• चलचित्र ‘भैरे’ घोषणा

    म्यूजिक खबर
    प्रकाशित: ३० कार्तिक २०७४, बिहीबार

    कार्तिक ३०, काठमाण्डौ। नेपाली चलचित्र ‘भैरे’ घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै दयाहाङ्ग राई, सुनिल थापा, विक्रान्त बस्नेत, सुरक्षा पन्त, बर्षा सिवाकोटी स्टारर यस चलचित्रको पुजाआजा गरिएको छ ।

    ’भैरे’लाई एभरेष्ट सुर्य बोहराले निर्देशन गर्दैछन् । बोहराले यसअघि अग्निपरिक्षा, कान्छा, मुटु, ठुली लगायतका चलचित्रहरु निर्देशन गरेका थिए । काठमाण्डौ, पोखरा र मुस्ताङ्गमा छायांकन हुने यो चलचित्रको छायांकन मंसिर ४ गतेबाट शुरु हुँदैछ । करिव ४० दिनमा चलचित्रको छायांकन सकिने छ ।

    चलचित्र घोषणा कार्यक्रममा बोल्दै निर्देशक बोहराले आफुले भन्दा बढि आफ्नो कामले बोल्ने बताए । ’मैले भन्दा बढि मेरो कामले बोलोस् । मेरो कामलाई हेरेर यहाँहरुले मुल्यांकन गर्नुहुनेछ’, बोहराले भने । चलचित्रले कस्तो कथा बोल्छ त्यो भने बोहराले प्रष्ट पारेका छैनन् ।

    चलचित्रका मूख्य पात्र अभिनेता दयाहाङ्ग राईले चलचित्रको कथावस्तु राम्रो रहेको भन्दै बाँकी चलचित्र रिलिज भएपछि नै बोल्ने बताए । नायिका सुरक्षा पन्तले चलचित्रको स्क्रिप्ट पढ्दा एकदमै मज्जा आएको बताईन् । उनले राम्रो टिमबाट राम्रो चलचित्र बन्ने विश्वासले आफुले अभिनय गर्न राजी भएको बताईन् । त्यस्तै, अर्की नायिका बर्षा सिवाकोटीले चलचित्रको कथा अत्यन्त राम्रो र रमाइलो रहेको बताईन् । संगीतकार, गायक तथा ’भेरै’का सह(निर्माता यम बरालले चलचित्र उद्योगलाई केहि योगदान गर्न सक्छौँ भन्ने ध्येयले चलचित्रमा लगानी गरेको बताए ।

    नेपालय सिनेमा इन्टरनेशनल प्रा.लि.को ब्यानरमा बन्ने ’भैरे’का निर्माता प्रेम प्रसाद पौडेल हुन् । देवि माया अधिकारी कार्यकारी निर्माता हुन् भने यम बराल, लेख बहादुर गुरुङ् (डेनिम) र रघु पुरी सह(निर्माता रहेका छन् । चलचित्रमा दयाहाङ्ग राई, सुनिल थापा, सुरक्षा पन्त, बिक्रान्त बस्नेत, बर्षा सिवाकोटी, बुद्दि तामाङ्ग, अर्जुन गुरुङ्, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी लगायतको अभिनय रहनेछ ।

    पुरुषोत्तम प्रधानले छायांकन गर्ने यस चलचित्रको कथा निर्देशक बोहराले नै लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहेको छ । आगामी तीजमा रिलीज लक्ष्य रहेको ’भैरे’मा बसन्त सापकोटा, अर्जुन पोखरेल तथा यम बरालको संगीत रहनेछ । कविराज गहतराजको नृत्य निर्देशन तथा सुर्य थोकर र चन्द्र पन्तको द्वन्द्व निर्देशन रहनेछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु