• अन्तर्राष्ट्रिय लोकसंगीत महोत्सव सुरु

    म्यूजिक खबर
    प्रकाशित: १० मंसिर २०७३, शुक्रबार

    ‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ सन्देशका साथ तीनदिने छैटौं अन्तर्रा्ष्ट्रिय लोक संगीत फिल्म महोत्सव बिहीबारबाठ राजधानीमा सुरु भएको छ । नेपाली लोकबाजा संग्रहालयले सांस्कृतिक संस्थानसँग मिलेर गर्न लागेको महोत्सवमा नेपाल, भारत, बंगलादेश, जापान, अमेरिका, फ्रान्स, चिली, कम्बोडिया, जर्मनी, ओमन, दक्षिण अफ्रिका, बेलायत, कंगो लगायतका २८ डकुमेन्ट्री फिल्महरू प्रदर्शन गरिनेछ ।

    आमन्त्रित, अप्रतियोगी र प्रतियोगी गरी २८ वटा डकुमेन्ट्री फिल्म छनोट गरिएको नेपाली लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले बताए । प्रतियोगी फिल्महरूमध्ये नेपालका प्रदीपकुमार उपाध्याय, बेलायतका करेन बोस्वाल, फ्रान्सका ज्याक्वेज सारासिन सम्मिलित अन्तर्राष्ट्रिय निर्णायक समितिले सर्वोकृष्ट र उत्कृष्ट ६ फिल्म घोषणा गरी अवार्ड वितरण गर्नेछ । महोत्सवमा लोक संगीत, संस्कृति, जीवनशैलीसम्बन्धी १ सय १५ वटा डकुमेन्ट्री फिल्महरूले भाग लिएका छन् ।

    पहिलो दिनको फिल्महरू बंगलादेश र अमेरिकाका विश्वविख्यात वाद्यवादक र फिल्म निर्माता ताराक्वे र क्याथरिन मसुद, दोस्रो दिन भारतका विजु टोप्पु र मेधनाथ र तेस्रो दिन नेपालका लोक संस्कृति अनुसन्धानकर्ता गुडडी पन्त र जयराज पन्तको नाममा समर्पण गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा ३ मिनेटदेखि ९० मिनेटसम्मका फिल्महरू प्रदर्शन गरिनेछन् ।

    international-folk-music-festival
    कक्षा १० को सामाजिक विषयमा लोकसंस्कृति, बाजा र संगीतबारेमा पढ्नुपर्ने भएकोले यसपटकको महोत्सव सरकारी विद्यालयका विद्यार्थीहरूलाई विशेष ग्राह्यता दिइएको कँडेलले बताए । ‘नेपाली लोकबाजाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो,’ कँडेलले भने, ‘कार्यक्रमको प्राविधिक खर्च सांस्कृतिक संस्थानले गर्नेछ ।’ नेपालमा भएका ६० हजारभन्दा बढी भाकाहरूको संरक्षण गर्नका लागि ६ वर्ष अगाडि महोत्सव सुरु गरिएको नेपाल सांस्कृतिक संघका अध्यक्ष राजेश थापाले बताए । नेपाली लोकसंगीतको संरक्षण गरेमा विदेशबाट नेपालमा प्राकृतिक दृश्यावलोकनका लागि मात्र नभई सांगीतिक पर्यटक पनि भित्र्याउन सकिने उनले बताए ।

    नेपालका तर्फबाट शनिबार प्रेमदेव गिरीको ‘द जिव इन द कोब्राज हेड’, राम के श्रेष्ठको ‘नौलिन भद्रकाली जात्रा’, जयराज पन्तको ‘गोरी धनको चैतिलो’ र डीबी नेपालीको ‘कामी नाच’ गरी चारवटा फिल्महरू प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

    त्यसैगरी वरिष्ठ जनकलाकार खुशीराम पाख्रिनलाई यस वर्षको लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने आयोजकले बताएको छ ।

    महोत्सवको सन्दर्भमा नेपाली लोकबाजा संग्रहालयमा बेलायतका प्रख्यात डकुमेन्ट्री निर्माता एवं अनुसन्धानकर्ता र इन्फिमका निर्णायक टोली सदस्य करेन बोस्वालबाट लोक संगीत र संस्कृतिसँग सम्बन्धित १८ जनालाई १५ दिने तालिम पनि प्रदान गरिएको थियो । उक्त तालिमबाट तयार भएका ६ डकुमेन्ट्री पनि महोत्सवमा प्रदर्शन गरिने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु