सुमन बैरागी
सारङ्गीको धून, जसले मानिसको मनमस्तिष्कसम्म एउटा सामिप्यता गाँसेको हुन्छ । गाउँमा छँदा हामीले घर घरमा सारङ्गी बोकेर देशका विभिन्न ठाउँमा भएका घटनाहरुको विवरणसहित सांगीतिक धूनमा सारङ्गीलाई रेट्दै हिंडेको देखेका थियौं । त्यतिबेला हामीले हाम्र अग्रजहरुलाई उहाँहरु को हो ? भनेर सोध्दा भन्नुहुन्थ्यो ‘गाइने दाइ हुन्’ । दिन दिनै घरमा गीत बोकेर सांगीतिक कोसेली दिने ‘गाइने दाइ’ का सूचनाहरु गीतका माध्यमले हामी रमाइलो गरेर सुन्ने गथ्र्यौं । कहिले पल्लो गाउँको ठूलेले गाउँकी चेलीलाई बम्बइमा बेच्यो रे भन्ने गीत सुनिन्थ्यो भने कहिले फलानो गाउँको केटी झुन्डिएर मरि रे भन्ने गीत सारङ्गीसँगै सुनिन्थ्यो । यी गीतहरुले गर्दा हाम्रो मानसपटलमा एउटा छाप परेको थियो, गाइने अर्थात् गन्धर्व गीत भनेको एउटा समाजको ऐना रहेछ । जसले समाजमा भएका विकृतिहरुको वकालत गर्दै घर घर गाउँ गाउँ ब्यूँझाउँदै हिंडेको रहेछ । समाज परिवर्तनको माध्यमका रुपमा गाइने गीत हामीले देखे भोगेका कुरा हुन् । ती अवसरहरु हामीले गाउँमा जसरी सहजै प्राप्त गरेका थियौं त्यो अवस्था अहिले प्रविधिको विकाससँगै समाजमा दुर्लभ बन्यो तर सारङ्गीको तर रेटिन भने छोडेको छैन ।
गाइने दाइको सारङ्गीले जीवनको कथा भन्छ
काम गर्ने भोकै मर्ने चलनको अन्त्य हुनुपर्छ
कुनै बेला रेडियो नेपालमा दलित कार्यक्रमको सुरुमा बज्ने गीत थियो यो । मलाई लाग्छ सायद यो मीना स्वर्णकारको आवजमा थियो होला । दलित कार्यक्रमको पाश्र्व गीतका रुपमा बजाइने गीतले वास्तवमै समाज परिवर्तन गरिरहेको भान हुन्थ्यो । म एउटा दलित बस्तीभित्रको क्षेत्रीको छोरो । तर मलाई लाग्थ्यो मानिस सबै बराबर हुन्छ, कोही ठूलो र कोही सानो हुँदैन भन्ने लाग्थ्यो भने दलित कार्यक्रमको त्यो आवाजले अझ हाम्रा मानसपटलहरुलाई लज्जित गराउँदै परिवर्तनशील धारमा पु¥याउँथ्यो । ती गाइने दाइका सारङ्गीहरुले धेरैका मन मस्तिष्क परिवर्तन गरिसकेका छन् । आज गाउँबाट सूचना बोकेर हिंड्ने गाइने दाइ शहरमा गन्धर्वका नामले स्टुडियो र स्टेजहरुमा सारङ्गी रेटिरहेको छन् । तर जब हामी बुझ्दै गयौ गाइने भनेको को रहेछन्, के गर्दा रहेछन् भन्ने कुरा । गाइने भनेको गीत गाउँदै हिंड्ने गरेको देखेर भनिएको रहेछ । त्यही गाइने दाइ शहर प्रवेश भएपछि पनि सारङ्गी लिएर सँगै सुखदुःखका धून बजाउँदै आए । आज ती गाइने दाइका भाका कहाँ गए होलान्
सन्दर्भ सारङ्गी सम्राटका रुपमा चिनिएका ‘गाइने दाइ’ अर्थात् जंगबहादुर गन्धर्वको हो । केही दिन अघि मात्रै उहाँको स्वास्थ्य स्थिति कमजोर बन्दै गयो । निमोनियाका कारण उनको स्वास्थ्य उपचार कहिले स्टार हस्पिटल त कहिले केएमसी हस्पिटलका बेडहरुमा उनको उपचार भइरह्यो । अन्ततः हामीले उनलाई गुमाउन पुगियो ।
एउटा होनाहार सारङ्गीवादक थिए जंगबहादुर । उनको सारङ्गीको धूनले रेडियो नेपाल गुन्जिए । धेरै समय रेडियो नेपालमा सारङ्गी बजाउँदा बजाउँदै छाडेर काठमाडौंका विभिन्न स्टुडियोमा सारङ्गी बजाउँदै आएका जंगबहादुरले हजारौं गीतमा सारङ्गीको धून दिए । कहिले प्रिज्मा डिजिटल, कहिले काठमाडौं डिजिटल, कहिले त्रिवेणी त कहिले मालश्री भन्दै अनामनगरमा ट्याक्सी कुर्दै गरेको देखिने जंगबहादुर गन्धर्व अब हाम्रो सम्झनामा मात्र रहे । तर उनी हाम्रो सामु मरेर भने गएका छैनन् । उनी जीवित नै छन्, उनका धूनहरु आज पनि गुन्जिरहेका छन् र भोली पनि यसरी नै गुन्जिरहने छन् ।
सारङ्गीको झोला बोकेर स्टुडियोहरुमा दौडिरहने जंगबहादुर सारङ्गी बजाउनमा सबैभन्दा उत्तम मानिन्थे । उनको बुढ्यौलीसँगैको व्यस्तता देखेर लाग्थ्यो उनको शेखपछि कसले बजाउला यस्तो सारङ्गी ? हुन त राजा मरेर राज्य हराउँदैन भन्ने उखान हामीले सुनेका छौं तर पनि उनीजस्तै पाउनका लागि हामीले धेरै समय कुर्नुपर्छ । उनको सारङ्गी रेटाइमा जस्तो मिठास थियो, उनको मधुर वचनले पनि उस्तै प्रभाव पारेको थियो । गत बैशाखमा मात्र म्यूजिक खबर म्यूजिक अवार्डमा जंगबहादुर गन्धर्व र छोरा भुवनलगायतले दिएको सारङ्गीको धूनले जसरी अवार्ड हेरिरहेका दर्शकहरुलाई मन्त्रमुग्ध पारेको थियो त्यो आजजस्तै लाग्छ । तर उनका ती सारङ्गीका धूनहरु जस्तै सम्झनयोग्य थिए जंगबहादुर गन्धर्व । उनले दिएको सारङ्गीका धूनहरुले धेरैका गीतहरु हिट भए, धेरैले गाडी चढे, काठमाडौंमा घर किने तर जंगबहादुर कहिले पैदल त कहिले भाडाको गाडी चढेर सारङ्गी रेट्न छाडेनन् । संगीत क्षेत्रमा ठूलो योगदान दिएका जंगबहादुरका हजारौं हजार गीतहरु छन् । तर हिट भएको गीतमा सारङ्गी कसले बजायो कसैलाई थाहा नै भएन । तैपनि उनी पर्दा पछाडिको हिरोका रुपमा भए पनि चर्चामै रहे ।
उनी मरेर गए पनि उनको मृत आत्माले चीर शान्ति पाओस् । उनका धूनहरु सदासदा गुन्जिरहनेछन् । अलविदा जंगबहादुर दाइ ।