• म्यूजिक भिडियो अवार्डमा त्रिलोक र प्राश्ना उत्कृष्ट गायक गायिका

    म्यूजिक खबर
    प्रकाशित: १६ मंसिर २०७४, शनिबार

    १६ मङ्सिर, काठमाडौं । यूएईमा सम्पन्न दोस्रो नेपाली म्युजिकल अवार्डमा गायक त्रिलोक राना र गायिका प्राश्ना शाक्य उत्कृष्ट गायक गायिका बन्न सफल भए । गायक रानाले काँडा छोए फूल बन्छ बोलको गीतबाट उत्कृष्ट गायकको अवार्ड चुमेका हुन् भने शाक्यले म त सोझी सोझीबाट उत्कृष्ट गायिकाको अवार्ड चुम्न सफल भएकी हुन् ।


    संगीक्षा फिल्म इन्टरटेन्मेन्ट र नमस्ते ट्राभल्सको सहकार्यमा आयोजित दोस्रो नेपाली म्युजिक भिडियो अवार्ड कार्यक्रम मंसिर १५ गते शुक्रबार अबुधावीको फोल्कफोर थिएटरमा सम्पन्न भएको छ । अवार्डमा उत्कृष्ट पपगायन पुरुषतर्फ दीपक बज्राचार्यको अल्लारे, उत्कृष्ट पपगायन महिलातर्फ एञ्जिला रेग्मीको कपुरी क, उत्कृष्ट लिरिक्स दिलीप पियाको लठ्ठै बनायो, उत्कृष्ट संगीत सचिन सिंहको सिरैमा सिरबन्दी, उत्कृष्ट व्यवस्थापन महराज थापाको ढुंगाको भर, उत्कृष्ट रेकर्डिस्ट किशोर थापाको काँडा छोए फूल बन्छ, उत्कृष्ट लोकदोहोरी उजेली श्रेष्ठको कान्छी स्वास्नी बोलको गीतलाई प्रदान गरिएको थियो ।


    त्यसैगरी भिडियो समूहतर्फ उत्कृष्ट म्युजिक भिडियोमा कृष्ण गुरुङको हिमालको काखमा, भिडियो डाइरेक्टरमा श्रीधर पौडेलको छम छम, क्यामरापर्सनमा प्रकाश गुरुङको हिमालको काखमा, सम्पादनमा प्रवीण श्रेष्ठको मायालु मुहार तिम्रोलाई प्रदान गरिएको थियो । उत्कृष्ट भिडियो अभिनयकर्ता पुरुषमा विवेकसिंह ठकुरी, अभिनेत्रीमा नम्रता सापकोटाको थाहा छैन, उत्कृष्ट कोरियोग्राफी शंकर विसीको केटी पट्याउने, उत्कृष्ट नव प्रतिभा ट्यालेन्टको उपाधि प्रेम सेनको तिम्रो पाउजु र संजिव पराजुलीको नाइ मलाई थाहा छैन बोलको गीतले पाएको छ ।


    नेपाली म्युजिक भिडियोसम्बन्धी विभिन्न विधामा युएईमा क्रियाशील कलाकारहरूलाई दिइने ५ विधाहरूमध्ये उत्कृष्ट म्युजिक भिडियो मोडल पुरुषतर्फ आशिष पुरुष र महिलातर्फ सारिका सुनारले पाएका छन् । उत्कृष्ट म्युजिक भिडियो नन्दु राई र गायिका रेखा घिमिरेलाई प्रदान गरिएको छ । उत्कृष्ट म्युजिक भिडियो लिरिक्सको उपाधि भने लक्ष्मण भान्तनाले पाएका छन् । उत्कृष्ट म्युजिक भिडियो निर्देशक विजय सुब्बा र उत्कृष्ट म्युजिक भिडियो छाँयाकारको अवार्ड रोहित विक्रमले प्राप्त गरेका छन् । त्यसैगरी, लोकसंगीतको क्षेत्रमा योगदान दिएको भन्दै युएईमा क्रियाशील विभिन्न कलाकारलाई सम्मान पनि गरिएको थियो ।

    कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरूले प्रस्तुति दिएका थिए । कार्यक्रममा वीरेन्द्र हमाल, यशराज, सपनाश्री, सुशान लिम्बू, सृजना खत्री, नायिका निरुता सिंह, जितु नेपाल, लोकनाथ सापकोटा, त्रिलोक राना, महिमा सुनार, एञ्जिला रेग्मी, उजेली श्रेष्ठ, दीपक गुरुङ लगायतले प्रस्तुति दिएका थिए ।

    आयोजक नमस्ते ट्राभल्सका एकेन्द्र बहादुर थापा र संगीक्षा फिल्म प्रालिका मनोज केसीको संयुक्त सभापतित्वमा सम्पन्न कार्यक्रम नरेश भट्टराईले सञ्चालन गरेका थिए । नेपाली दूतावास युएईका कार्यबाहक राजदूत नेत्र टण्डनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा युएईमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली म्युजिक भिडियोसम्बन्धी विभिन्न विधामा नेपालमा क्रियाशील कलाकारहरूलाई १७ विधामा र वैदेशिक रोजगारीको क्रममा युएईमा रहेर पनि आफ्नो कला संस्कृतिप्रतिको मोह र प्रतिभालाई निरन्तरता दिइरहेका कलाकारहरूलाई विभिन्न ५ विधामा अवार्ड वितरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु