
काठमाडौं । संगीतकार सन्तोष श्रेष्ठको नाम आधुनिक गीतसंगीतको क्षेत्रमा शीर्षस्थ स्थानमा देखिने गर्छ । लोकदोहोरीमा राम्रो छाप छोड्न सफल संगीतकार श्रेष्ठले संगीत गरेको तिम्ले पराइ ठानेपछि सुगम संगीतको क्षेत्रमा जसरी कोशेढुंगा सावित भएको थियो त्यसैगरी श्रेष्ठलाई संगीतको क्षेत्रमा कहिल्यै पनि पछि फर्केर हेर्नुपर्ने अवस्था आएन । दिनप्रतिदिन संगीतकार श्रेष्ठका संगीतहरुले चर्चाको शिखरमा स्थान जमाइरहे, त्यो निरन्तरतामा अहिलेसम्म पनि उनका संगीतहरुले बर्चश्व पाउने गरेको छ । सुगम संगीतको क्षेत्रमा उल्लेख्य रुपमा संगीत दिइरहेका श्रेष्ठ अब भने चलचित्र संगीतमा पनि आफूलाई सँगै लैजाने बताएका छन् । बुधबार ड्रिम्स स्टुडियोमा श्रेयषी चेमजोङको स्वरमा गीत रेकर्ड गराउँदै श्रेष्ठले भने अब चलचित्रको संगीततर्फ पनि आफूलाई लैजाने सोच बनाएको छु । यस गीतमा श्रेयषीका अलावा राजेशपायल राईको पनि स्वर रहने बताइएको छ ।
श्री मिडिया सर्च एण्ड मुभी मेकर प्रा.लि.को निर्माणमा बन्न लागेको चलचित्र देव देवकीको निर्देशन भने माधव खरेलले गर्ने भएका हुन् । ललिता कुँवरको शब्दमा श्रेष्ठले चलचित्रमा संगीत दिएका हुन् । धनी केटी र गरीब केटाबीचको कथावस्तुमा तयार हुन लागेको चलचित्रको छायाँनक धेरैजसो सुदूरपश्चिमको क्षेत्रमा गरिन लागेको बताइएको छ । चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, मोतिराम जैसी, एनआर घिमिरे, धनराज चौधरी, केशव सापकोटा, गंगा भुजेललगायतको कलाकार छनौट भइसकेको छ भने केही मुख्य कलाकारहरुको छनौट हुन बाँकी छ । चलचित्रमा सुदरपश्चिमका स्थानीय कलाकारहरुको समेत अभिनय रहने निर्देशक खरेलले बताए ।