• शसक्तिकरणमा चलचित्रकर्मी महिला

    म्यूजिक खबर
    प्रकाशित: १२ पुष २०७१, शनिबार

    काठमाडौं । चलचित्रकर्मी महिला शसक्तिकरण समितिको पूर्णतासँगै नयाँ कार्य योजना अगाडि सारेको छ । चलचित्र विकास बोर्डमा बसेको चलचित्रकर्मी महिला शसक्तिकरण समितिले केही कार्ययोजना ल्याएको हो ।
    रुपा रानाको संयोजकमा बसेको बैठकमा पेशागत दक्षता अभिवृद्धि तथा अभिमूखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, विभिन्न किसिमका चेतनामूलक तथा सन्देशमूलक कार्यक्रमहरु सञ्चालन गर्ने र यस्ता कार्यहरु सञ्चालन गर्दा महिला चलचित्रकर्मीको सहभागिताको सुनिश्चित गर्ने र चलचित्र क्षेत्रमा कार्य गर्ने महिलाको न्यूनतम पारिश्रमिक निर्धारण गर्न पहल गर्ने कार्य योजना रहेको छ ।
    यस्तै, महिला हिंसा तथा विभिन्न किसिमका शोषणविरुद्ध विभिन्न सरोकारवाला संघसंस्थाहरुसँग सहकार्य गरी समस्या समाधानको लागि पहल गर्ने, चलचित्र क्षेत्रमा महिलाले भोग्नु परेको समस्याको पहिचान गर्ने, महिलामाथि हुने गरेका अन्याय, अत्याचार, विभेदविरुद्ध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नेलगायत रहेका छन् ।
    त्यस्तै, चलचित्र क्षेत्रमा कार्य गर्ने सरोकारवालासँग आफ्ना समस्याहरु सुनुवाई गर्न समयसमयमा अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्ने, महिला चलचित्रकर्मीको शसक्तिकरणका लागि बोर्डलाई नीतिगत सुझाव दिने, महिलामाथि हुने अन्याय, अत्याचार विभेदविरुद्ध बन्ने चलचित्रहरुको निर्माण गर्न प्रोत्साहित गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आयोजना हुने चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कार्यक्रममा नेपालबाट सहभागिता हुने अनिवार्य रुपमा महिला चलचित्रकर्मीलाई सहभागिता गराउन आवश्यक व्यवस्था गर्ने जस्ता कार्ययोजना रहेका छन् ।
    समितिको सदस्यहरुमा माल्भिका सुब्बा, निशा अधिकारी, गीता अधिकारी, विमला गिरी र सुष्मा कार्की रहेका छन् भने निर्मला चौलागाई सचिव छिन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु