• एकल साँझ गर्दै सन्तोष श्रेष्ठ

    म्यूजिक खबर
    प्रकाशित: २८ पुष २०७०, आईतवार

    काठमाडौं, २८ पुस । संगीतकार सन्तोष श्रेष्ठले एकल साँझ गर्ने भएका छन् । युवा गायनबाट आफ्नो सांगीतिक यात्रा गरेका सन्तोष श्रेष्ठले पछिल्लो समय संगीतमा उचाइ कायम गर्दै चर्चायोग्य हुन सफल भएका छन् । पछिल्लो समयमा आफ्नो चर्चाको शिखर उचाइमा पुगिरहेको बेला उनले एकल साँझ गर्ने भएका हुन् । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले एकल साँझ गर्ने घोषणा गरेका हुन् । राप्ती साहित्य परिषद्का अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षतामा आयोजना गरिएको पत्रकार सम्मेलनमा गीतकार रमेश क्षितिज, चलचित्र पत्रकार शान्तिप्रिय लगायतले एकल साँझको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा सन्तोष श्रेष्ठले एकल साँझका बारेमा पत्रकारहरुलाई प्रष्ट पारेका थिए भने कार्यक्रम राप्ती परिषद्का सचिव रमेश सुवेदीले संचालन गरेका थिए । कार्यक्रममा संगीतकार सन्तोष श्रेष्ठको बारेमा तयार पारिएको बायोग्राफी भिडियो प्रदर्शन गरिएको थियो ।

    ramesh
    गायक एवं संगीतकार सन्तोष श्रेष्ठको बारेमा तयार पारिएको प्रेस विज्ञप्तिको पूर्ण पाठ तल प्रस्तुत गरिएको छ ।

    प्रेस विज्ञप्ति
    राप्ती साहित्य परिषद्को स्थापना २०३४ सालमा भएको हो । नेपाली साहित्यको श्रीवृद्धिमा सो उल्लेख्य योगदान गरी नेपाली साहित्य, कला एवम् संस्कृतिको विकासमा समर्पित हुने उद्देश्यका साथ राप्ती साहित्य परिषद्को स्थापना भएको हो । साहित्य, कला एवम् संस्कृतिका क्षेत्रमा लागिपरेका सर्जकको विकासमा योगदान गर्न सकियोस् भन्ने उद्देश्य राप्ती साहित्य परिषद्ले राखिआएको छ । यसै परिप्रेक्ष्यमा राप्ती साहित्य परिषद्को भवन निर्माण सहयोगार्थ ‘सन्तोष श्रेष्ठ एकल साँझ’ आयोजना गरिएको छ ।
    युवा पुस्ताका चर्चित एवम् लोकप्रिय सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठको आफ्नै जन्मभूमि दाङमा हामी माघ २१, २०७० मा ‘सन्तोष श्रेष्ठ एकल साँझ’ आयोजना गर्न गइरहेका छौँ । मुलतः सुगम सङ्गीतका चर्चित सङ्गीतकार सन्तोष श्रेष्ठको एकल साँझ गर्न पाउनु राप्ती साहित्य परिषद्का लागि त गर्वको कुरा हो नै त्यहीँमाथि यो एकल साँझले नेपाली साङ्गीतिक क्षेत्रमा पनि इतिहास रच्ने कुरामा समेत विश्वास लिन सकिन्छ । मौलिक लोक भाकादेखि सुगम सङ्गीतसम्मको साङ्गीतिक दौरानमा श्रेष्ठले आफूलाई सफल गायक हुँदै परिपक्व सङ्गीतकारसम्मको यात्रा मात्र गरेनन् कि नेपाली सङ्गीतलाई प्रवद्र्धन गर्न पनि उनले भूमिका खेलिरहेकै छन् । पछिल्लो समयमा तिम्ले पराई ठानेपछि… बोलको गीतले सुगम सङ्गीतकै इतिहासमा एउटा उचाइ कायम राख्यो । त्यसपछि उनका आउँछु भनी निष्ठुरीले, तारा झ¥यो मिर्मिरेमा, तिम्रो दिलमा चोट लाग्दा, किन आउँछ तिम्रो याद, परेलीको वर्षात्ले, तिम्ले भुल्न सके पनि, तिम्ले हाँसो लुटि लग्यौ, तिम्लाई सन्चो छैन भन्नेलगायतका दर्जनौं गीतहरुले चर्चायोग्य बनिरहे ।
    राप्तीको दाङ जिल्ला हापुर– ८, बगियामा जन्मिएका सन्तोष श्रेष्ठ राप्तीका मात्र गौरव नभएर राष्ट्रिय प्रतिभाका रूपमा देशको गौरव बनिसकेका छन् । यस अवस्थामा सङ्गीतकार सर्जक हाम्रो राप्तीलाई नै देशमा चिनाउन सफल मानिएका सन्तोष श्रेष्ठको एकल साँझ हाम्रै भूिममा गर्न पाउनु पनि आफैँमा हामी भाग्यमानी महसुस गरिरहेका छौँ ।
    नेपाली लोक सङ्गीत र दोहोरी जस्ता विधाबाट यही राप्तीको हावापानी एवम् सेरोफेरोमा सङ्गीतकार सन्तोष श्रेष्ठले गायकको रूपमा नेपाली सङ्गीतमा प्रवेश गरेका हुन् । नेपाली लोक दोहोरी भाकासँगै उनी सफल गायक बने । यसपछि सन्तोष नेपाली सुगम सङ्गीतमा सङ्गीतकार भएर आज हामीबीच सफल, सबल एवम् लोकप्रिय सङ्गीतकारका रूपमा परिचित छन् । यिनै सफल गायक एवम् सङ्गीतकार सन्तोष श्रेष्ठको ‘सन्तोष श्रेष्ठ एकल साँझ’का निमित्त संचारकर्मी, प्रबुद्ध महानुभावहरू तथा सम्पूर्ण वर्गबाट सहयोग एवम् शुभेच्छा प्राप्त हुने छ भन्नेमा राप्ती साहित्य परिषद् आशावादी छ ।
    साहित्य, कला, संस्कृतिको यावत् विषयमा क्रियाशील रही आएको राप्ती साहित्य परिषद्ले आफ्नो भवन निर्माण सहयोगार्थ लोकप्रिय सङ्गीतकर्मी सन्तोष श्रेष्ठको एकल साँझ गर्न लागेको छ । ऐतिहासिक रूपमा आयोजना गरिने लागेको यो अभियानमा सम्पूर्ण क्षेत्रबाट सहयोग अपेक्षा राख्दै धन्यवाद दिन चाहन्छु । धन्यवाद ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु