शोविता सिंखडा भन्छिन् – ‘हिजो सतहमा थिएँं, आज गहिराईमा डुब्न चाहन्छु’

म्यूजिक खबर
प्रकाशित: २१ माघ २०७५, सोमबार

सविता पोखरेल/म्यूजिकखबर

नेपाली श्रव्यदृष्य तथा साहित्यिक क्षेत्रमा समेत चिनिएकी एक सफल पात्र हुन् शोविता सिंखडा । उनले केही वर्षअघि चरणवद्ध रुपमा १ दर्जन चलचित्रमा ‘हिरोइन’ को भूमिका निर्वाह गरिसकेकी छिन् । थुप्रै चलचित्रका पर्दामा उनले गरेको जीवन्त अभिनयलाई आजसम्म दर्शकले दिल र दिमागमा राखेका छन् । धादिङ जिल्लाको गुम्दी गाउँमा जन्मेकी शोविताको खेल्दै, पढ्दै सामान्य तरिकाले बाल्यवस्था बित्यो । सानो छँदा समाजमा रहेका हरेक क्षेत्रका प्रतिष्ठित सफल व्यक्तित्वहरु जो देख्दा पनि प्रभावित हुँन्थिन् । आहा उहाँजस्तै बन्न पाए नि हुन्थ्यो भन्ने लाग्थ्यो । जे बने पनि असल र सफल व्यक्तित्व बन्छु भन्ने भावना मडारिन्थ्यो । तर उनको नेपाली साहित्यप्रति भने बिशेष रुची थियो ।

सानैमा थुप्रै साहित्यिक कृतिहरुमा रमेकी शोविताले पहिलो परिचय भने हिरोइनबाट बनाइन् । उनले श्री तामाङखर्क गुम्दी धादिङबाट एसएलसी दिएपछि म्यूजिक भिडियो मार्फत रङ्ग क्षेत्रमा ‘इन्ट्री’ गरिन् । अध्ययन र कलाकारितालाई अघि बढाउँदै जाँदा सफलता पनि मिल्दै गयो । शोविताले नेपाली चलचित्र ‘सन्देश’ बाट डेव्यु गरेकी हुन् । दुईदर्जन नेपाली नेपाली म्युजिक भिडियोमा अभिनय, उद्घोषण, नृत्य तथा फेशन शो गरी दर्जनौं स्टेज कार्यक्रम, टेलिभिजन कार्यक्रम निर्माण र सञ्चालन समेत गरेकी छिन् । शोविताले बीरताको चिनो, गंगाजल, द लाष्ट किस, कसम, मा¥यो नि मायाले मा¥यो, तिमी बिनाको जीवन, चम्पा चमेली, आफ्नै मनलाई सोधी हेर लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । कुनै समय नेपाली चलचित्रमा व्यस्त बन्न सफल शोवितालाई ‘हट नायिका’ पनि भन्ने गरिन्थ्यो । चरित्रलाई राम्ररी बुझेर अभिनय गर्ने उनले हरेक पात्रको जीवन्त अभिनय गरेकी छिन् । अहिले त्यो समयलाई फर्केर हेर्नुस् अनि केहि भनिदिनुस् न भन्दा शोविता भन्छिन् ‘म नेपाली चलचित्रलाई अत्यन्तै प्रेम गर्दछु । अन्यथा नलागोस् तर यो समयमा मैले गरेका चलचित्रमा म सन्तुष्ट छैन । कारण के भने त्यो समयमा म सतहमा नै रमाउँथे, आज म गहिराईमा डुब्न खोज्छु ।’

 


उनले पछिल्लो समयमा ‘वराङ्गना’ नामक उपन्यास पनि लेखेकी छिन् । दर्शनशास्त्रमा स्नातकोत्तर शोविताले उपन्यास लेखनमा तीन वर्ष समय खर्च गरेर मात्रै यो पुस्तक बजारमा ल्याएकी हुन् । अभिनयबाट एक्कासी किन लेखनमा हाम्फाल्नुभयो ? भन्ने हाम्रो प्रश्नमा शोविता भन्छिन् – ‘मोडलिङ गरें, चलचित्रमा नायिका पनि भएँ र चर्चामा पनि आएँ तर मनमा अझै केही सिर्जनात्मक काम गर्ने तुस बाँकी नै थियो । त्यसैले साहित्य लेखनमा पाइला चालें । उसो त साहित्यमा मेरो रुचि सानैदेखि पनि हो । लेख्छु भन्ने भावना धेरै अगाडिदेखिको भएता पनि ठ्याक्कै यो समयमा लेख्छु भन्ने चाहिं कुनै प्लानिङ थिएन । जब लेख्न पर्फेक्ट छु भन्ने फिलिङ आयो तब लेख्न शुरु गरें । वराङ्गनालाई पाठक समक्ष ल्याउन ३ वर्ष नै लाग्यो ।’ जन्मस्थल गुम्दीका सेरोफेरो, कथित उपल्लो र तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति, सामाजिक कुरीति जस्ता विषयवस्तुहरु समेटिएको छ । नेपाली जनजीवनको यथार्थ चित्रण, सामाजिक विषयवस्तुलाई स्वच्छन्द ढङ्गले लेखिएको हुँदा ‘वराङ्गना’लाई नेपाली साहित्यका पाठकले मन पराइदिएका छन् ।

नायिका तथा लेखक शोविता ओशो अनुयायी समेत हुन् । आफू ओशो सन्यासी भएकै कारण पनि साहित्य सिर्जनामा थप बल पुगेको उनको भनाइ छ । यतिमात्र नभएर जीवनसाथीको साथ नै आफ्नो उर्जा भएको बताउँछिन् । शोविताका श्रीमान निराजन भण्डारी कुशल सञ्चारकर्मी र कुशल उद्घोषक हुन् । श्रीमानसँग ‘प्रेमी’ को व्यवहार रहेको बताउँदै शोविता भन्छिन् –‘वराङ्गना ल्याउन मात्र नभई मेरो पुरै जीवनमा उहाँको सहयोग, समर्थन र प्रेरणा मिलेको छ । यदि मलाई कसैले सफल भन्छ भने म चाहिं त्यो जस मेरा श्रीमान अर्थात् प्रेमी निराजनजीलाई दिन चाहन्छु ।’

वराङ्गना पढ्दा पाठकलाई कहिल्यै लाग्दैन की लेखकको यो पहिलो प्रयास हो । वर्षौं शब्दहरुसँग खेल्ने साहित्यकारहरुको भन्दा कम महशुष हुँदैन । लाग्छ यसअघि पनि थुप्रै कृति ल्याइसकेकी छिन् शोविताले । चर्चा र सम्मान पाउँन संख्या धेरै हुनु पर्छ भन्ने छैन । उत्कृष्ट काम गर्न सके एउटा नै काफी हुन्छ । यसको ज्वलन्त उदाहरण हुन् शोविता । उनले साहित्य लेखनमा पहिलो प्रयासमै थुप्रै प्रशंसा सहित सम्मान र पुरस्कार पाइसकेकी छिन् । सगरमाथा कला साहित्य सम्मान–२०७५, ‘परिवर्तन सम्मान –२०७५’ लगायतका सम्मान तथा पुरस्कार ग्रहण गरिसकेकी छिन् ।

 


शोविता बहुमुखी प्रतिभाकी धनी हुन् । उनलेले निर्देशनको काम पनि गरेकी छिन् । सर्टमुभी ‘चक्र’को निर्देशन गरेकी शोविताले जे–जे गरेकी छिन् ती सबै कामले प्रशंसा र सफलता बटुलेका छन् । उनको निर्देशकीय उच्च क्षमताका कारण ‘चक्र’ बाट बेस्ट डाइरेक्टरको अवार्ड समेत चुम्न सफल भइन् । पछिल्लो समयमा साहित्यमा कलम चलाएकी उनले अनलाईन पोर्टल न्यूज बैंक पनि सन्चालन गरिरहेकी छिन् ।

लामो समय पर्दाको रङ्गीन संसारबाट लेखनको सागरमा हाम्फालेकी शोवितालाई – धेरै भयो सिने नगरीमा नदेखेको अब कहिले देख्न पाइएला कि छाड्नु भयो यो क्षेत्र ? भन्ने प्रश्नमा ‘सिने क्षेत्र कसरी छाड्न सक्छु र ? जसले मलाई परिचय दियो । चाहेजस्तो भूमिका आइरहेको छैन । मैंले सोचेको जस्तो भूमिका पाए अवश्य गर्नेछु ।’ भन्ने जवाफ दिइन् । अब अर्को कृति चाहिं ? भन्ने प्रश्नको जवाफमा ‘पाठकहरुले देखाएको प्रेम, सद्भाव र अर्को कृति पढ्न आतुर भएको देख्दा चाँडै नै अर्को कृति ल्याउन लालायित छु म पनि । तर दिमागका यतिबेला कुनै पात्रले डेरा जमाउन सकेका छैनन् । पात्र दिमागमा आउनासाथ अर्को कृति लेखनका लागि जमर्को गर्नेछु । ढिलो चाँडो अर्को कृति अवश्य आउने नै छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु