रेखाविहीन लोफर, छविको भाग्य परीक्षा

म्यूजिक खबर
प्रकाशित: १८ मंसिर २०७०, मंगलवार

काठमाडौं । पछिल्लो समयमा रेखा थापासँग उनको मनमुटाव बढेपछि रेखा फिल्म्स र छविराज प्रोडक्सन भएर छुट्टिएका छविराज ओझाको अब भाग्य परीक्षा सुरु भएको छ । प्रत्येक चलचित्रमा रेखा हिरो बनाउँदै आएका छविराज ओझाले अहिले भने रेखाविहीन चलचित्र ‘लोफर’ यही मंसिर २१ गतेबाट प्रदर्शनमा ल्याउन लागेका छन् ।
प्राय गरेर नयाँ नयाँ कलाकार भित्र्याउँदै आएका छविराजले नयाँ त धेरै भित्र्याए तर रेखाविहीन चलचित्र कसरी चल्छ भन्ने विषयमा भने भाग्य परीक्षा आइपुगेको छ छविलाई । कुनै बेला रेखा र आर्यन हुनेवित्तिकै चलचित्र हिट हुने भन्ने भए पनि रेखा र आर्यनसँग खटपट परेपछि आर्यन फ्लप हिरोको संज्ञामा पर्दै गए । तर रेखा भने सधैं चर्चामा रहिरहिन् । छविराजसँग छुट्टिएपछि रेखाले काली बनाइन् र कमाइन् पनि । तर छविराजले भने पहिलोपटक आफ्नो प्रोडक्सन हाउस खोलेर लोफर बनाएका छन् । यसमा नयाँ हिरोइन्, नयाँ निर्देशक त छन् नै तर आर्यन सिग्देल फ्लप भइरहेको बेला पुनः ल्याएका छन् । त्यसले पनि लोफरको प्रदर्शनमा कस्तो प्रभाव पार्ला भन्ने विषय सोच्नुपर्ने भएको छ ।

अब छविराज प्रोडक्सनमा नयाँ हिरोइन भित्र्याउँदै गरेका छविराज ओझाले नवल नेपालको निर्देशनमा लज्जा निर्माण गर्दै गरेका छन् । लज्जामा नयाँ नायिकाका रुपमा शिल्पा पोखरेल भित्र्याएका छन् । त्यसमा पनि रेखा छैनन् तर आर्यन भने छविले सँगै लिएर गएका छन् । लोफरबाट लोफर बन्न पुग्ने हुन् की असल मान्छे बन्ने भन्ने चुनौतिकै बीचमा अब छविराज ओझाले रेखालाई आउट गरे पनि केही समय पहिला कालीमा भने कार्यकारी निर्देशक बन्न निकै दौडधूप गरेका थिए ।

loaferछविराज प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लोफर यही २१ गतेबाट सार्वजनिक हुँदैछ । गत मंगलबार एक कार्यक्रमको आयोजना गरी लोफर मंसिर २१ बाट सार्वजनिक हुने बताइएको हो । भान्टा प्रतिष्ठित व्यक्ति बन्न चाहँदा चाहँदै पनि बाध्यतावश खराब व्यक्ति बन्न पुगेको र समाजमा बस्ने व्यक्ति कस्तालाई लोफर भन्ने कस्तालाई असल भन्ने जस्ता कुराहरुलाई कथाले प्रस्तुत गरेका कुरा कार्यक्रममा बताइएको थियो ।
कार्यक्रममा निर्माता छविराज ओझाले मल्टिकम्प्लेक्समा पहिलोपटक आफ्नो चलचित्र चलाउन लागेकोमा लोफरलाई निकै मेहनतका साथ निर्माण गरेको बताएका थिए । ओझाले को र कस्ता व्यक्तिलाई लोफर भन्ने जस्ता विषयवस्तु समेटिएको बताएका थिए । त्यस्तै लोफरका निर्देशक आदित्यविक्रम लम्सालले आफूले पहिलोपटक डेब्यू गरेको चलचित्र भएका कारण चलचित्रलाई सबैले सकारात्मक रुपमा लिइदिन अनुरोध गरेका थिए ।
चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, कमलमणि नेपाल, सुशीलराज पाण्डे, कमलकृष्ण, रजनी केसी, सागर लम्साललगायतका कलाकारहरुको अभिनय रहेको छ । छविराज कार्यकारी निर्देशकका रुपमा लोफरमा रहेका छन् भने दिजेन्द्र शाक्य यसका निर्माता हुन् । यसको वितरणमा भने उपत्यकाबाहिर प्रदीप के उदय र नरेन्द्र महर्जन रहेका छन् भने गोपाल कायस्थ उपत्यका बितरकका रुपमा रहेका छन् ।

lazza

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु