प्रधानलाई मानार्थ सदस्यता सहित सम्मान

म्यूजिक खबर
प्रकाशित: ८ कार्तिक २०७०, शुक्रबार
नेपाली फिल्ममा कार्यरत प्राविधिकहरुको छाता संगठन नेपाल चलचित्र प्राविधिक संघले बलिउडका वरिष्ठ नेपाली भाषी छाँयाकार विनोद प्रधानलाई मानार्थ सदस्यता दिई सम्मान गरेको छ । संघको कार्यसमितिको बुधबार बसेको बैठकले गरेको निर्णय अनुरुप बिहीबार उनलाई राजधानीमा ढाका टोपी, ताम्रपत्र र मानार्थ सदस्यको कार्डबाट सम्मानित गरिएको छ । संघका अध्यक्ष मनोज केसी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, वरिष्ठ छाँयाकार बैकुण्ठमान मास्के, वरिष्ठ अभिनेत्री बसुन्धरा भुषाललगायतले उनलाई सम्मान गरेका थिए ।
सम्मान प्राप्त गरेपछि छाँयाकार प्रधानले आफुलाई प्राविधिकको संस्थाले गरेको सम्मानबाट अत्यन्त खुशी रहेको बताउँदै आफुमा ठूलो जिम्मेवारी बढेको बताए । कार्यक्रममा निर्माता संघका अध्यक्ष राईले राज्यले गर्नुपर्ने सम्मान एउटा संस्थाले गरेकोमा धन्यवाद दिए भने आयोजक संस्थाका अध्यक्ष केसीले प्रधानलाई सम्मान गर्न पाउनु संस्थाका लागि गर्वको कुरा भएको बताए ।  संघले यसअघि कलाकार बसुन्धरा भूषाल, गेहेन्द्र धिमाल, वैकुण्ठ मान मास्के, श्याम मोहन श्रेष्ठ र मञ्जुकुमार श्रेष्ठलाई मानार्थ सदस्यता प्रदान गरिसकेको छ ।  ‘सम्झना’, ‘लाहुरे’, ‘कुसुमे रुमाल’, ‘तृष्णा’, ‘सपना’ जस्ता चर्चित नेपाली फिल्म खिचेका प्रधानले बलिउडका ‘देवदास’, ‘खामोस’, ‘भाग मिल्खा भाग’, ‘मौसम’, ‘परिन्दा’, ‘रंग दे बसन्ती’ जस्ता राम्रा फिल्मसहित करिब दुई दर्जन भन्दा हिन्दी फिल्मलाई क्यामरामा कैद गरिसकेका छन् ।
binod-pradhan-4
binod pradhan
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु