस्कारको औपचारिकतामा अश्रुधारा बगाइरहेका थिए । अन्तिम श्रद्धाञ्जलीका लागि संगीत साधनामा शव राखिने सूचना संजालभरि आइरहेकाथिए । राम धामीलाई खाग पारेर इटहरी मुक्तिघाटबाट ब्रम्हनालमा उडिरहेको धुँवा आफैं रोइरहेको थियो । मलाई लाग्यो– मान्छेले आफ्नो मृत्युमा अधिकतम मान्छे रुवाउन र भीडमभीड मलामी जुटाउन सक्नु नै असल जीवनको सार्थकता रहेछ । सार्थक जीवनको क्षतिमा सिङ्गै लोक रुँदो रैछ । राम धामीको मृत्युले सायद थुप्रैलाई असल मान्छे हुन सिकायो ।

    ‘राम धामी साँच्चीकै असल मान्छे हुन्, आँखामा राख्दा पनि नबिझाउने ।

    जननायक वीपी कोइरालाले जेलबाट लेखेका पत्रहरुमा आफ्ना साथी,शुभचिन्तक र परिवारजनलाई –’ठूलो होइन, असल मान्छे हुनू !’ भनेर लेख्नेगरेको उपदेशात्मक दृष्टान्त एउटा असल मान्छेले मृत्युपर्यन्त पाउने जनसम्मानमा चरितार्थ झल्किँदोरहेछ । मृत्युका सम्बन्धमा बुद्ध वाणी छ – ‘संसारमा सबैको मृत्यु हुन्छ, यसबाट कोही पनि उम्कन सक्दैन । यही विकल्परहित साश्वत सत्य हो र चित्त बुझाउने मेलो पनि ित्यसैले त कोरोनाजस्तो भयावह महामारीलाई शानदार जितेर पनि मृत्युसँग नमीठो गरी हारे राम धामी ।

    राम धामी बाचुन्जेल संगीतभन्दा अधिक अरु केही सोचेनन् । संगीतकै माध्यमबाट थुप्रै संगतहरु सुमधुर साँचे । अब उनलाई बचाउने पनि यही हो । मरेर पनि बाँच्ने मान्छे सायद यस्तै हुन्छन् । उनीसँगका मेरा व्यक्तिगत सबै सन्दर्भ र प्रसंगहरुलाई यो छोटो लेखनीमा उन्न असमर्थ छु । केही छुटाउनै मन नलाग्ने चाहिँ गासें । उनीसँग बिताएका हरेक दिनको एउटा गतिलो सामग्री बन्छ । पुरै सङ्गत समेट्न थाले एउटा खाइलाग्दो ग्रन्थ नै ।
    राम धामी कहिल्यै हल्लाखल्लाको चोक र गल्लीमा भेटिएनन् । कहाँ छौ भनेर जतिबेला सोधे पनि एउटै रेडिमेड जवाफ आउँथ्यो- ‘म संगीत साधनामा छु, भेट्ने भए यतै आउनू !’ बरु त्यसपछिको यात्रा त्यहींबाट तय हुन्थ्यो । वरिपरि झुम्मिएका विद्यार्थीसँग बिदा मागेर निस्किन्थे उनी । तिनै प्रिय संगीत गुरु अबदेखि हार्मोनियम फिट्दै हात समातेर संगीतको सूर सिकाउन आउने छैनन् भनेको सुन्दा ती शिष्यका मुटु कति रेक्टरस्केलमा धड्के होलान् कल्पना गर्न गाह्रो छ । एउटा सहरको रैथाने मान्छे, चाहेको भए कमसेकम एउटा चोक उसको हुन्थ्यो । आफ्ना पिता हवाई धामीका नामले हवाई चोक रहँदा अरु थप दुई चोक आफ्नो नामले विस्तार गर्न सक्थे होला चिताएको भए । तर उनले त्यसो गरेनन् । इटहरीका भूमिपुत्र रामलाई निस्वार्थ संगीत समर्पणले अन्य कुनै लोभलालचतिर लाग्नै दिएन । बाउबाजेको त्यत्रो चारचौरास सम्पति गीत-संगीतको अध्ययन, अनुसन्धान, साधना र उन्नयनकै निम्ति सिध्याए । संगीत साधना प्रतिष्ठानको धुरी राम धामी ढल्दा त्यो भवन त हल्लियो नै तर उनैले बसाएको जग बलियो भएकोले उनका सहकर्मी र शुभचिन्तकले छानो बनेर त्यसको गारो ओताउने नै छन् ।

    मृत्युपश्चात् पनि राम धामी जीवितै छन् जस्तो लाग्छ । सिर्जनात्मक कर्मले त उनी अमर छन् नै, भौतिक रुपमा पनि उनको देहावसान अपत्यारिलो लाग्छ । अझ यो भर्च्युअल दुनियाँले मान्छेलाई कन्फ्युज बनाइराख्दो रहेछ । मान्छे डढेर खरानी भैसक्यो, तर फेसबुकमा अनलाइन नै देख्दा मन झसङ्ग हुने १ मेसेन्जरमा हरियो बत्ती बलेको देख्दा राम दाइ अनलाइन नै छन्, जिउँदो मान्छेलाई मर्यो भनेर गरिएका हल्लाहरु झुटा हुन् झैं लागेर केहीपटक कल पनि गरें, तर मरेकाटे कल रिसिभ भएन । सायद राम दाइको मोबाइल उनका परिवारजनले चलाइरहेका छन्, फेसबुक लगअन छ र मलाई झुक्याइरहन्छ ।

    सपनामा पनि देखिरहन्छु िबिपनामा हामी उनको मोटरसाइकलमा खुब हिँडेका थियौं, सपनाममा पनि मोटरसाइकल लिएर मलाई भेट्न आइरहन्छन् राम दाइ । हाम्रो केमेस्ट्री अचाक्ली मिलेको थियो िसायद जीवनको अन्तिम क्षणमा बेस्सरी याद गरे होला । उनले त एकछिन मात्रै, एता भने आजीवन याद दिलाएर गए ।

    मनभित्र छिरेको मान्छे बिर्सिन निक्कै कठिन हुँदो रहेछ । ‘राजधानीले हाम्लाई चिन्दैन र हाम्रा गीत पनि सुन्दैन’ भनेर बेलाबखत गुनासो गर्थे तर मोफसलमै कर्म गरेर प्राज्ञ समेत भए । सायद एउटा कर्मवीरले आफ्नो कर्मको सच्चा फल पाउने जति पाए । कच्चा शरीर मरेर गए पनि मान्छेका मनमा पक्का घर बनाएर गए । मृत्युलाई जित्ने त यो मर्त्यलोकमा को जन्मेको छ र रु ब्रह्माण्ड नै हल्लाउने भयानक महामारी जितेर पनि मृत्यु हार्न बाध्य यौटा सांगीतिक सतिसालप्रति हार्दिक शब्द-श्रद्धा !

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु