• क्यानडाको टोरन्टो फिल्म स्कुलमा निर्देशन पढेकी समुन्द्रले गर्ने भइन् ‘गुलाबी’

    म्यूजिक खबर
    प्रकाशित: १ श्रावण २०७९, आईतवार

    काठमाडौं । नेपालमा रहेका थोरै महिला निर्देशकको सूचीमा आउने नाम हो, समुन्द्र भट्ट। क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी भट्टले केही वर्ष पहिले ‘आधा पेज’ नामको फिल्म निर्देशन गरेकी थिइन्। केही वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किने भएकी छन्। उनको निर्देशनमा फिल्म ‘गुलाबी’ बन्ने भएको छ ।

    दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा बन्न लागेको यो फिल्मको स्क्रिप्टको काम सकिएको र निर्माणको आन्तरिक तयारीमा जुटिरहेको भट्टले बताइन्। प्री प्रोडक्सनमा रहेको यो फिल्ममा हालै अभिनेता नाजिर हुसैनलाई अनुबन्ध गरिएको छ।

    नाजिर फिल्ममा मुख्य अभिनयमा रहनेछन्। नाजिर बाहेक अन्य कलाकारहरूको टुंगो लाग्न बाँकी रहेको र केही कलाकार अडिसनबाट छनोट गरिने बताइएको छ। यो बीचमा कलाकार विशाल पहाडीसँग भने सम्झौता भइसकेको बुझिएको छ।

    यो फिल्मको लागि नाजिरले कम्तीमा १५ केजी तौल घटाउनुपर्नेछ, पछिल्लो एक महिनादेखि नाजिर यसको लागि प्रयासरत छन्। स्क्रिप्ट अनुसार नाजिरलाई ५० केजी तौलको पात्रमा तयार हुनुपर्नेछ।

    भदौ अन्तिममा छायांकनमा जाने लक्ष्यकाबीच निर्माण टिम तयारीमा जुटेको छ। फिल्मलाई आलोक शुक्लाले खिच्नेछन्।

    फिल्मले उठाउने कथावस्तुको बारेमा निर्माण टिमले आधिकारिक रूपमा कुनै पनि तथ्य बाहिर ल्याएको छैन। यद्धपी ‘गुलाबी’ नामले पारलैङ्गिक कथा उठाउन लागेको झलक दिन्छ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु