कस्तो होला रेश्मा र अनिलको ‘सोल्टिनी मैच्याङ’

म्यूजिक खबर
प्रकाशित: ३० भाद्र २०७६, सोमबार
Reshma Bomzon

काठमाडौं । गायिका रेश्मा बोम्जन तथा गायक अनिल लामाको गीतिसङ्ग्रह ‘सोल्टिनी मैच्याङ’ सार्वजनिक भएको छ । गायिका बोम्जन र गायक लामाको स्वरमा रहेको तामाङ सेलो शैलीको गीतलाई पूर्व कानूनमन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यमा आयोजित समारोहमा उक्त एल्बम विमोचन गरिएको हो ।

विमोचित एल्बममा तामाङ सेलो शैलीका चार वटा गीतहरु समावेश छन् । शीर्ष गीत ‘सोल्टिनी मैच्याङ’ मा रेश्मा र अनिलको स्वर सुन्न सकिन्छ । यो गीतमा गायक अनिल लामाकै संगीत निर्देशन छ भने शब्दहरु साङ्गे ब्लोन तामाङले रचना गरेका हुन् । एल्बममा समावेश ‘गोरी गोरी मैच्याङ्…’ मा गायिका रेश्मा बोम्जन तथा रमित लामाको स्वर छ भने केशव विश्वकर्माको शब्द तथा पुष्कर सुनुवारको संगीत निर्देशन छ । एल्बमको तेस्रो गीत ‘होइ च्याङ्बा…’ पनि गायिका रेश्माकै स्वर सुन्न सकिन्छ भने देव पुनको शब्द तथा संगीत निर्देशन छ । एल्बमको ‘पोङ्दीको मेला…’ मा भने गायक अनिल लामाको स्वर छ भने गीतमा शब्द तथा संगीत पनि लामाले नै तयार पारेका हुन् ।

समारोहमा एल्बममा समावेश ‘सोल्टिनी मैच्याङ…’ शीर्षकको गीतको म्युजिक भिडियो प्रिमियर गरिएको थियो । गायिका रेश्मा तथा गायक अनिलले उक्त गीतमार्फत दर्शकको मन छुने प्रयास गरेका छन् । उक्त गीतमा पवन वाङ लामाको संगीत संयोजन रहेको छ भने मित्र लामाले गीतलाई मिक्सिङ गरेका हुन् । राहुल बराइलीद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा जयनन्द लामा, नविन राई, कुमार लामा, रश्मी तामाङ, निराञ्जली लामा, रेशम फिरीरी तथा मरिष्का पोखरेलले अभिनय गरेका छन् । भिडियोमा मित्र लामाको कोरियोग्राफी छ । हाइटलाइट्स नेपालको यूट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु