• कोरोनाको कहरसँगै गुम्यो तीजको उल्लास

    म्यूजिक खबर
    प्रकाशित: ४ भाद्र २०७७, बिहीबार

    सविता पोखरेल

    काठमाडौं । हिन्दू धर्म मान्ने नेपाली नारीहरूको महान पर्वका रूपमा मानिँदै आइएको पर्व हो ‘हरितालिका तीज’ । यसपटकको तीज पनि घुम्दै फिर्दै संघारमै आइपुगेको छ । विगतका पछिल्ला वर्षहरुलाई सम्झिने हो भने तीजको रौनकता नारीलाई मात्र नभई पुरुषका लागि समेत प्रिय बन्दै गइरहेको थियो । कलाकारहरुका लागि त झन् विशेष अवसर नै बन्ने गरेको थियो यो पर्व । उनीहरुको व्यस्तता चुलीमा हुन्थ्यो । देश देखी विदेशसम्मका कार्यक्रमहरुका लागि समय मिलाउन नै हम्मे हम्मे पथ्र्यो । यता एक महिनाअघिदेखिी नै होटल, पार्टी प्यालेस बुक भइसक्थे । यो समयमा त के शहर के गाउँ सबैतिर आलोपालो गरेर तीज पर्वका नाममा भोज खाने, नाच्ने, गाउने र रमाउने वातावरण उत्कर्षमा हुन्थ्यो । तर कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण यो वर्षको तीज शुन्य हुने भएको छ, खल्लो हुने भएको छ । कोरोना भाईरसको संक्रमणबाट जोगिन सरकारले अत्यावश्वयक सेवा बाहेकका कार्यहरुमा रोक लगाएको छ । सबै कार्यक्रम स्थकित छन् । सबै होटल पार्टीप्यालेस बन्द छन् । कलाकार पनि उस्तै त्रासैत्रासमा बाँचीरहेका छन् । यद्यपी यो वर्ष पनि विभिन्न धारका थुप्रै तीज गीतहरु सार्वजनिक पनि भए । तैपनि यो वर्ष तीज आए जस्तो भएको छैन, रौनकता छाएको छैन । सबैलाई उत्साहित र रोमाञ्चित बनाउने पर्व तीज यो पाली भने खल्लो हुने निश्चित भएको छ । तर यो उत्साह हामी घरभित्रै मनाउँन बाध्य भएका छौं । यहि सन्दर्भमा रहेर हामीले कलाकारहरुसँग ‘तपाईं यो वर्षको तीजलाई कसरी र कहाँ मनाउँदै हुनुहुन्छ ? र विगतको वर्ष र यो वर्षको तीजलाई दाँज्दा कस्तो महशुष भइरहेको छ ? भन्ने प्रश्न राखेको थियौं । सोही विषयमा तयार पारेको रिपोर्टः

    हरिदेवी कोइराला: संस्कृति र मौलिकताको संरक्षण गरौं, भावी पुस्तालाई तीजको महत्व सुनाउँ


    नेपालीहरुका विभिन्न चाडपर्वहरुमध्ये तीज महिलाहरुले मनाउने महत्वपूर्ण र परम्परागत विशेष चाड हो । तीजमा माइतीले छोरीचेलीलाई घरमा बोलाई मिठा मिठा परिकार खुवाउँदै सुख दुःखका कुरा गरी सपरिवार भेला हुने र यस दिनमा दर खाने चलन छ । विशेषतः छोरी चेलीले भोगेका आफ्ना अनुभवहरु माइतीलाई गीत मार्फत सुनाउने गरिन्छ । तर यो वर्ष कोरोनाका कहरका कारण हामी जुन ठाउँमा छौं त्यही ठाउँमा रहेर तीजलाई बिदा गर्नुपर्ने बाध्यता छ । सचेत हुँदै आत्मबल बढाउन जरुरी छ । मैंले पनि घरमै बसेर तीज मनाउँदैछु । म विभिन्न साहित्यिक र सांगीतिक संस्थामा पनि आवद्ध भएकाले तीजमा व्यस्तता निकै बढ्ने गर्छ, यो वर्ष चाहिं प्रविधीको आकर्षक माध्यम जुम मार्फत संघ सस्ंथा जोडिने गरेकी छु ।
    हरेक परिस्थितिको सामना गर्नै पर्छ । तीज आउँछ अनि जान्छ पनि । मलाई चिन्ता लागेको र भन्न मन लागेको कुरा भने पछिल्लो समय तीजका गीतहरुमा आएको बिकृतीका विषयमा हो । उसो त धेरै बजार तताएका गीतहरु कित दोहोरी गीत छन् कित रत्यौली । वास्तविक तीजका गीत उतिसारो सार्वजनिक भएका हुँदैनन् । तीज गीतको नाममा चर्चा कमाएका धेरै गीतले तीजको मर्म बोल्न सकेका छैनन् । यस्तै गीत संगीतका कारणले पनि संस्कृति र परम्पराअनुसार मनाइने तीज विगतका वर्षहरुमा भड्किलो बनेको हामी सबैलाई थाहा छ ।
    पोहोर जस्त यो वर्ष पनि तीज गीतका नाममा उच्छृङ्खल शब्द र दोहोरो अर्थ लाग्ने गीतहरूको बाढी आयो । यिनलाई सञ्चारमाध्यमले अनावश्यक प्रचार गरिदिएका छन । त्यसैले पनि विकृति थप मौलाएको छ । प्रतिफल कमाउन बजारमा बिक्ने गीत निकाल्नुपर्ने बाध्यता पनि होला । तर यही कारणले संस्कृति मास्न हुँदैन । संस्कृती र पर्व माथी नै असर पुग्ने गरि कसैले पनि सिर्जना गर्नु हुँदैन । यो विषयमा गीत निकाल्नेले ठण्डा दिमागले सोच्न जरुरी छ ।
    मैंले पनि सके जति र जाने जति गीत संगीतको मौलिकताको संरक्षण कसरी गर्न सकिन्छ भनेर क्रियाशील रहँदै आएकी छु । विगतका वर्षहरु झैं यो वर्ष पनि मैैले मौलिक तीज गीत कस्ता दिन गए बरै सार्वजनिक गरें । जसमा ज्येष्ठ नागरिकहरुको भावनालाई समेट्ने प्रयास गरेकी छु । साथै १२ वटा पुराना गीतहरुलाई सामान्य भिडियो छायांकन गरि आफ्नै युट्युव च्यानल हरिदेबी कोइराला मार्फत ल्याएकी छु । ती गीतहरुले तीजको वास्तवीक मर्म बोकेका छन् । मौलिकतालाई संरक्षण गरौं, भावी पुस्तालाई तीजको महत्व बुझाउँ ।

    देवीका बन्दना: समय र परिस्थिति अनुसार चल्नु नै मानविय गुण हो

    म यतिबेला बुटवलमा छु । बुटवलमा सरकारले लकडाउन जारी गरेको छ । संक्रमितको संख्या दिनहुँ बढिरहेका कारणले आफैंलाई पनि त्रास महशुस भइरहेको छ । विगतका वर्षहरूमा उल्लासमय रुपमा बित्ने तीज यो वर्ष खल्लो महशुस भएको छ । म आफैं पनि लायन्स क्लबमा भएकाले तीज विशेष कार्यक्रम आयोजना गरिन्थ्यो । तीजकै अवसर पारेर महिला सशक्तीकरणका कार्यक्रम आयोजन हुने गरेका थिए । त्यस्ता कार्यक्रममा कतै अतिथिको रुपमा सहभागी हुन्थें भने कतै सम्मानित र पुरस्कृत हुने गरेकी थिएँ । तर समय कहाँ एकनास हुन्छ र रु यो पटक कोभिड १९ ले विश्वलाई नै संकटमा पारेको छ । प्रकृति भन्दा ठूलो कुनै शक्ति छैन भन्ने प्रमाणीत भएको छ । यो संकटको घडीमा सार्वजनिक रुपमा तिज मनाउन नसकिने अवस्था छ । सतर्क र सावधानी अपनाऔं । सरकारले जारी गरेको निती नियमको पूर्ण पालना गरौं, र परिवारको साथमा तीज मनाऔं । गीत संगीत सुनेर मनोरंजन होस् भनेर कलाकारहरुले तिजका बिभिन्न गीत संगीत सार्वजनिक पनि भएका छन । मेरो स्वरमा पनि चुरा बजाउँदै बोलको मौलिक तीज गीत सार्वजनिक भएको छ । मैंले बुटवलमा नै रेकर्ड गराएकी हुँ । र्य शोभा केसीको शब्द, शिव बिकले कोरियोग्राफी र सन्चारकमई सुर्य चन्दले निर्देशन गरेको भिडियोमा नेपालकी सुप्रसिद्ध नायिका शर्मिला मल्ल नाँच्नु भएको छ । आफुलाई मन पर्ने गीतमा घरमै नाँचौ । जस्तो छ जे छ मीठो मानेर दर खाऔं । समय र परिस्थितिमा चल्न सक्नु नै मानविय गुण पनि त हो । तीजको हार्दिक शुभकामना ।

    सीता थापा: आयो तीज, गयो तीज

    बितेको वर्षहरुमा करिव दुई महिना देखीनै तीज आयो है भन्ने आभाष हुन्थ्यो । किनभने दुई महिना अघिदेखि नै तीजका गीतहरू रेडियो तथा टेलिभिजनमा घन्किन्थ्यो । लगभग एक महिना अगाडि तीजका दर खाने र सांस्कृतिक कार्यक्रममा सहभागी भइन्थ्यो । यो साल कोरोना महामारीको कारणले तीज आएको महशुस नै भएको छैन । खल्लो मशशुष भईरहेको छ । तर यो वर्ष त आयो तीज गयो तीज मात्रै हुने भएको छ । जे भएपनि ललितपुर एकान्तकुना स्थित घरभित्रै छोरीसँगै तीज मनाउँछु । साथै सबै दिदीबहिनीहरूलाई हामी जहाँ छौं, सुरक्षीत रुपले तीज मनाऔं । आधुनिकताका नाममा भड्किला तीज गीतलाई आश्रय दिएर तीजलाई बिटुलो नबनाऔं । मौलिक गीत सुनौं, नाचौं र आफ्नो ख्याल गरौं भन्न चाहन्छु । कोठा र घरभित्र सिमित भएको यसपालीको तीजले पनि तपाईं सबैलाई खुशी दिन सकोस् । हार्दिक शुभकामना ।

    रीता केसी: परिवारको साथमा मनाउन पाइएको छ, अवसर मानौं ।

    तीज मलाई औधि मन पर्ने पर्व हो । पोहोर र विगतका वर्षहरूमा तीज उल्लासमय वातावरणमा मनाईन्थ्यो । एक महिने चाड हो जस्तो लाग्थ्यो । तर हामी कलाकारहरुले चाहिँ यसलाई अवसरको रुपमा पनि लिन सक्छौं । कोरोना कहरका कारणले परिवारको साथमा तीज मनाउन पाइएको छ यो वर्ष । म परिवारको साथमा तीज मनाउने छु । सबैलाई आ आफ्नो घरमा बसेर मनाउनको लागि अनुरोध पनि गर्दछु । बाँचे नाँच्ने दिन त अवस्य आइहाल्छ नी भन्ने सोचेर घरमै रमाउँ । सम्पूर्ण दिदी बहिनीहरुलाई हरितालिका तीजको हार्दिक शुभकामना ।

    सुनितामी परियार: बाँचे अर्को वर्ष रमाइलो गरौंला

    कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण यो वर्षको तीज निकै खल्लो र नरमाइलो हुने भएको छ । विगतका वर्षहरुमा यतिबेला थुप्रै दर खाने कार्यक्रमहरुमा सहभागी हुन पाइएको थियो । निकै रमाइलोको साथ तीज मनाइन्थ्यो । अघिल्ला वर्षहरुमा पारिवारिक जमघट पनि हुन्थ्यो । यो वर्ष भने त्रासैत्रासमा तीज सकिने भएको छ । तर के गर्नु परिस्थितीसँग जुध्न त पर्छ नै । त्यसैले यो पालीको तीज साथीभाइसँग सामान्य किसिमले मनाउने योजनामा छु । भगवानले तीज सकिएसँगै यो महामारीलाई अन्त्य गरिदिउन् । बाँचे अर्को वर्ष रमाइलो गरि मनाउँला नी तीज त । यो वर्षको तीज काठमाडौं मै साथीहरुसँग मनाउने योजना छ । विगतका वर्षहरुमा निकै रमाइलो हुन्थ्यो । तर यो वष त्रासैत्रासमा मनाउनु पर्ने बाध्यता छ । डरैडरका कारणले यो वर्ष मैंले आफ्नो गीत समेत ल्याउन सकिनँ । तर साथीहरुकोमा भने २–३ वटा गीतमा स्वर दिएकी छु ।

    नुतन भुषाल: परदेशमा हुँदा झन् बढी खल्लो महशुष हुने रहेछ

    म केहि वर्षयता परदेशी भुमी इजरायलमा छु । विदेशी भुमीमा रहँदा झन् धेरै आफ्नो भाषा, संस्कृती र पर्वहरुको महत्व हुने रहेछ । यसैले पनि हरेक चाडपर्वलाई समय मिलेसम्म उत्साहित भएर मनाइने गथ्र्यौ । तिजमा पनि विगतका वर्षहरुमा निकै रमाइलो गरिन्थ्यो । नेपालबाट कलाकारहरु बोलाएर भब्यताका साथ कार्यक्रम आयोजना गरिन्थ्यो । दरका कार्यक्रम पनि हुन्थ्ये निक्कै रमाईलो लाग्थ्यो तर यसपाली तेस्तो नयाँ केही छैन घरमै बस्नु पर्ने बाध्यता छ । एक किसिमको डर त्रास कति बेला कसलाइ के हुने हो भन्ने त्रास छ । यसै त हामी प्रवासीलाई सँधै घरदेशको याद आउँछ । झन् यो वर्ष त कोरोना विशेष विभिन्न थरीका समाचार सुन्नुपर्दा शरिर मात्र यहाँ हुन्छ । मन त नेपाल नै पुग्छ । तर पनि मनमा एउटा आशा छ केरोना बाट बचे अर्को बर्ष पक्कै साथीहरु ईष्टमित्रसँग मिलेर रमाईलो गर्नेछु । हामी सबैले यो महामारीलाई हराउन सक्नु पर्छ र भोलीका दिनमा रमाईलो खुशीका साथमा मनाउनु पर्छ ।

    अन्जु गौतम: मान्छेसँग मान्छे तर्किने समयमा के को रमाइलो

    सन्सार नै दुःखद घडीमा रहेको छ । सबै जना डर र त्रासमा बाचेका छौं । मान्छे देखि मान्छे नै अलग भएर तर्किएर बस्नुपरेको छ । यो बेला हर्ष उल्लास छैन मनोरञ्जन भन्दा पनि आफ्नै ज्यान प्यारो छ कसरी आफू सेभ हुने भन्ने तिर मान्छेको ध्यानाकर्षण भएको हुनाले यो साल मैले तीज गीत रेकर्डिङ गरीन पुरानै गीत फेस्बुक मा शेयर गर्दै तेही आफ्नै भिडियो लाई फेरि नियाल्दै अब कोरोना निर्मुल हुने बित्तिकै नयाँ गीत रेकर्डिङ गराउने तयारीमा बसेकी छु। बिगतको वर्षमा यति बेला पुर्बका विभिन्न स्टेजमा दिदी बैनीहरुलाई नचाइरहेकी हुन्थें अहिले एकदमै मिस गरेकी छु । यो साल तीज आफ्नै घरमा आफ्नै नानी सङ्ग बसेर मनाउने सोचाइमा छु पहिला घरमा मनाउनै पाउदैनथें यसैले पनि खुशी छु । साथै सम्पूर्ण दिदी बहिनीहरुलाई पनि यहि चाहन्छु घरै बस्ने आफ्नो घरमा जे छ तेहि पकाउने, बनाउने, आफ्नो परिवार मात्रै बस्ने रमाइलो गर्ने नाच्ने, गाउने, दर खाने, खुसी हुने बाँचियो भने अर्को साल साथीहरू, इस्ट मित्र आफन्त सबै मिलेर तीज लगायतका अन्य चाडपर्व मनाउँला ।

    सरु गौतम: सचेत बनौं, आफू बाचौं र अरुलाई पनि बनाउँ

    अहिलेको यो परिस्थितिलाई हामी सबैको तीज जहाँ छौं , त्यही नै मनाउँने बाध्यता छ । म पनि आफ्नै घरमा तीज मनाउँदैछु । बिगतमा तीजको गीतहरु पनि गाइन्थ्यो , प्रोग्रामहरुमा पनि उतिकै व्यस्त भैन्थ्यो,रमाइलो गरिन्थ्यो व्रत बसिन्थ्यो, मन्दिरमा गएर पुजा गरिन्थ्यो । तर यो बर्ष कोरोना भाइरसको विश्वव्यापी प्रभावका कारण वातावरण उल्लासमय छैन । अहिले त झन् सरकारले कोरोना नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकोले सबैको तीज घरभित्रै सिमित बन्ने भएको छ । आफै सजग र सचेत हुनु नै सर्वोत्तम उपाय हो । यसपालीलाई तीजमा घरै बसौ, सुरक्षीत बनौं । आफू पनि बाचौं, अरुलाइ पनि बचाउँ । मेरो हकमा भने बिगतको बर्षको तीजसँग अहिलेको तीजलाई दाँज्दा खल्लो महशुस गरेकी छु । यसकारणले यो वर्षे तीज गीत ल्याउन तीज ल्याउन पनि मन लागेन । अन्य सहकार्यमा भएका नयाँ गीतहरु भने आइरहेका छन् र आउने क्रममा पनि छन् । सम्र्पूण हिन्दु नेपाली दिदी बहिनीहरुलाई तीजको हार्दिक शुभकामना पनि दिन चाहन्छु ।

    लक्ष्मी पुरी प्रधान: लकडाउनले २२ वर्षपछि माइतीमा तीज मनाउने अवसर दियो

    सिबै हिन्दु नेपाली दिदीबहिनीका लागि रमाइलो र हर्ष छाउँने पर्व हो तीज । पछिल्ला केहि वर्ष यता त दाजुभाइको पनि उतिकै रमाउन थाल्नु भएको थियो । महिलाले मात्रै मनाउने पर्व तीज परिमार्जन भएर पुरुषहरु पनि खुलेर नाँच्न गाउन थाल्नु भएको थियो । तर यसपटकको तीजको उमंगलाई विश्वव्यापी कोरोना भाइरसले आक्रमण गर्यो । प्रायः सबैलाई तीज आएको जस्तो पनि हुन सकेको छैन । तर मेरो हकमा भने यो वर्षको तीज विशेष र अविष्मरणीय तीज बनेको छ । घरायसी कामले ५ महिना अघि म झापा आएकी थिएँ । माइती पनि मेरो झापा नै हो । लगतै लकडाउन भयो । त्यसयता अहिलेसम्म म झापामै छु । बिहे गरेको २२ वर्ष बित्यो । यतिका वर्षसम्म माइतीमा तीज मनाउन पाएँकी थिइनँ । लकडाउनका कारणले बिहे गरेको २२ वर्ष माइतीमा तीज मनाउँन पाएकी छु । ममी नभए पनि भाउजुहरुले ममीको कमी पुरा गर्नु भएको छ । पाँच दाजुहरुकी कान्छी बहिनी म यो पाली निकै रमाइलो महशुष गरिरहेकी छु । सामाजिक दुरी कायम गरि पारिवारीक जमघट, र दर खाने कार्यक्रम भयो । अझ आफन्त र साथीहरुकोमा मन भएर पनि जान सकेकी छैन । सावधानी पनि त अपनाउन जरुरी छ । के थाहा भोली कसलाई के हुने हो ? विगतका वर्षहरुमा भने ललितपुर स्थित सानेपा घरमा नै तीज मनाउँदै आएकी थिएँ । साथीहरुसँग नाचगान गरिन्थ्यो । विभिन्न दर खाने कार्यक्रममा सहभागी भइन्थ्यो । निकै रमाइलो भएता पनि दर खाने दिन भने माइतीको निकै याद आउँथियो । माइती घरआँगन सम्झेर आँशु नै आउँथियो । यसपाली भने तीजले दिने उत्साह नभएता पनि मेरो लागि विशेष र अविष्मरणि तीज बनेको छ । साथै जे जस्तो भए पनि तीजलाई सालिनता अपनाएर मनाऔं । स्वास्थ्य नै सबैथोक हो । बाँचे नै धेरै कुरा देख्न र भोग्न पाइन्छ । यसैले आफू पनि बाँचौ अरुलाई पनि बचाउँ भन्न चाहन्छु । सम्पूर्णलाई तीजको शुभकामना ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु