
काठमाडौं । यतिबेला दिनरातै जूनकिरीको चर्चा हुने गरेको छ । जुन ठाउँ गयो उही ठाउँमा जूनकिरी, अरु कुनै गीतको डिमाण्ड नै हुन छाडेको छ गायक विरही कार्कीलाई । सामाखुशीस्थित नवजीवन स्कुलमा भएको अभिभावक दिवसका दिन पनि कार्कीको जूनकिरीले सबैलाई नचायो । उनको जूनकिरीले ताली पायो, सबैले वाही वाही दिए कार्कीलाई ।
पछिल्लो समय बजारमा आएको कार्कीको गीत जूनकिरीले चर्चा पाएपछि जताततै उनको जूनकिरीले वान्समोर बटुलिरहेको छ । नवजीवनमा जम्मा भएका विद्यार्थी र अभिभावकको मन छुन सफल भएको थियो कार्कीको जूनकिरीले । उसो त कार्की उक्त स्कुलका अभिभावक पनि हुन् तर उनको अभिभावक भएर जो बोलिरहेका थिए त्यो भन्दा गीतमा नै सबै विद्यार्थी र अभिभावक केन्द्रित थिए । नवजीवन स्कुलमा भएको ३४ औं अभिभावक दिवसका अवसरमा कार्कीका अलावा शिशिर योगीले पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।