• गायक योगेश्वर पनि अभिनयमा

    म्यूजिक खबर
    प्रकाशित: ५ असार २०७१, बिहीबार

    काठमाडौं, ५ असार । रक गायक रविन तामाङ केही समय यता गायनमा भन्दा बढी अभिनयमा व्यस्त छन् । सांगीतिक समूह ‘रविन एण्ड न्यु रिभाुलेसन’ का गायक रविनले ‘छढ्के’ नामक चलचित्रबाट अभिनय सुरु गरेका थिए । यस्तै, पछिल्लो समय अर्को रक गायक योगेश्वर अमात्य पनि अभिनयमा प्रवेश गरेका छन् । कुनै समय ‘जब सन्ध्या हुन्छ’ जस्ता चर्चित गीत गाएर लोकप्रियता कमाएका गायक अमात्य निर्मार्णधिन चलचित्र ‘अखडा’ मा अभिनय गर्दैछन् । गत शुक्रबारबाट फ्लोरमा गएको यस चलचित्रमा अमात्य विशेष भूमिकामा देखिने बताइएको छ ।
    इन्जोय मुभिजको ब्यानरमा आशिककुमार ठाकुरले निर्माण सुरु गरेका हुन् । राजु महर्जन कार्यकारी निर्माता रहेको फिल्मको निर्देशन विभु श्रेष्ठ र सुवास जिसीले संयुक्त रूपमा गर्न लागेका हुन् । ‘यो फिल्म विछट्टै नयाँ र नौलो कथा तथा अन्य चलचित्रभन्दा उत्कृष्ट बन्ने छ भन्ने छैन्,’ चलचित्रबारे जानकारी दिन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक जिसीले भने, ‘तर पनि चलचित्रमा दर्शकले केही फरक स्वाद अवश्य पाउनेछन् ।’
    चलचित्रमा योगेश्वरका अलावा धिरेन शाक्य, नन्दिता केसी, पत्रकार श्रीकृष्ण न्यौपाने, अनुप स्थापित, उदय अधिकारीलगायतको अभिनय रहने छ । दयाराम कार्की र नीलकुमार श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा सोनाम लामाको द्वन्द्व, सन्तोष प्रगाढको संगीत, शंकर अधिकारी ‘घायल’को गीत, सुरेन्द्र भण्डारीको नृत्य, विभु श्रेष्ठको कथा÷संवाद, सुवास जिसीको पटकथा र राहुल राईको छायांकन छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु