• किर्तिमानी गीत ‘कुटुमा कुट’ ! जसलाई कुल जनसंख्याको करिब दोब्बर भ्यूज !

    म्यूजिक खबर
    प्रकाशित: १६ फाल्गुन २०७४, बुधबार

    फागुन १६ काठमाडौं । चलचित्र २ रुपैयाँको सबैको मुखमा झुन्डिएको गीत बिहे, भोज, पिकनिक, डान्स पार्टी जताततै गुञ्जिने चर्चित गीत ‘कुटुमा कुटु’ ले यूट्यूबमा ५ करोड भ्यूज नघाएको छ । नेपाली संगीत क्षेत्रका लागि यो एउटा दुर्लभ कीर्तिमान हो ।
    नेपालको जनसंख्या कति छ ? जवाफ फटाफट आउन सक्छ, २ करोड ६४ लाख बढी । अर्को प्रश्न सोधौ, ‘कुटुमा कुटु’गीत अहिलेसम्म कति पटक हेरिएको होला ? यसको जवाफ यसरी दिन सकिन्छ, कुल नेपालीको संख्याभन्दा झन्डै दोब्बर पटक । सोझै भनौ, पछिल्लो जनगणनालाई आधार मानेर हेर्दा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख बढी छ । राजनराज सिवाकोटीले लेखेको, धुन भरेको र स्वरवद्ध गरेको यो गीतलाई यो समाचार तयार पार्दाको समयसम्ममा युट्युवमा ५ करोड ३१ लाख बढी पटक हेरिएको छ । यो क्रम बढ्दो छ ।

    यस हिसावले हरेक नेपालीले दुई पटक यो गीतको म्युजिक भिडियो हेर्दा जति संख्या पुग्छ, करिब त्यती नै पुगेको छ ‘कुटुमा कुटुको’ भ्युज ।यसअघि नेपालको कुनैपनि गीतको भिडियोले युट्युमा यति धेरै भ्युज बटुलेको छैन ।

    यस हिसावले नेपाली दृश्य संगीतमा यो नयाँ रेकर्ड हो । यो गीतमा निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्कालाई फिचरिङ गराइएको छ ।

    कुटुमा कुटु गीतको भिडियोलाई हाइलाइट नेपालले २०१७ मे महिनाको २८ मा अपलोड गरेको हो । यस भिडियोलाई टक्कर दिने अर्को भिडियो छैन । यूट्यूबमा अपलोड गरेकै दिनदेखि यो गीतले कीर्तिमानमाथि कीर्तिमान कायम गर्दै आएको थियो । यूट्यूबमा मात्र नभएर मेलापातदेखि डान्स पार्टीसम्म गीत उत्तिकै लोकप्रिय छ ।
    यस गीतका संगीतकार राजनराज शिवाकोटीले आफ्नो सिर्जना यति धेरै लोकप्रिय होला भन्ने परिकल्पनासमेत नगरेको बताएका छन् ।
    राजनराज भन्छन्–‘म आफूलाई भाग्यशाली ठान्दछु, यो अर्थैमा कि मैले तपाईंहरुलाई मन पर्ने गीत बनाउन सकेँ, जुन ईश्वरको कृपा हो’। उनले यो टिम वर्कको नतिजा भएको उल्लेख गरेका छन् ।
    पछिल्लो समय राजनराजद्वारा संगीतबद्ध थुप्रै गीतहरु यूट्यूबमा करोड भन्दा धेरै भ्यूज भएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु