हो, ऊ आउनेछ…

म्यूजिक खबर
प्रकाशित: ५ भाद्र २०७७, शुक्रबार
Yubaraj Adhikari

युवराज अधिकारी

हो, आकाश धमिलिएको छ
गड्याङगुडुङ पनि छ
भीरपाखामा पहिरो गएका छन्
उकालीका भञ्ज्याङहरु
कुहिरोले डम्म ढाकिएका छन्
तर ओठ सुकेका अनुहारहरुमा
चिरा परेका पाइतालाहरुमा
सपनाहरु बाँकी नै छन्

हलो, कुटो र कोदालोले
धेरै समय नछोइएका
बारीका कान्लाहरु बाँझै भए पनि
उर्बरता मरेको छैंन
सपनाहरु बाँकी नै छन्

त्यसैले सखारै बिहानीमा
तिमी सूर्यको किरणसँगै आउनू
सहस्र आँखाहरु
तिम्रो आगमनको पर्खाइमा
पर-परसम्म घुम्तीसम्म
आँखा बिछ्याइरहनेछन्
सिन्दुर पुछिएका सिउँदाहरु
बाबुआमा लुटिएका टुहुराहरु
घरखेत उजाडिएका किसानहरु
तिम्रो स्वागातार्थ
अग्रपंक्तिमा हुनेछन्
किनकी तिमी सबैसबैका

आशा र विश्वास हौ
नेपाली मन, मस्तिष्क र धुकधुकीको
आस्था हौ
त्यसैले त तिमीलाई
यही माटोको सुवासले स्वागत गर्छ
नागबेलीले पहाडका कन्दराहरुलाई
कानेखुसी गरिरहेछन्
झुपडीहरुमा फड्फडाएर
कुखुराका भालेहरु
बासिसकेका छन्
भञ्ज्याङ अनि चौतारीहरुमा

खेतालाहरुले तिमी आउने कथा हालेर
भुटेका मकैसँग
डबकाबाट मोही पिइरहेका छन्
फलैँचामा बसेर
आँखा मिच्दै नातिहरु
बाजेलाई भनिरहेछन्
हो, नानी हो, अब ऊ आउनेछ
तिम्रा बाबाका सपनाहरुलाई
मूर्तरुप दिन ‘ऊ’ आउनेछ
साँच्चै स्वाधीनता र स्वाभिमानका
पहाडहरु बोकेर
ऊ फेरि तिम्रो आँगनमा मुस्कुराउँदै
आउनेछ
घाम डुब्नुअघि नै नानीहरु
तिम्रा आमाहरुले मजेत्रोले पसिना पुछ्दै
खडेरीका ओइलाइएका फूलपातहरुमा
अञ्जुलीले पानी दिनेछन्
काँडाहरुले यदाकदा घोचे पनि
आखिर फूल फूल नै हो
बँगैचामा सजाउनेछन्
सहस्र मालीका हातहरुले
यस धरतीलाई फेरि
शोभायमान बनाउनेछन्
फेरि शोभायमान बनाउनेछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु