
काठमाडौं । उमेर केवल एउटा सङ्ख्या मात्र हो भन्ने भनाइलाई चरितार्थ गर्दै नेपाली चलचित्र क्षेत्रकी स्थापित अभिनेत्री एवं निर्मात्री सुस्मिता केसी यतिबेला सामाजिक सञ्जालमा आफ्नो ‘एजलेस ब्यूटी’ (सदाबहार सुन्दरी) लुक्सका कारण निकै चर्चामा छिन् । ५० वर्षको उमेर पार गरिसक्दा पनि उनको पछिल्लो तस्बिरहरूमा देखिएको चमक, शारीरिक तन्दुरुस्ती र उर्जाले आम दर्शक मात्र होइन, नयाँ पुस्ताका अभिनेत्रीहरूलाई समेत अचम्ममा पारेको छ।
हालैका दिनमा फेसबुक र इन्स्टाग्राममा उहाँले शेयर गरेका तस्बिरहरूमा फ्यानहरूले ‘झन् सुन्दर, झन् युवा देखिँदै’ भन्दै प्रशंसाको ओइरो लगाएका छन्। चलचित्रको पर्दाबाट केही समययता टाढा रहे पनि सामाजिक सञ्जालमा उहाँको बलियो उपस्थिति र बढ्दो आकर्षणले उनको लोकप्रियतालाई प्रष्ट पार्छ।
सुस्मिता केसीको यो बदलिँदो र लोभलाग्दो रूपको मुख्य रहस्य उनको अनुशासित जीवनशैली हो। उनी हाल एक प्रमाणित योग शिक्षिका र ट्रेकरका रूपमा सक्रिय हुनुहुन्छ। नियमित रूपमा कठिन योगासन गर्ने, ध्यानमा लीन हुने र केदारनाथ जस्ता दुर्गम आध्यात्मिक क्षेत्रहरूमा ट्रेकिङ गर्ने उनको बानीले उनलाई शारीरिक र मानसिक रूपमा निकै तन्दुरुस्त राखेको छ। महादेवकी परम भक्त रहेकी सुस्मिताले आफ्ना तस्बिरहरूसँगै सधैं सकारात्मक र प्रेरणादायी सन्देशहरू क्याप्सनका रूपमा लेखेर फ्यानहरूलाई सुस्वास्थ्यको कामना गर्ने गर्छिन्।
‘करोडपति’, ‘नेपाली बाबु’ र ‘सुपर स्टार’ जस्ता ब्लकबस्टर चलचित्रहरू दिएकी सुस्मिताले आफ्नै ब्यानर ‘अनमोल क्रिएसन्’ मार्फत चलचित्र निर्माणसमेत गरिसकेकी छिन् । पुराना सदाबहार चलचित्रको अभिनयदेखि वर्तमान समयको योग र फिटनेस यात्रासम्म आइपुग्दा सुस्मिताले आफूलाई सधैं ‘सुपर स्टार’ लुक्समै कायम राख्न सफल भएकी छिन् । उनको यो सकारात्मक सोच र प्राकृतिक जीवनशैली धेरैका लागि प्रेरणाको स्रोत बनेको छ।