• कतारमा यसरी गरिँदैछ नेपाल आइडलको ग्राण्ड फिनाले !

    म्यूजिक खवर
    प्रकाशित: १३ भाद्र २०७४, मंगलवार

    भाद्र १३, काठमाडौं। नेपाल आइडलमा अब चार जना प्रतिस्पर्धी बाँकी रहेका छन् । बुद्ध लामा, सागर आले, निशान भट्टराई र प्रताप दास आइडलका टप ४ प्रतिस्पर्धी हुन् । यी मध्ये एक आउट हुने बित्तिकै टप थ्री बाँकी रहने छन् । टप थ्रीमा पुग्ने सबैले पुरस्कार पाउने छन् । फस्ट रनरअप अर्थात् दोस्रो हुनेले नगद १५ लाख र सेकेण्ड रनरअप अर्थात् तेस्रो हुनेले नगद १० लाख रुपैयाँ पाउने शुक्रबारको कायक्रमा नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्यालले घोषणा गरे ।पहिलो हुनेले २० लाख रुपैयाँसहित कार पाउने यसअघि नै घोषणा भइसकेको छ ।

    शुक्रबारकै कार्यक्रममा ग्रान्ड फिनाले कतारको राजधानी दोहामा हुने बताइएको थियो । तर मिति भने तोकिएको थिएन । स्रोतका अनुसार यही असोज ६ गते ग्राण्ड फिनालेको टुङ्गो लागेको बताइएको छ । यसका लागि तयारी सुरु भएको समेत स्रोतको दाबी छ । कार्यक्रमको तयारी स्वरुप नेपाल आइडलका डाइरेक्टर लक्ष्मण पौड्याल दोहा शनिबार उडिसकेका छन् । यो कुरा पौड्यालले सामाजिक सञ्जाल फेसबुमा समेत दोहा उडेको जनाएका थिए ।

     

    सन् २०१४ मा कतारमै यसअघि प्रवासी नेपाली सिङ्गिङ्ग आइडल भइसकेको थियो ।  नेपाल आइडलको ग्रान्ड फिनाले हुने ठाउँ पनि कतार भएको हो । ग्रान्ड फिनाले २२ सेप्टेम्बर अर्थात् असोज ६ गते कतारको राजधानी दोहास्थित एसियन टाउन एम्पिथियटर, ग्रायन्ड मल, सनायामा हुँदैछ । असोज ५ गते नेपालीको महान चाड दशैँको सुरु हुने दिन अर्थात् घटस्थापना हो । घटस्थापनाको भोलिपल्ट ग्रान्ड फिनाले हुनेछ र नेपालले पहिलो नेपाल आइडल पाउने छ ।

     

    कतारको समय अनुसार साँझ ५ बजे हुने कार्यक्रममा नेपाल आइडलका टप १२ मा रहेका सबै प्रतिस्पर्धीहरु सहभागी हुने घोषणा शुक्रबारकै कार्यक्रममा भइसकेको छ । साथमा केही गेस्ट एपियरेन्स पनि हुनेछ । कार्यक्रममा को–को गेस्ट हुने भन्ने पनि तय भइसकेको छ । ती मध्ये एक हुन् तेरिया मगर । तेरियाले सन् २०१४ मा डान्स इन्डिया डान्स लिल मास्टर्स जितेकी थिइन् भने यसै वर्ष अर्थात् २०१७ जनवरी २१ मा कलर्स टिभीको रियालिटी शो झलक दिखला जा सिजन नाइन जितेकी थिइन् ।

     

    त्यसैगरी अर्को गेस्ट एपियरेन्समा हेमन्त राना हुनेछन् । उनका धेरै गीत चर्चित छन्। पछिल्लो पटक उनको ‘सुन साइँली’ गीतले तहल्का मच्चाएको थियो । अर्का पाहुना भने केदार घिमिरे अर्थात माग्ने बूढा हुनेछन् । कार्यक्रमका लागि नेपालबाट ८० जनाभन्दा बढीको टोली कतार जाँदैछ । नेपालको प्रतियोगिता किन फाइनल चाँही कतारमा ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु