
२१ भाद्र २०७४, काठमाडौं
प्रस्तोता समाज नेपालले बितरण गरेको रोयल्टीमा गायिका अन्जु पन्तले दुई लाख ४८ हजार ६ सय ७ रुपैयाँ रोयल्टी बुझेकी छन् । उनीसँगै गायक प्रमोद खरेल दोस्रो स्थानमा परेका छन् । खरेलले १ लाख ८३ हजार ९ सय २७ रुपैयाँ रोयल्टी बुझन् सफल भएका छन् भने तेस्रो स्थानमा कालिप्रसाद बास्कोटाले ८९ हजार १ सय ५ रुपैयाँ रोयल्टी पाएका छन् ।
गत नोभेम्बर २०१६ देखि जुन २०१७ सम्म एनसेल मोबाइलमा प्रयोग भएको रिङ ब्याक टोन प्रयोगवापत आएको रोयल्टीलाई प्रस्तोता समाजले बितरण गरेको हो । एनसेलबाट आएको साढे १३ लाख रकमबाट २५ प्रतिशत रकम समाजको प्रशासनिक खर्चमा कटौती गरी बाँकी रहेको झण्डै साढे आठ लाखको रोयल्टी हस्तान्तरण गरिएको हो ।
गायिका अन्जुले आफूले पाएको रोयल्टी मध्ये २५ हजार संगीतकार संघ नेपालमार्फत संगीतकर्मी कल्याणकारी कोषलाई प्रदान गर्ने र २५ हजार गीतकार संघलाई प्रदान गर्ने घोषणा गरेकी छिन् ।
त्यसैगरी प्रसिद्ध संगीतकार तथा गायक कालिप्रसाद बाँस्कोटा रोयल्टी बुझ्ने उत्कृष्ट तीनमा परे । कालिले एक लाख माथिको रोयल्टी ग्रहण गरे । कालिले यो आफनो जीवनको पहिलो रोयल्टी भएको जानकारी दिँदै आधा रकम आमालाई दिने घोषणा गरे । त्यसैगरी २५ हजार रुपैयाँ संगीतकर्मी कल्याणकारी कोषलाई दिने घोषणा गरे ।
कार्यक्रममा छक्का पञ्जा चलचित्रकी निर्देशक दिपाश्री निरौलाले पनि गायिका तर्फको रोयल्टी पाइन । उनले छक्का पञ्जा दुईमा गाएको देखन चम्पा बोलको गीतको गायिका तर्फको रोयल्टी पाएकी हुन् । त्यसैगरी गायिका मन्जु पौडेल, पूर्णकला बिसी, देवी घर्ती, मुना थापा, मिलन अमात्य, रजिना रिमाल, भरत सिटौला, अनिल सिंह, मनोज धमाला, भद्र वली, दिपक लिम्बू, निरज शाही, १९७४ एडी, राधिका श्रेष्ठ, गंगा पुनमगर, डिआर कल्याण, लक्ष्मी न्यौपाने, माधव भण्डारी, रेणु रानाभाट, किशोर खत्री, भागिरथ चलाउने, कृष्ण काफ्ले, खुमन अधिकारी, स्वरुपराज आचार्य, अविनाश घिसिङ, कमल खत्री, मन्जु पौडेल, मिना निरौला, श्रेयसी चेमजोङ, सन्तोष केसी, झलक संगीतम्, मेलिना राई, अल्मोडा राना, नवराज थापा लगायतका ५८ जनाले रोयल्टी बुझ्न सफल भएका थिए ।