संगीतकार संघ नेपालमा पुनः लक्ष्मण शेषकै नेतृत्व आएको छ । गीतकार संघ नेपालमा पुरानै कार्यसमितिलाई निरन्तरता दिइएको छ । शनिबार राजधानीमा आयोजित संघको छैटौ साधारण सभाले लक्ष्मण शेषकै अध्यक्ष्यतामा दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । ‘राम्रो काम गर्न खोज्नेलाई मौका दिनुपर्छ’ भन्दै संगीतकार लक्ष्मणको कार्यसमितिलाई निरन्तरता दिइएको हो ।
शम्भुजित बास्कोटा, टिका भण्डारीलगायतका बरिष्ठ संगीतकार सल्लाहकारहरुको सल्लाह र सुझावलाई सदस्यहरुले सहमत जनाएपछि ११ सदस्यीय यो कार्यसमित चयन गरिएको हो ।
कार्यसमतिमा बरिष्ठ उपाध्यक्ष प्राज्ञ शान्तिराम राई, आलोकश्री, महासचिव महेश खड्का, सचिव चेतन कार्की र कोषाध्यक्षमा हरि लम्साल रहेका छन् । त्यस्तै, सदस्यहरुमा सुनिल मास्के, मिलन मोक्तान, बसन्त सापकोटा, पारस मुकारुङ र शशि रावल रहेका छन् । कार्यसमिति पुर्नगठनसँगै संगीतकार तथा समग्र संगीतकर्मीको हितमा काम गर्ने अध्यक्ष लक्ष्मण शेषले बताए । कार्यसमिति चयनपछि शेषले बोल्दै संगीतकर्मीको हक अधिकारका लागि लड्ने र बौद्धिक सम्पतिको मुद्दामा सफलता प्राप्तिको बाटोमा क्रियाशील रहने बताए ।