केसी र खत्रीको गजलसङ्ग्रह ‘समय आएपछि’ सार्वजनिक

म्यूजिक खबर
प्रकाशित: २२ फाल्गुन २०७५, बुधबार

काठमाडौं । गीतकार ध्रुव के.सी. ‘गुमनाम’को एकल शब्दरचना र संगीतकार ईश्वर खत्रीको एकल सङ्गीतको गजलसङ्ग्र्रह ‘समय आएपछि’ एक औपचारिक समारोहमा सार्वजनिक भएको छ । काठमाडौंको शान्तिनगरस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहमा एक कार्यक्रमको आयोजना गरी गजलसङ्ग्रह ‘समय आएपछि’ लोकार्पण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ सङ्गीतकार दीपक जंगम, साहित्यकार एवं समीक्षक विनोद मन्जन, समाजसेवी शिव कोईराला, डी. ए. आर. मुभिज एण्ड फिल्म्सका तर्फबाट प्रभावन जे र डी. एन. दाहाल, सङ्गीतकारद्वय किरण कँडेल र राजेश थापा, वृद्धाश्रमका प्रशासकीय सहायक योगेन्द्र अधिकारी र सङ्गीतकार ईश्वर खत्री लगायतका अतिथिहरुले सो गजलसङ्ग्रहको संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

समय आएपछि लोकार्पण पश्चात एल्बमकै एउटा गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो भने सङ्गीतकार ईश्वर खत्रीको तर्फबाट आश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाना खुवाईएको थियो । आफ्ना आमाबुबा दुबै जीवित नभएकोले आमाबुबाको सम्झनामा वृद्धाश्रममा कार्यक्रम राखिएको कुरा सङ्गीतकार खत्रीले बताएका छन् ।

‘समय आएपछि’ गजल एल्बममा ‘एकैछिन् पीडाहरु भुलेर, मेरै लागि वरमाला सजाएकी, समय आएपछि, जितायो कसैलाई ऊ हारेर, तिम्रो कल्पनाको महल ढल्यो भने र हिंडेछन् आधी रातमा’ गरी ६ वटा गजल समावेश भएका छन् । २ वटा गजललाई पुरुष र महिला स्वरमा समेत रेकर्ड गरिएकोले सङ्ग्रहमा ८ वटा गजलहरु सङ्ग्रहित गरिएका छन् । जसमा स्वरुपराज आचार्य, शिव परियार, प्रमोद खरेल, सत्यराज आचार्य, अन्जु पन्त, बानिका प्रधान, सुजाता वर्मा, राज सिग्देल र ईश्वर खत्री स्वयम्ले स्वर दिएका छन् ।

 

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु