![LP Joshi-Laxmi Prasad Joshi](https://musickhabar.com/wp-content/uploads/Lp-josi-150x150.jpg)
चैत ६, काठमाण्डौ । गीतकार डीआरको पाँचौं गीतिसंग्रह ‘गहिराई’ आज सार्वजनिक भएको छ । कार्यक्रमका प्रमुख अतिथि गजलकार डा.कृष्णहरि बरालद्वारा गीतकार डीआरको गहिराई सार्वजनिक गरिएको हो । ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ ज्योतिप्रकाश, कवि तथा गीतकार शान्तिप्रिय, सांगीतिक संघका महासचिव सन्तोष श्रेष्ठ, संगीतकार कुवेर राई लगायतले डीआरको पाँचौं एल्बम गहिराई सार्वजनिक गरेका थिए ।
गीतकार डीआरले कार्यक्रमलाई स्वागत मन्तव्य दिँदै आफ्ना गीतका बारेमा उल्लेख गरेका थिए । गीत कसरी लेखियो भन्ने बारे गीतकार डीआरले विभिन्न प्रसंगहरु प्रस्तुत गरेका थिए । त्यस्तै संगीतकार सन्तोष श्रेष्ठले संगीत कसरी निर्माण भयो भन्ने बारेमा आफ्नो धारण राखेका थिए ।
कार्यक्रममा प्राज्ञ ज्योतिप्रकाश विश्वकर्मा, कवि तथा गीतकार शान्तिप्रिय, संगीतकार कुवेर राईले गीतकार डीआरका बारेमा उल्लेख गरेका थिए भने कार्यक्रमका प्रमुख अतिथि डा.कृष्णहरि बरालले गीतकार डीआरका गीतहरु केलाउँदै एउटा राम्रो गीतकारका रुपमा डीआर प्रस्तुत भएको बताएका थिए ।
गहिराईभित्र ६ वटा गीतहरु समावेश गरिएको छ । झन्झन् मुुटु दुख्न थाल्यो, उदासी मनलाई, लालुपाते, भेटघाटै टुट्यो, पहाडकी रानी इलाम, विश्वको उच्च जस्ता गीतहरु समावेश गरिएका छन् । जसमा सन्तोष श्रेष्ठ, शिवसंगम राई, गणेश पराजुली, मानसिंह थुलुङ र नरेन्द्र प्यासीको संगीत रहेको छ । प्रमोद खरेल, मिलन अमात्य, मनोहरि थापा, संगीत थापा, डेनी निरौला, नरेन्द्र प्यासी र साथीहरुको स्वर रहेको छ । डीआर म्यूजिक सेन्टरले गीतलाई बजार व्यवस्थापन गरेको छ ।