
काठमाडौं । नेपालमा रियालीटि शोको पछिल्लो समयमा लोकप्रियता निकै नै बढेको छ । लोकप्रियता सँगै यस्ता शो थपिंदै पनि गएका छन् । यही भिडमा नेपालको अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार रासी भएको अर्को गायन रियालीटी शो ‘नेपाल लोक स्टार’ आयोजना हुने भएको छ।
‘नेपाल लोक स्टार’ का बारेमा जानकारी दिन राजधानीमा आयोजित पत्रकार सम्मेलनमा यो जानकारी दिइएको हो । नेपालभर गुञ्जने लोक संगीत समावेश गराई सातै प्रदेशमा अब केही हप्ता देखि अडिसन लिई ‘नेपाल लोक स्टार’ तथा लोक स्टारको मोबाईल एप्स डाउनलोड गरि त्यसैबाट फर्म भरी अडिसन दिन सकिने कुरा आयोजक पक्षले बताएको छ । लोक स्टारमा सहभागी हुनको १ हजार रुपैयाँ फारम शुल्क लाग्नेछ । साथै अडिसन काघको पहिलो साताबाट सुरु हुनेछ ।
नेपाल लोक स्टार प्रतियोगिताको परिकल्पनाकार माधब थापा रहेका छन् । संयोजक सहदेब कोईराला रहेका छन् भने सहनिर्माताका रुपमा उत्तम सुवेदी रहेका छन् ।
यस रियालिटी शोको निर्णायकमा नेपाली लोक संगीतका धरोहर जयनन्द लामाको साथमा वरिष्ठ संगीत संयोजक, संगीतकार तथा गायक बी.बी.अनुरागी, गायक तथा मोडल रमजी खाँण तथा गायीका सुनिता दुलाल रहेकी छिन् ।
शोमा उत्कृष्ट ५० सम्म निर्णयको सम्पूर्ण अधिकार निर्णायकमा नै हुनेछ । साथै, उत्कृष्ट ५० बाट ३० सम्म ८० प्रतिशत निर्णायक तथा २० प्रतिशत भोटिङ्गबाट हुनेछ । साथै उत्कृष्ट ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङबाट गरिनेछ । साथै उत्कृष्ट २० बाट १० सम्म ५०÷५० प्रतिशतको हिसावले छनोट गरिनेछ भने उत्कृष्ट १० बाट फाइनलसम्मको सम्पूर्ण निर्णय २० प्रतिशत निर्णायक तथा ८० प्रतिशत पब्लिक अनलाइन तथा एसएमएस भोटिङ्गको आधारमा हुनेछ । यसको लागि अनिवार्य रुपमा नेपाल लोक स्टाको एप डाउलोड गर्नुपर्नेछ ।
देशभर लुकेर रहेका लोक प्रतिभालाई स्टेजमा ल्याएर गाउन सक्ने र पहिचान दिने अभियानमा हामी लागेका छौं’, कार्यक्रम संयोजक सहदेव कोइरालाले भने । ‘यो प्रतियोगिता नेपाली संगीत र टेलिभिजनका लागि क्रान्ति पनि हो ।’
यस कार्यक्रमको सञ्चालनको जिम्मा भने नायिका तथा कार्यक्रम सञ्चालिका शुभेच्छा खड्का तथा हाँस्य टेलिसिरियल भद्रगोलका कलाकार अशोक धितालले गर्नेछन् ।
कार्यक्रमको प्रशारण नेपाल टेलिभिजन, एपीवान् एचडी, प्राइम टेलिभिजन तथा सुसेली टेलिभिजनबाट प्रत्येक सोमबार बेलुकी ७ देखि ८ बजेसम्म हुनेछ । साथै नेपाल लोक स्टारको मोबाइल एप्स, नेपाल लोक स्टारको युट्युब च्यानल, नेपाल लोक स्टार तथा एपीवान् एचडीको फेसबुक च्यानबाट पनि एकैसाथ प्रशारण हुनेछ । कार्यक्रमको प्रशारण फागुनको पहिलो साताबाट हुनेछ ।
प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कार समेत राखिएको छ । विजेताले ५० लाख रुपैयाँ प्राप्त गर्नेछन् । साथै उपविजेताले २३ लाख तथा तेस्रो हुनेले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।