• कविता : निद्रा नलागेको रात

    म्यूजिक खबर
    प्रकाशित: ३० पुष २०७२, बिहीबार

    गणेश खड्का

    सुतेपछि राति निदाउन भनेर
    निद्रा नै लागेन भने पो फसाद पर्दो हो कसै-कसैलाई
    त्यो रातको मुख्य काम पनि त भएन निद्रै नलागेपछि
    निद्रा नलागेको रात –
    रङ्ग-रङ्ग प्रवृत्तिका मान्छेहरु के गर्दा हुन् ?

    चोर-डाकाहरु निदाएनन् भने ,
    कि धेरै चोरी-डकैती गरेको धनमाल गनेर रात बिताउँदा हुन्
    कि चोर्नै नपाएर सुक्खा लागेको
    रित्तो रातलाई धारे हात लाउँदा हुन्
    र, भावी चोरी-डकैतीका निम्ती फरक-फरक योजना बुन्दा हुन् l

    लुटेरा-ठगहरुलाई निद्रा नलाग्दा,
    भोलि कुन मुर्गालाई ठगेर थाङ्नामा सुताउने
    अनि त्यही ठगीको पैसाले ट्वान्टी फोर आवर्स चल्ने
    नाङ्गा डान्स बार,डिस्को थेक र क्याबिन रेस्टुरेन्टमा
    टिप्स दिएर गराउने अम्मल लागिसकेको
    हस्तमैथुन सम्झेर रोमान्चित हुँदा हुन् l

    घुसखोर कर्मचारीलाई निद्रा लागेन भने,
    कार्यालयमा आएका घुस नखुवाउने सेवाग्राहीहरुलाई सराप्दै
    अब कुन उपायले श्रीमतीलाई
    लेटेस्ट मोडेलको गहना किनिदिने
    अनि कसरी बैना गरिसकेको
    नयाँ घर-जग्गा जोड्ने भनेर पिरोलिंदा हुन् l

    भ्रष्टाचारी नेताहरु निदाउन सकेनन् भने,
    चुनावमा भोट किन्दा लागेको खर्च उठाउने ध्याउन्नमा
    देश कसरी डुबाउने,
    जनतालाई कस्तो खालको सास्ती दिने
    कुन काण्ड मच्चाउने भ्रष्टाचारको
    र बिदेशी बैंक भर्ने कल्पिंदा हुन् l

    कुनै पेशेवर वेश्यालाई निद्रा आएन भने
    कि ग्राहक नै नपाएर खडेरी लागेको मन रूँदो हो
    कि अधिक ग्राहक थाम्न नसक्दाको पीडा दुख्दो हो l

    निद्रा नलागेको रात धेरैले अनेकानेक सोच्दा हुन्
    बिद्दार्थी,व्यापारी,किसान,मजदुर,
    वकिल,पत्रकार,कलाकार,समाजसेवी, आदि-इत्यादि…
    मान्छे मात्र होइन, पशु-पन्छी र जीव-जन्तुले पनि निद्रा नलाग्दा
    के-के सोच्दै छट्पटाउँदा हुन् आ-आफ्नै कर्म,धर्म र पेशाअनुसार
    तर, एउटा कविलाई निद्रा नलागेको रात
    सारै पट्यारलाग्दो,लम्बेतान र बोझिल हुँदोरहेछ
    केहि सोच्न,कल्पिन,गम्न,योजना बनाउन र गर्न नसक्दोरहेछ
    सिर्फ एउटा अनिदो कविता फुराउनु बाहेक l

    ( कविता सङ्ग्रह : ” हिउँले आगो पगालेर ” बाट l )

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु