• सरप्राइजै सरप्राइजमा श्रुतिमा सार्वजनिक

    म्यूजिक खबर
    प्रकाशित: २० चैत्र २०७३, आईतवार

    चैत २०, काठमाण्डौ । गीतकार नारायण गौतमको एकल रचना रहेको गीतिसंग्रह श्रुतिमा आज राजधानीमा धरै सरप्राइका बीचमा सार्वजनिक गरिएको छ । आफ्नो धर्मपत्नी निरु गौतमको जन्मदिन पारेर आयोजना गरिएको श्रुतिमा सार्वजनिक कार्यक्रम नेपाली समाजका लागि नयाँ जस्तै भएको थियो । संगीतकार संघ नेपालले आयोजना गरेको उक्त कार्यक्रम एक बजेको निमन्त्रणा गरिएको थियो भने कार्यक्रम पनि १ बजे नै सुरुवात भएको थियो । प्राय नेपाली टाइम भन्दै कार्यक्रमहरु बोलाइएको समयभन्दा एक घन्टा नै ढिला हुने गरेको भए पनि श्रुतिमा विमोचन कार्यक्रम भने समयमै सुरु भयो । अप्रिल फूलको दिन आयोजना गरिएको उक्त कार्यक्रमलाई समयमै सुरुवात गरिँदा अप्रिल फूल मनाएजस्तै पनि धेरैले भन्न भ्याए ।

    shrutima_Album (5)
    त्यस्तै श्रुतिमा एल्बमकी प्रस्तुतकर्ता निरु गौतमको जन्मदिन पनि सरप्राइज नै रहेको थियो । गौतमको जन्मदिन केक काटेर मनाइएको थियो । त्यसैगरी संगीतकार संघ नेपालले अबदेखि कुनै पनि कार्यक्रम गर्दा अथितिहरुलाई पारिश्रमिक दिने भन्दै ड्यासमा रहेका सम्पूर्ण अतिथिहरुलाई सरस्वतिको भेटी भन्दै खामभित्र राखेर नगद रुपैयाँ प्रदान गरेको थियो । दिनभर काम छाडेर कसैको एल्बम विमोचन भन्दै हिंड्ने गरेका अतिथिहरुलाई कम्तीमा गाडीभाडा भए पनि दिने वातावरण सिर्जना गर्नुपर्छ भन्दै उक्त खाम प्रदान गरिएको थियो ।

    shrutima_Album (3)
    सोही अवसरमा संगीतकार संघ नेपालले संगीत कला पत्रकार संघको कल्याणकारी कोषमा श्रुतिमा एल्बममार्फत् रु ५००० रुपैयाँ प्रदान गरेको थियो । त्यसैगरी संगीतकार कल्याण्कारी कोषमा संगीतकार तुलसीराम थापाले रु ११ हजार रुपैयाँ र इजरायल निवासी रिता क्षेत्रीबाट २० हजार रुपैयाँ कोषका संयोजक संगीतकार सुनिल मास्केको हातमा हस्तान्तरण गरिएको थियो ।

    shrutima_Album (2)
    कार्यक्रमलाई संगीतकार संघ नेपालका महासचिव महेश खड्काले स्वागत मन्तव्य दिँदै संगीतकार संघले आयोजना गर्ने सबै कार्यक्रमहरु अब समयमा नै सुरु हुने बताएका थिए । हामीले हाम्रो समयको महत्व र संस्कारलाई बुझ्नु जरुरी छ भनेका थिए । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषको सभापतित्वमा आयोजना गरिएको उक्त कार्यक्रममा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिकको प्रमुख आतिथ्यता रहेको थियो । उक्त कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटा, नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, प्रस्तोता समाज नेपालका अध्यक्ष तुलसी पराजुली, संगीत उद्योग संघका पूर्व अध्यक्ष भगवानकुमार श्रेष्ठ, कवि तथा गीतकार डा.राजुबाबु श्रेष्ठ, संगीतकार कल्याण्कारी कोषका संयोजक सुनिल मास्के, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, नेपाल पत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, गीतकार राम भट्टराई, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । सम्पूर्ण संघ संस्थाको प्रतिनिधित्व गर्दै गीतकार संघ नेपालका अध्यक्ष चुडामणी देवकोटाले बोलेका थिए । देवकोटाले विदेशमा रहेका गीतकारहरुले अहिलेको उद्योग चलिरहेको भन्दै गीत संगीत भनेको मुलुकको संस्कृति र संस्कार भएको बताएका थिए ।

    shrutima_Album (4)
    त्यसैगरी प्रमुख अतिथि गणेश रसिकले अतिथिहरुको सम्मानको थालनी गर्दै समय र संस्कारको सुरुवातमा संगीतकार संघ नेपाल अगाडि रहेको बताएका थिए । कार्यक्रममा अतिथिको भूमिका निर्वाह गर्दै गर्दा उसको समय र सम्मानको ख्याल गर्नु सबैको दायित्व भएको बताउँदै श्रुतिमा एल्बमले सफलता पाउने विश्वास लिएका थिए । त्यसैगरी सभापति संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले अरुको सम्मान गर्न जाने नै आफ्नो सम्मान हुने बताएका थिए । अब हामीले समयको ख्याल गर्दै संघले आयोजना गर्ने सम्पूर्ण कार्यक्रमहरु समयमा नै सम्पन्न हुने बताएका थिए । कार्यक्रम संगीत कला पत्रकार संघका उपाध्यक्ष लोकराज अधिकारीले संचालन गरेका थिए ।

    shrutima_Album (1)
    श्रुतिमा एल्बमभित्र ८ वटा गीतहरु समावेश गरिएको छ । कहिले पनि नबोलेको, न दुख्ने न पोल्ने, तिम्रो नामको, अझै पनि, थोरै थियो, तिम्रो मन्दमन्द, मरेपछि, रहरहरु जस्ता गीतहरु समावेश गरिएको छ । जसमा राज शुक्र लिम्बू, हरि लम्साल, बाबुल गिरी, विनय केटु र हिमाल सागरको संगीत रहेको छ । उदितनारायण झा, मिलन अमात्य, रामकृष्ण ढकाल, अन्जु पन्त, दीपक लिम्बू, शिव परियार, प्रमोद खरेल, हिमाल सागरको स्वर रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु