सुमन पण्डित
तिज हिन्दू महिलाहरुको महान् चाडका रुपमा मानिँदै आइएको छ । विशेषगरी नेपाली नारीहरुले मनाउँदै आइएको यस तिजलाई हिन्दू धर्म मान्नेहरुको लागि विशेष महत्व राख्ने गर्छ । पछिल्लो समयमा धर्म परिवर्तनसँगै धेरै महिलाहरुले तिजलाई नमान्ने परम्परा पनि बसेको छ तर पनि हिन्दू नारीहरुकै बाहुल्यता रहेको हुनाले तिजले नेपाली महिलाहरुमा एउटा सांस्कृतिक सद्भावलाई कायम गर्दै एक आपसमा आत्मीयता साट्ने पर्वका रुपमा पनि लिने गरिन्छ । तिज महिला दिदीबहिनीहरुका लागि विशेष महत्वका साथ हेर्ने गरिन्छ । तर जति परिवर्तनको कुरा गरिँदै अगाडि बढ्ने कोशिस गरिएको छ त्यसभित्र पनि मौलिकता हराउँदै गएको छ । वास्तविक तिज गीतको अभाव खड्किएको छ ।
जति जति तिज नजिकिँदै जान्छ उति उति शहरबजार राताम्यै हुने गर्दछन् अर्थात् आजभोलि नारीहरुले पनि राता सारीमा हिंड्ने गर्छन् । वर्षभरि कुर्ता सुरुवाल, टिसर्ट पाइन्टमा ठाँटिएर हिंड्ने नारीहरु अहिले तिज आउनु दुई महिना अगाडिदेखि नै रातो साडीमा देखिने गर्छन् । तिज आउनु कहाँ कहाँ महिनौं अगाडि नै तिजका गीतहरु बजारभरि बज्न थाल्ने गर्छन् । टेलिभिजन, रेडियोमा विहान उठेदेखि सुत्नेबेलासम्म तिजका गीतहरु बज्ने गर्छन् भने शहरका पार्टी प्यालेस, पार्कहरुमा पनि तिजको रौनकता देखिने गर्छ । तर आजभोली तिज पहिलाको तुलनामा बदलिएको छ । पहिला दिदीबहिनी सासुले बुहारी माथि गरेको पीडा होस् या श्रीमानले श्रीमतीमाथि गरेको पीडा किन नहास् त्यसलाई नै मध्यनजर गरेर चोक चोकमा, भन्ज्याङ, चौतरीहरुमा जम्मा भएर आफ्नो मनको पीडा पोख्ने गर्दथे । वर्षदिनमा माइती आएका चेलीबेटीले आफ्ना श्रीमान् र सासुससुरासँग टाढा रहेर माइतीघरमा पोख्न पीडा अहिले बदलिएर आएको छ । अब माइतीमा आएर पीडा पोख्ने होइन उनीहरुले मायाप्रितिलाई आत्मीयतापूर्वक पस्कन थालेका छन् । अर्थात् मायाप्रेमका कथालाई तिजका गतिमा लयबद्ध गर्ने क्रम अहिले चलेको छ । पहिला महिलाका लागि मात्र तिज केन्द्रीत गरिन्थ्यो तर अहिले पुरुषका लागि पनि तिजले स्थान दिएको छ । पुरुष बिनाको मायाप्रेमको कुरै हुँदैन भन्ने नारीहरुको बीचमा पुरुषलाई तिजमा स्थान दिइनु कुनै नौलो कुरा पनि होइन । त्यसैले होला अहिले पुरुष र महिला दुवैले तिजको गीत मायाप्रेममा ढालेर गाउन थालेका छन् ।
तिजको महत्वलाई सांस्कृतिक रुपमा दर्शाउनु त हाम्रो नेपाली पहिचान नै हो । नेपाली कला संस्कृति र साहित्यको क्षेत्रमा निकै धनी मानिएको नेपाली कलाक्षेत्रमा हामीले चाडपर्वको आगमनसँगै फरक फरक गीतसंगीत पनि बजारमा ल्याउने गर्छौं । कला संस्कृतिका संरक्षण एवं सम्बद्र्धनमा जुटेका हामी कलाकारहरुले तिजको महत्वसँगै तिजका गीतहरुलाई पनि बजार प्रबद्र्धन गर्नु कुने नौलो कुरा होइन तर त्यसलाई विकासका नाममा विकृति र अश्लिलतातर्फ उन्मुख गराउनु भने गलत हो । कला संस्कृतिका नाममा विकृति भित्रियो भने समाजलाई हामीले कसरी चिनाउने ? समाज परिवर्तन गर्ने नाममा सामाजिक आचरणविरुद्ध हामी लाग्नु भने हुँदै हुन्न । तिजको गीतको अर्थमा हामीले मायाप्रेमको कुरा गरौं तर ठट्यौली गीत गाएर तिमीलाई लान्छु, ल्याउँछु भन्ने कुराहरुसँगै उच्छृंखलतर्फ लानु भने गलत प्रवृति हो । माया प्रेमसँगै दुःखसुखका कुरा गर्नु, समाज परिवर्तनको कुरा गर्नु, हाम्रो सांस्कृतिक पक्षलाई कसरी अगाडि बढाउन सकिन्छ भन्नेतर्फ हामी लाग्यौं भने जातीय सद्भाव र आत्मीयताको कुरा पक्कै आउनेछ । तर उट्पट्याङ गर्ने, उच्छृंखल बन्ने र चोलीका नाममा उध्रेको चोली लगाएर नृत्य गर्दैमा तिजले महत्व राख्छ भन्ने होइन । यो व्यवसायिकता गर्नेहरुले तिजको धर्मलाई बिर्सेका हुन् । हाम्रो संस्कृतिलाई विकृतिमा बदलेर व्यवसाय गर्ने केही संगीतकर्मीहरुले गर्दा तिजलाई भड्किलो बनाउँदै लगेको छ । अश्लिलता र उच्छृंखल गीतहरुको प्रवेशसँगै व्यावसाय त राम्रो गर्न सकिएला, रातारात महल उभ्याउने सपना देख्न सकिएला तर हाम्रो संस्कृतिलाई पाश्चात्य शैलीमा ढालेर संस्कार परिवर्तन गर्न खोज्नु भनेको संस्कृतिविरुद्ध लाग्ने मूर्खहरुको काम मात्र हो ।
कला संस्कृतिको धरोहर हाम्रो नेपाल सांस्कृतिक पक्षमा निकै धनी छ तैपनि संस्कृतिको विकासमा लाग्नेहरुको भने कमी नै रहेको छ । व्यवसाय गर्नेहरुको बाहुल्यता छ भने राम्रा स्वर भएकाहरुलाई किनेर आफ्नो स्वर भन्दै व्यवसाय गर्ने कलाकारहरुको लस्कर लामै छ । एउटा नयाँ कलाकार भित्रिँदै गर्दा उसले जुन चलेको कलाकार हो उसको स्वरमा गीत रकेर्ड गर्ने र आफ्नो स्वर हो भन्दै हिंड्ने प्रचलनले कलाकारको धर्म, कर्तव्य र दायित्वमाथि प्रश्नचिन्ह खडा गरेको छ । वास्तविक कलाकारले सधैं आफूलाई क्रियाशील गराइराख्छ तर कलालाई व्यवसाय गर्नेले मेरो र तेरो भन्ने प्रवृतिसँगै पैसा कमाउने थालेका रुपमा गीतसंगीत क्षेत्रलाई लिएको हुन्छ । वास्तविक रुपमा गीतसंगीत सिर्जना गर्नेहरुको लागि भने यो क्षेत्रमा ठाउँ भएर पनि दबाइएको अवस्था छ । कला र गला हुनेहरुले सधैं अवसर पाउँछन् तर उनीहरुको अगाडि कमैले मात्र दाम पाउने गरेको यथार्थ हामीसामु छर्लङ्गै छ । कलाकारितामा भित्रिएको छोटो समयमा हराउने कलाकारहरुले अरुबेला केही गर्न नसके पनि तिजको बेला भने गीत गाएकै हुन्छन् । यसरी हेर्दा तिजको गीत गाउनु सजिलो र चाडपर्वको मौका छोप्दै व्यवसाय गर्नु उनीहरुको उद्देश्य रहेको छ । ‘सर्प पनि नमर्ने लौरो पनि नभाँचिने’ उखानसँग उनीहरु दौडिरहेका छन् । बेलाबेलामा म पनि कलाकार हुँ, गायक हुँ, गायिका हुँ भन्नेहरु भित्रिने बेला भने तिज नै भएको छ । तिजको गीत गाउने र आफूलाई कलाकारको स्थानमा राख्ने अनि व्यवसाय गरेर फेरी एकवर्षसम्म गायब हुने कलाकारहरुको पहिचान गर्नु पनि जरुरी देखिन्छ । यस्ता व्यवासायिक कलाकारहरुले गर्दा वास्तविक कलाकारहरुलाई कला क्षेत्रमै लागेर बाँच्न गाह्रो भएको अवस्था अहिले देखा परेको छ । ‘संगीतमा लगानी बालुवामा पानी’ भएको अवस्था अहिले देखिन्छ । किनकी संगीतमा लागेर अहिले गीत बिक्री भएर संगीत क्षेत्रमै निरन्तरता दिन्छु भन्नेहरुका लागि भने यो क्षेत्र निकै कठिन घडीमा उभिएको छ । तर कला, गला र सिर्जना क्षमतासँगै कुनै न कुनै क्षेत्रमा उसको व्यवसायिक छवि छ भने उ बाँच्न सकेको अवस्था अहिले देखिन्छ । अहिले कलालाई पैसामा किन्न थालिएको छ तर उसको कलाअनुसारको लगानी भने कसैले गर्न सकेका छैनन् । यस्ता कुराहरुले पनि हाम्रो गीतसंगीत क्षेत्र धरासायी बन्दै गएको छ, मौलिकता हराउँदै गएको छ ।