
काठमाडौं । तीन दशकसम्म नेपाली चलचित्र क्षेत्रमा सक्रिय भएर लागेका तुलसी घिमिरेलाई सरकारले मानार्थ नेपाली नागरिकता दिने प्रक्रिया अघि बढाएको छ । चलचित्र विकास बोर्डको सिफारिस र नेपाल सरकार (सचिवस्तर)को मिति २०६८ असार २४ मा नै निर्णय भएको भए पनि यसअघिका सरकारहरूले अघि नबढाएको उनको नागरिकतासम्बन्धी विषयलाई नयाँ सरकार आएपछि अघि बढाएको हो । उनले तीन दशकदेखि नेपाललाई नै कर्मथलो बनाएर निरन्तर नेपाली फिल्म क्षेत्रको विकासमा लागेको भए पनि उनले नेपाली सिनेमामा योगदान भने त्यो भन्दा लामो छ ।
सूचना तथा सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई पत्राचार गर्दै घिमिरेलाई मानार्थ नागरिकता उपलब्ध गराउन आवश्यक प्रक्रिया अगाडि बढाउन अनुरोध गरेको हो । नेपाली भाषा, कला र संस्कृतिको उत्थान तथा विकासमा निर्देशक घिमिरेले पुऱ्याएको विशिष्ट योगदानको कदर गर्दै उनलाई यो सम्मान दिन लागिएको सूचना तथा सञ्चार मन्त्रालयले बताएको छ।
मानार्थ नागरिकता नेपालमा कुनै विशेष अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्ति वा नेपालको हितमा विशिष्ट योगदान पुर्याउने विदेशी नागरिकलाई सम्मानस्वरूप दिइने विशिष्ट नागरिकता हो । नेपालको संविधानको भाग २ र नागरिकता ऐन, २०६३ को दफा ६ अनुसार, यो नागरिकताले उनीहरूलाई नेपाली नागरिकको सम्मान दिन्छ तर यसले सामान्य नागरिकका सबै अधिकार र कर्तव्यहरू जस्तैस् मतदान प्रदान गर्दैन ।
यसअघि सरकारले स्विट्जरल्यान्डका भूगोलविद् टोनी हेगन, न्युजिल्याण्डका पर्वतारोही एड्मन्ड हिलारी आदिलाई मानार्थ नागरिकता दिएको छ ।