• कल्चरल पर्यटन भित्र्याउने लक्ष्यमा पर्यटन बोर्ड

    म्यूजिक खबर
    प्रकाशित: २८ फाल्गुन २०७४, सोमबार

    फागुन २८, काठमाडौं । नेपाल पर्यटन बोर्डले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अब डिजिटल मार्केटमा लम्किएको छ । विज्ञानको विकासले विश्वव्यापी बजार लिइरहेको अवस्थामा बोर्डले भने बल्ल आफ्नै यूट्यूबको माध्यमबाट पर्यटन प्रबद्र्धनमा अगाडि बढेको हो । हिजो राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बोर्डले आफ्ना प्रचार सामग्रीलाई पत्रकारसामु प्रस्तुत गरेको हो । परम्परागत शैलीलाई प्रचार प्रसार गर्दै परिवर्तित समयको माग अनुसार चल्नका लागि बोर्डले प्रचार शैलीलाई डिजिटल माध्यमबाट पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिएको छ ।


    कार्यक्रममा कीर्तिपुरको पर्यटकीय क्षेत्रलाई समावेश गरेर तयार पारिएको भिडियो सार्वजनिक गरिएको थियो । जसमा Bartosz Mierzenski, सबिन बास्तोला, रजनी खत्रीले अभिनय गरेका छन् भने संगीत विजु कर्माचार्यको रहेको छ । दीपा महर्जनको स्वर रहेको उक्त भिडियोमा मन्दिप गौतमको स्क्रिप्ट, गीतरचना र निर्देशन रहेको छ । त्यसैगरी बलराम बुढाथोकीको निर्देशन, ड्रोन, छायाँकन, सम्पादन रहेको छ ।

    त्यसैगरी मुस्ताङको पर्यटकीय क्षेत्रलाई लिएर तयार पारिएको म्यूजिक भिडियो ‘हाम्रो मुस्ताङ’ पनि देखाइएको थियो । विपिन किरणको शब्द, मिलन मोक्तानको संगीत र टीका प्रसाईको स्वर रहेको उक्त भिडियोलाई बादल थकालीको परिकल्पनामा निर्माण गरिएको थियो । निरज थकाली र असिम शेर्पाको निर्माणमा तयार भएको उक्त भिडियोमा पोखरादेखि मुस्ताङसम्मको पर्यटकीय क्षेत्रलाई देखाउन सफल भएका छन् ।


    कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटाले बोर्डले सुरु गरेको कल्चरल पर्यटनको अवधारणाले धेरै पर्यटकको मन जित्न सफल हुने बताएका थिए । देवकोटाले एउटा गीतले देश परिवर्तन गर्न सक्छ भने मुलुकभित्रका विविधता बोकेका स्थान, संस्कृतिलाई पनि गीतसंगीतले विश्वव्यापी बनाएर पर्यटन प्रबद्र्धन गर्न सक्ने बताएका थिए ।

    मुलुकभित्रको मौलिक कला संस्कृति, हिमाल, पहाड, मन्दिर, ताल तलैया, नदी नाला सम्पूर्ण पर्यटकीय क्षेत्रलाई गीतसंगीतको क्षेत्रबाट प्रबद्र्धन गर्ने उद्देश्यले अघि बढेको बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मत सिंह ऐरले बताए । उनले आन्तरिक र बाह्य पर्यटनलाई लोभ्याउनका लागि पनि कल्चरल टुरिजमको अवधारणा अघि सारेको बताए ।

    पर्यटन बोर्डको आफ्नै यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको यो दुईवटा भिडियोलाई सार्वजनिक गरिएको थियो । सोही कार्यक्रममा प्रदेश नं १ देखि ७ सम्म रहेका पर्यटकीय गन्तव्यको बारेमा तयार पारिएको ग्राफिक्स भिडियोलाई पनि सार्वजनिक गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु