• गीतार माइस्ट्रोको तेस्रो संस्करण हुने

    म्यूजिक खवर
    प्रकाशित: २२ श्रावण २०७१, बिहीबार

    काठमाडौं, २१ साउन । गीतार माइस्ट्रो नामक संस्थाले आयोजनामा गीतार बजाउने युवाहरुको प्रतिभालाई प्रष्फुटाउन गराउँदै उनीहरुको कलालाई सार्वजनिक रुपमा प्रस्तुत गर्न राजधानीमा ‘गीतार माइस्ट्रो ३, माष्टर अफ स्ट्रिङ’ नामक राष्ट्रियस्तरको गीतारवादन प्रतियोगिताको टेलिभिजन रियालिटी शो हुने भएको छ । आगामी साउन ३० गतेबाट अडिसन सुरु हुने यस प्रतियोगिताले हिजो मंगलबार एक कार्यक्रमको आयोजना गरी उक्त कुरा जानकारी गराएको हो ।
    मनोरञ्जनसँगै युवाको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ । ‘अनप्लग्ड, एकोष्टिक गीतार विथ ए रिनाउन्ड सिंगर, माई अन स्टाइल, मेटल, फ्युजन, रक एण्ड रोल, सिङगिङ, बुलेट ब्याटल, साउण्ड इफेक्ट एण्ड स्टन्ट र कम्पोजिसन थिम म्युजिकजस्ता विधामा प्रतियोगीले प्रतिष्पर्धा गर्नुपर्नेछ,’आयोजक संस्थाका प्रबन्ध निर्देशक विनोद ओझाले भने,‘काठमाडौंसहित पोखरा, विराटनगर, धनगढी र भारतका सिक्किम, दार्जिलिङलगायतका स्थानमा अडिसन लिनेछौं ।’ विश्वमै पहिलोपटक नेपालमा आयोजनाको दाबी गरिएको यो शोको पहिलो संस्करण २०१० मा र दोस्रो संस्करण २०१२ मा राजधानीमा सम्पन्न भईसकेको छ ।
    आयोजकका अनुसार प्रतियोगितामा सहभागी जनाउन चाहनेको उमेर १६ देखि ३५ वर्षसम्मको हुनुपर्नेछ । स्थानीय निर्णायकबाट छनौंट भएका उपत्यका बाहिरका एक सय जना प्रतियोगीले राजधानीमा रहेका वरिष्ठ गीतारवादकहरु सम्मिलित निर्णायक मण्डलकामाझ आफ्नो कला प्रस्तुत गर्नुपर्नेछ । उत्कृष्ठ ३० को छनौंट पछि कार्यक्रम इमेज च्यानल टेलिभिजनमार्फत प्रसारण हुनेछ ।
    अमेरिकी गिटारिष्ट टेड मेसोन र इमिल थोमस् अतिथिका रुपमा रहने प्रतियोगिताको निर्णायकमा गौरव शर्मा, श्यामकृष्ण शाक्य, सुदिप रिजाल, मेसोन, थेमोसलगायत रहनेछन् । प्रतियोगिताको विजेताले एक लाख रुपैंयाँसहित विशेष किसिमको गितार प्राप्त गर्नेछन भने दोस्रो र तेस्रो हुनेले क्रमशः ५० र २५ हजारसहित विशेष किसिमको गीतार पाउनेछन् । प्रतियोगितामा चौथो र पाँचौ हुनेले जनही १० हजार प्राप्त गर्नेछन् ।
    पत्रकार सम्मेलनमा निर्णायकहरु गौरव शर्मा, सुदिप रिजाल, श्यामकृष्ण शाक्यलगायतले प्रतियोगिताको विविध पक्षका बारेमा जानकारी गराएका थिए ।

     

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु