• संगीतको आरोह–अवरोहमा रमाएकी शोभाको एक दशक

    म्यूजिक खबर
    प्रकाशित: ३ पुष २०८१, बुधबार

    म्यूजिक खबर
    शोभा पाण्डे उदियमान गायिका हुन् । संगीतको कर्मका हिसाबले करिब एक दशकको यात्रा तय गरिसकेकी छन् । उनी शास्त्रीय संगीतको विद्यार्थी हुन् । संगीतकै विषयमा स्नातकोत्तर समेत उत्तीर्ण गरिसकेकी छन् । प्रायजसो मेलोडियस गीतहरुमा उनको आवाज सुन्न सकिन्छ । आधुनिक सेन्टिमेन्टल गीतहरुलाई आत्मसात गरेकी गायिका शोभा पाण्डे संगीतका सुरुहरुसँग सहकार्य गर्दै आएकी छन् ।

    सानो उमेरदेखि नै गीत गाउन र सुन्न हुरुक्क हुने उनको स्वभाव थियो । रेडियोमा आउने गीतहरू लेख्ने र त्यसलाई नै रेडियोसँगसँगै गाउने उनको बानी थियो । कुनै कार्यक्रममा पुग्दा त्यहाँको अग्रजहरुको प्रस्तुति देखेर गायनमा ध्यान केन्द्रित गर्ने उनको बानी थियो । देवदह रुपन्देहीमा जन्मिएकी गायिका शोभा पाण्डेले कक्षा १ देखि १२ सम्म केरवानी उच्च माध्यमिक विद्यालयमा अध्ययन गरेकी थिइन् । स्कूल पढदा साप्ताहिक रुपमा हुने कार्यक्रममा पनि उनी गीत गाउन अघि सर्थिन् । उनको गीत सुनेपछि साथीहरू, शिक्षक, शिक्षकाहरूले प्रोत्साहन गर्ने गर्थे । त्यो नै उनको संगीतको प्रारम्भिक चरण थियो । कलेज पढ्दै गर्दा सङ्गीतप्रतिको मोह क्रमिक रुपमा अघि बढ्यो । नेपाल नेटवर्क र रेडियो देवदहमा समेत म्युजिक कार्यक्रम उत्पादकको रूपमा रहेकी गायिका शोभा पाण्डेले गीतसंगतलाई राम्रोसँग बुझ्न पाएकी थिइन् । काठमाडांैको बसाईमा पनि उनले संगीत विद्यालयमा भोकल कक्षाहरु लिएकी थिइन् । उनले रत्नराज्यलक्ष्मी क्याम्पसबाट सङ्गीतमा स्नातक गरिसकेपछि ललितकला क्याम्पस केन्द्रीय विभाग किर्तिपुरबाट स्नातकोत्तर उत्तीर्ण गर्न सफल भइन् । अहिले सङ्गीत विषयमा एमफील पीएचडी गरिरहेकी छन् । जसको पहिलो र दोश्रो सेमेष्टर सकेर शोध प्रबन्ध लेखन कार्यमा सक्रिय रहेकी छन् । उनको जीवनको सोच गायन थियो । जसका कारण उनको कलेजको शिक्षा पनि संगीतकै बन्न पुग्यो । जीवनमा संगीतबाट आफ्नो नामलाई उच्च राख्ने सोच उनीभित्र ताजै छ । संगीतबाट नै जीविकोपार्जन चल्छ भन्नेमा उनी ढुक्क भएर लागेकी छन् ।

    ०७१ सालमा रेकर्ड भएको “यस्तो मान्छे फेला परोस् देख्नासाथै मन परोस” गजल उनको पहिलो गीत थियो । विन्ध्यवासिनी म्यूजिकबाट बजारमा आएको विम्व कलेक्सन एल्बममा समावेश रहेको थियो । त्यस्तै ७३ सालमा डा. कृष्णहरि बरालको शब्द, गर शुरेसको सङ्गीत र मेरो स्वरमा रहेको उनको सोलो एल्बम ‘शङ्का’ विन्ध्यवासिनी म्युजिकबाट बजारमा आएको थियो । सोही एल्बमले उनको सांगीतिक करिअरलाई स्थापित गरायो । बजारमा शंका एल्बमका गीतहरुले राम्रै चर्चा पनि पायो । उनी निरन्तर गीत रेकर्डमा सक्रिय रहिरहिन् । एकातिर पढाई अर्कोतिर संगीतको यात्रा तर संगीतकै अध्ययनले सहज बनाएको थियो ।
    गायनकै क्रममा उनले ७७ सालमा म्युजिक नेपालबाट ‘घायल’ गीतिसङ्गह बजारमा आएको थियो । ‘‘घायल’ एल्बम उनको गायन यात्राको क्रममा दर्बिलो खम्बा बनेर आयो । उक्त एल्बमका गीतहरुले पनि उनलाई विभिन्न मेला महोत्सव, कार्यक्रमहरुमा प्रस्तुतिका लागि स्थान दिलायो । त्यस्तै चलचित्र ‘प्रेमलिला’मा ‘सबको कहानी उस्तै उस्तै नहुने रहेछ’ गीत समावेश भएको थियो । अहिलेसम्म उनको स्वरमा करिब ७५ भन्दा बढी गीत बजारमा आएका छन् ।
    शास्त्रिय सङ्गीतको पनि अध्ययन गरेकी शोभाले सबैखाले गीतहरू गाएकी छन् । संगीतको क्षेत्रमा आफूलाई अब्बल सावित गरेकी उनले आधुनिक, लोक, भजन, तीज गीतहरुमा स्वर खिएकी छन् । उनको स्वरको माधुर्यता, शब्दअनुसारको गायकी भावले स्रोताको मन जित्न सफल भएको छ । उनको स्वरमा रहेका आँखाको डिलसम्म, यस्तो मान्छे फेला परोस्, घायल, कालिन्चोक, ए मन भन मलाई, मैलाई माया गर्ने भए, मेरो चरित्रमा, मन मान्दैन, कोदो फल्दैन, म त माया गर्न थालें, मेहन्दी, आएँ मत संगीनी, हरदिन पूजा गर्छु म, सरर सरर, भोले शंकर, ताज महल, आमा, मनाऔं तीज लगायतका गीतहरु रहेका छन् ।

    कर्ममा विश्वास गर्ने गायिका शोभा पाण्डे संगीतमा लागेपछि उनले दर्जनौं सम्मान, अवार्ड, पुरस्कार र कदरपत्रहरु पाउँदा खुशी मिलेको बताउँछिन् । आफ्नो संगीत कर्मलाई उत्कृष्ट ठानेर रेडियो देवदह, दूधौली एफएम, अख्तियार लगायतका विभिन्न संघ संस्थाहरुबाट सम्मान तथा कदर पत्र पाएकी छन् । जिनियस म्यूजिक अवार्डमा जुरी अवार्ड गायिकाको अवार्ड पाएकी छन् भने ११ औं छायाँछवि तीज म्यूजिक अवार्डमा उत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकी छन् । त्यस्तै तेस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्डमा लगायत विभिन्न प्रतियोगितामा समेत उनले निर्णायकको भूमिका निर्वाह गरिसकेकी छन् । संगीतलाई नै जिन्दगीको आरोह अवरोहसँग समर्पित गरेकी गायिका शोभा पाण्डे अझै पनि नयाँ नयाँ सिर्जनामा नै व्यस्त छिन् । छिट्टै नै बजारमा आउन लागेको उनको नयाँ गीतको तयारीमा रहेकी उनी यतिखेर संगीतको विषयबाट पीएचडी गर्ने तयारीमा व्यस्त छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु