• ढकाल समूह विजयउत्सव मनाउँदै, रेग्मी समूह विरोध गर्दै

    म्यूजिक खबर
    प्रकाशित: २४ चैत्र २०७४, शनिबार

    २४ चैत, काठमाडौं । संगीत उत्पादक समाज नेपालको तेस्रो अधिवेशनमा अध्यक्षका प्रत्यासी निर्मल ढकाल समूहले विजयउत्सव मनाइरहँदा सुवास रेग्मीको समूह भने विरोध गरिरहेको छ । ढकालको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन भइसकेर सपथग्रहणसमेत लिँदै गर्दा भने रेग्मीको समूह मतदान हुँदाहुँदै धाँधली गरियो भन्ने आरोप लगाउँदै चुनावी मैदान छाडेर हिडेको थियो ।

    मतगणना बेलुका ८ः३० बजेसम्म भएको थियो जसमा ढकाल समूहबाट ८ जनाले विजयी हासिल गरेका थिए । अध्यक्षका प्रत्यासी ढकालले ११३ मत ल्याएर विजयी भएका थिए भने रेग्मीले ५५ मत प्राप्त गरेका थिए । उपाध्यक्ष सूर्य मगर, महासचिव हुम गैरे र सचिव सुनिल लामिछाने निर्विरोध भइसकेका थिए भने कोषाध्यक्षमा राजशुक्र लिम्बूले ९७ मत ल्याएर विजयी भएका थिए भने बाबुराम बोहोराले ६३ मत प्राप्त गरेका थिए ।


    सदस्यरुहरुमा उमेश गुरुङले १०१, खगेन्द्र याक्सो ८६, तोरण गुरुङ ८१ मत ल्याएर विजयी भएका थिए भने दुवै प्यानलभन्दा बाहिर रहेका सन्तोष केसीले ८१ मत ल्याएर विजयी भएका थिए । सदस्यमा नै उम्मेदवारी दिएका ज्ञानु ग्याङ्मी ६६, विमल अधिकारी ५१, केशव सापकोटा ३८, जमुना राना ६९ मत प्राप्त गरेका थिए ।

    प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयका पदाधिकारीहरुसहितको निर्वाचन टोली र प्रहरीको सुरक्षा घेराभित्र भइरहेको चुनावी प्रक्रियामा शान्त र विवादरहित तरिकाले चुनाव सम्पन्न भएको निर्वाचन अधिकृत तारा कुमार श्रेष्ठले जानकारी दिएका थिए । विजयी भएपछि अध्यक्ष निर्मल ढकालले आफूले गीतसंगीतको क्षेत्रमा रोयल्टी व्यवस्थापन गर्ने र उत्पादकहरुको हकहितका लागि अघि बढ्ने बताएका थिए ।
    अध्यक्षका प्रत्यासी सुवास रेग्मी भने मतदान प्रक्रियामा सामेल भए पनि मतगणना बहिष्कार गर्दै बाहिरिएका थिए । एक जना शान्ता परियारको नाममा फर्जी मत हाल्न गएको हुँदा तीनलाई मतदान गर्न नदिए पनि रेग्मी समूहले चिया पसले, नाइ र डेरीवाला सबैले मतदान गरेको आरोप लगाउँदै चुनाव बहिष्कार गरेको बताएका थिए ।

    उत्पादक समाज नेपालको तेस्रो साधरणसभाको उद्घाटन सत्रमा गीतकार एवं पत्रकार लोकराज अधिकारीलाई रोयल्टी व्यवस्थापन र गीतसंगीतको क्षेत्रमा कलम चलाएवापत कदर पत्र हस्तान्तरण गरिएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु