• अश्लिलता प्रस्तुत गर्ने गायिकालाई प्रतिष्ठानले सदस्यता रोक्यो

    म्यूजिक खबर
    प्रकाशित: १२ पुष २०७४, बुधबार

    १२ पुष, काठमाडौं । पछिल्लो समय यूट्यूबमा अश्लिल रुपमा अन्तरवार्ताहरु दिँदै आएका कलाकारहरुलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सदस्यता र विदेशका लागि राम्रो कलाकार हो भनी लिने सिफारिस समेत नदिने भएको छ । संचारमाध्यमको नाम दिएर समाजमा आँच आउने खालका अन्तरवार्ता लिने र अश्लिलता प्रस्तुत गरी अन्तरवार्ता दिने कलाकारहरुलाई कारवाहीको माग गर्दै बहिरष्कार गर्ने निर्णयसहित संगीत कला पत्रकार संघले विज्ञप्ति जारी गरेपछि गीतसंगीतको क्षेत्रमा लागेका संघसंस्थाहरुले ऐक्यबद्धता जनाउन थालेका हुन् ।

    संघको निर्णयसँगै प्रतिष्ठानमा सिफारिस लिन र आजीवन सदस्यता लिन पुगेकी एक गायिकालाई सिफारिस र सदस्यता दुबै दिन नमिल्ने भन्दै प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीले फिर्ता पठाइदिएका थिए । पंगेनीका अनुसार उक्त गायिले आफूले गरेका क्रियाकलाप गलत भएको भन्दै आफूलाई सम्झाउने कोही नभएकाले यस्तो भएको स्वीकार गर्दै अब सच्चिने बताएकी छन् । ती गायिकाले प्रतिष्ठानको सदस्यता लिनका लागि गीत गाएर मात्र नहुने बताउँदै पंगेनीले अश्लिल हाउभाउ र बोलीले अन्तरवार्ता दिएर सस्तो लोकप्रियता कमाउन खोज्नेलाई प्रतिष्ठानभित्र अटाउन नसक्ने बताए ।


    खास गरी प्रतिष्ठानको सदस्यता र सिफारीस लाई कलाकार भएको प्रमाणको रुपमा प्रयोग गर्ने गरिन्छ । कलाकारहरु विदेशमा आयोजना भएका कार्यक्रमहरुमा जाँदा प्रतिष्ठानको आजीवन सदस्यता साथै प्रतिष्ठानले दोहोरी कलाकार हो भनेर दिएको प्रमाणपत्रलाई दुताबासहरुले पनि अनौपचारीक रुपमा मान्यता दिंदै आईरहेका छन् । प्रतिष्ठानकै सदस्यता, सिफारीस, परिचय पत्रको आधारमा राष्ट्रिय कलाकारको परिचय दिलाउन खोज्नेले सामाजिक मूल्य र मान्यता पनि बुझ्न जरुरी छ, अध्यक्ष पंगेनीले म्यूजिक खबरलाई बताए । पंगेनीले योभन्दा अघि पनि अश्लिलता प्रस्तुत गरेको नाममा केही गायक गायिकालाई कारवाहीको प्रक्रियामा लैजानु पर्ने आवाज उठाउँदै आएका थिए । प्रतिष्ठानमा उनको आवाज एक्लै भएका कारण आफू यो विषयमा एक्लो भएको बताउँदै अध्यक्ष पंगेनीले अबका दिनमा पनि यस्ता गतिविधि गर्नेहरुविरुद्ध सम्पूर्ण कलाकार, संघसंस्था एकजुट हुनुपर्ने बताए ।

    यतिबेला यूट्यूब हेर्न नसक्नेगरी फोहारी बन्दै गएको हुँदा यसरी गीतसंगीत र संचारमाध्यमका नाममा अश्लिलता पस्कनेहरुलाई अब सम्पूर्ण संघसंस्था मिलेर नीति नियम बनाउनु पर्ने आजको आवश्यकता भएको छ, अध्यक्ष पंगेनीले भने – ‘राज्य चुप लाग्यो, राज्यले बनाएन भन्दा पनि अब हामी संघसंस्था मिलेर टीभीका नाममा यूट्यूबमा आउने अश्लिल भिडियोहरुलाई हटाउने पहल गर्नुपर्छ ।’

     

    यो पनि पढ्नुस्

    अश्लिलता पस्किएर यूट्यूबमा विकृति फैलाउनेविरुद्ध संगीत कला पत्रकार संघको ध्यानाकर्षण

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु