‘चलचित्र पत्रकारिता सम्मान–२०७४’ बाट यी पत्रकार सम्मानित

म्यूजिक खबर
प्रकाशित: २५ फाल्गुन २०७४, शुक्रबार

फागुन २५, काठमाडौं । पत्रकारिता माध्यमबाट नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदान गर्दै आएका ३ रंग पत्रकारहरु तुलसी गिरी भावुक, गिता अधिकारी र आर.के. सुवेदी ‘नेपाल चलचित्र कलाकार संघ चलचित्र पत्रकारिता सम्मान–२०७४’बाट सम्मानित भएका छन् । नेपाल चलचित्र कलाकार संघको १६औं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा पत्रकारद्वय तुलसी गिरी र गिता अधिकारीले सम्मानपत्र जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितको हातबाट सम्मानपत्र प्राप्त गरेका हुन् भने पत्रकार आरके सुवेदी विदेशमा रहेकाले समारोहमा अनुपस्थित थिए ।

तुलसी गिरी म्यूजिक डायरी मासिका प्रधान सम्पादक हुन् भने गिता अधिकारी मिलाप मासिककी कार्यकारी सम्पादक हुन् । त्यस्तै आरके सुवेदी बक्स–अफिस पत्रिकाका प्रधान सम्पादक हुन् ।


सोहि कार्यक्रममा अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ‘नेपाल चलचित्र कलाकार संघ राष्ट्रिय पुरस्कार–२०७४’बाट सम्मानित भए । १ लाख ११ हजार १११ रुपैयाँ र ताम्रपत्रसहितको सो पुरस्कार मह जोडीलाई प्रदान गरिएको थियो ।

सोही कार्यक्रममा ५१ हजार १११ रुपैयाँसहितको ‘नेपाल चलचित्र कलाकार संघ शान्ति मास्के राष्ट्रिय पुरस्कार–२०७४’ कलाकार आरपी पन्तलाई प्रदान गरियो । कलाकार पन्तले पुरस्कारको रकम कलाकार कल्याणकारी कोषलाई सोही कार्यक्रममा हस्तान्तरण गरे ।

यस्तै नेपाली चलचित्र क्षेत्रमा चार दशकभन्दा लामो योगदान पु¥याएको भन्दै अग्रज नृत्य निर्देशक वसन्त श्रेष्ठ र अग्रज चलचित्र निर्माण नियन्त्रक गेहेन्द्रप्रसाद धिमाललाई ‘नेपाल चलचित्र कलाकार संघ विशेष सम्मान–२०७४’बाट सम्मान गरियो ।

अभिनेत्री दीपिका प्रसाईंलाई ‘नेपाल चलचित्र कलाकार संघ नव प्रतिभा प्रोत्साहन सम्मान–२०७४’ प्रदान गरियो । कलाकार संघका लागि विशेष योगदान दिएका चार व्यक्ति चलचित्र निर्देशक राजेन्द्र सलभ, अग्रज अभिनेता जय श्रेष्ठ, अधिवक्ता शम्भु निरौला र कलाकार प्रकाश धिताललाई ‘नेपाल चलचित्र कलाकार संघ सेवा सम्मान–२०७४’बाट सम्मान गरियो । यी सबै पुरस्कार एवं सम्मान जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डित र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं अग्रज संगीतकार शम्भुजीत बासकोटाले प्रदान गरेका थिए ।

सम्मानित तथा पुरस्कृत हुने सम्पूर्ण पत्रकार तथा कलाकारहरुलाई म्यूजिक खबरको तर्फबाट हार्दिक बधाई ।

 

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु