रुद्रसेनको अध्यक्षतामा प्रतिष्ठानको मधेस प्रदेश शाखा गठन

म्यूजिक खबर
प्रकाशित: ४ असार २०८१, सोमबार १०:५६
Rudrasen Bishwakarma

काठमाडौं । लोकप्रिय गायक रुद्रसेन विश्वकर्माको अध्यक्षतामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेस प्रदेश कार्यसमितिको गठन भएको छ । प्रतिष्ठानको केन्द्रीय अध्यक्ष रिता थापा मगर, बरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, उपाध्यक्ष सुवास के.सी., उपाध्यक्ष दिपक खड्का, महासचिव शिव हमाल, उपमहासचिव शिरिष देवकोटा, सह–कोषाध्यक्ष जुना श्रीष, सचिव पि.एन. सापकोटाको उपस्थितिमा कलाकर्मीको भेला गरी गायक विश्वकर्माको नेतृत्वमा १३ जनाको कार्यसमिति गठन गरिएको हो ।
उपाध्यक्षमा सुनिता बराल, सचिव विनोद ढुङ्गेल, कोषाध्यक्ष राधा गौतम चयन गरिएको थियो । त्यस्तै सदस्यहरुमा रुबि झा, सरोज कुमार सन्त, शर्मिला रमौली, दिपक शर्मा, तेज नारायण शर्मा, सारथी लामा, नीर कुमारी बिक, अरुणा चौधरी, राधा शर्मा, सरोज सन्त चयन भएका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सदस्य कृष्ण प्रसाद गौतमले जानकारी दिए ।

कार्यसमिति चयनपछि माइन्यूट र संस्थाको बिधान अध्यक्षलाई हस्तान्तरण गर्दै केन्द्रीय अध्यक्ष रिता थापाले बिधान अनुसार मधेस प्रतिष्ठान चलाउन आग्रह गरेकी थिइन् ।
मधेसमा लोक तथा दोहोरी गीत प्रतिष्ठान समिति गठन गर्नुलाई ऐतिहासिक दिन भन्दै अध्यक्ष थापाले कलाकर्मीको हित र भलाईका लागि केन्द्र सधैं साथमा छ भन्ने विश्वास सहित अघि बढ्न सुझाव दिइन् । मधेसमा प्रतिष्ठानको बीउ रोपिएकाले अब कलाको बिरुवा हुर्कने, फुल्ने, फक्रने र फल्ने आशा र विश्वास रहेको थापाले बताइन् ।

भेलामा संगठन विभाग प्रमुख सुवास के.सी.ले प्रतिष्ठानको सांगठनिक इतिहास र अवस्थाबारे जानकारी गराएका थिए । उपमहासचिव शिरीष देवकोटाले प्रतिष्ठान लोक तथा दोहोरी गाउनेको नभएर सबै कलाकर्मीको संस्था भएको बताए ।
महोत्तरी जिल्लाबाट केन्द्रीय समितिमा नेतृत्व गरिरहेका कृष्ण प्रसाद गौतमको पहलमा भएको भेलामा कार्यक्रम सहजीकरण गौतमले गरेका थिए ।
भेलामा अतिथिको रुपमा सहभागी होटल तथा पर्यटन व्यबसायी महासंघ मधेस प्रदेश अध्यक्ष हिरा गौतमले कलाकर्मी मधेसमा कमी छैन तर खोजी गर्ने र उजागर गर्ने नेतृत्वको कमी रहेको बताएका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु