काठमाडौं । २३ वर्षअघि ‘आँशु’ गीतिसंग्रह बजारमा ल्याएका गायक तिलक सिंह पेला यतिबेला आँशु एल्बमकै तेश्रो भागका रुपमा निर्जन किनार लिएर आएका छन् । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी वरिष्ठ साहित्यकार एवं पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, संगीत गुरु धनबहादुर गोपाली, वरिष्ठ संगीतकार राजु सिंहबाट गायक पेलाले निर्जन किनार सार्वजनिक गरेका हुन् ।
लामो समयदेखि सास्त्रीय संगीतमा साधनारत गायक तथा संगीतकार तिकलसिंह पेलाले आँशु–३ मा २ नेपाली गजल, ४ आधुनिक गीत, एउटा हिन्दी भजन गरी जम्मा ८ रचना समावेश गरिएको बताए । ती मध्ये ‘निर्जन किनार’ गीतको कार्यक्रममा भिडियो सार्वजनिक गरिएको थियो ।
विसं २०५३ सालमा आफ्नै गायन तथा सङ्गीतमा आँशु एल्बम बजारमा ल्याएका गायक तथा सङ्गीतकार पेलाले २०५४ सालमा आँसु भाग २ ल्याएका थिए । आँशु एल्बमले त्यति बेला निकै चर्चा पाएको थियो । लुकाउन खोज्दा पनि… बोलको गीत गायक पेलाको निकै चर्चित गीत थियो ।
विसं २०६१ सालदेखि काठमाडौं बनस्थलीमा श्रीकृष्ण गुरुकुल संगीत पाठशालाको स्थापना गरी उनी शास्त्रिय संगीत साधनामा तल्लीन रहे । श्रोताको अपार माया र स्नेहले २३ वर्षको साधनापछि आफू आँशु भाग ३ लिएर सांगितिक बजारमा पुन आएको गायक पेलाले बताए । सांङ्गीतिक हिसावले सुदूरपश्चिमलाई देउडाका माध्यमले बढी चिनिने गरिन्छ । तर पेलाले देउडाका साथसाथै शास्त्रीय सङगीतका माध्यमलाई मुल विधा बनाए । सुदूरपश्चिम क्षेत्रबाट शास्त्रीय एवं आधुनिक गायनमा प्रवेश गर्ने सम्भवत तिलक सिंह पेला पहिलो व्यक्ति नै होलान् ।
निर्जन किनारमा गायक पेलाको स्वर र संगीत रहेको छ भने कृष्ण सिंह पेलाको शब्द रचना रहेको छ । रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा सनम कठायत र समिक्षा पोखरेलको अभिनय रहेको छ । भिडियोलाई परजन केसीले निर्देशन गरेका छन् । मुकेश हुमागाइँको छायाँकन रहेको भिडियोलाई विनोद बमले सम्पादन गरेका हुन् ।