• दोहोरीमा गेष्ट भएर धाउँदाधाउँदै गायिका

    म्यूजिक खबर
    प्रकाशित: २८ माघ २०७३, शुक्रबार

    माघ २८, काठमाण्डौ ।गायिका मिरा गिरी पछिल्लो समय लोकदोहोरीमा चर्चा बटुल्दै गरेकी गायिका हुन् । केही समय पहिला खरबारीमा बोलको गीत बद्री पंगेनीसँग गाएपछि एकाएक उनको स्थानले उचाइ चुमेको थियो । सानैदेखि सोच त गायिका बन्ने नै थियो गायिका गिरीलाई । जसका कारण उनी स्कुलमा पनि पढ्ने भन्दा गाउनमै मन लगाउँथिन् । यदि उनी गायिका नभएको भए जनताको सेवक हुने कुरामा भने ढुक्क छिन् । उनलाई मन पर्ने पेशा भनौं या जागिर प्रहरीको थियो । त्यसैले पनि उनी गायिका नभएको भए प्रहरी हुनेमा पक्का थियो ।

    mira giri1

    कसको होला छोरो, कुन संसारमा जाऊँ जस्ता गीतले चर्चामा आएकी गायिका मिरा गिरीको गाइघाट, कटारी नपा ७ उदयपुर स्थायी घर हो । तर सानैदेखि उनको बसाई काठमाडौंमै भएका कारण संगत अनुसार सांगीतिक क्षेत्रले स्थान ओगट्न सफल भयो । तर उनको सांगीतिक क्षेत्रमा जम्ने सोच भए पनि विश्वास दिलाउन भने गाह्रो थियो । त्यसैले उनले दोहोरी साँझमा वेटरमा काम गर्दै काठमाडौंको बसाईलाई सहज बनाउँदै गायनतर्फ जीवनलाई मोड्ने निधो गरिन् । फलस्वरुप उनको लक्ष्यले यतिबेला एउटा दोहोरी साँझ गायिकाको स्थान मात्र होइन बजारमा बिक्ने गायिका पनि बनाइदिएको छ । उनले विगत सम्झिँदै भनिन्ः पहिला दोहोरी साँझमा वेटर गर्थें । स्टेजमा अरुले गाएको देख्दा म कहिले यस्तो गाउन सक्ने हुने होला भन्ने लाग्थ्यो । धेरै दुःख गरियो, अहिले त्यो सपना बल्ल पूरा गर्न लागेको छु जस्तो लागेको छ । अझै धेरै मेहनत गर्छु र योभन्दा माथि लाने प्रयास गर्नेर्छु ।

    सात वर्षअघिदेखि गायन यात्रा सुरु गरेकी गायिका गिरीको पहिलो गीत भने लाग्छ तिम्रै भर थियो । जसमा उनको रामजी खाँडको स्वर रहेको थियो । उनी पूर्वमा जन्मिएर पश्चिमे शैलीको दोहोरी गाउनतर्फ उद्दत छिन् । सानैदेखि पश्चिमेली साथीहरुको संगतले उनलाई पूर्वेली गायन भन्दा पनि पश्चिमेली लोक शैलीलाई पछ्याउन सफल बनायो । हुन त उनी पूर्वको गीत पनि गाउँछिन् । संगीतकै विद्यार्थी भएको कारण उनी आफ्नो गायकीपनलाई सबै क्षेत्रका लोकशैलीमा फिट गराउने सोचमा छिन् ।

    mira giri_1
    गायिका हुनका लागि सबैभन्दा पहिला कला हुनुप¥यो अनि साथमा पैसा पनि । त्यसपछि परिवारको सपोर्ट पनि सँगै भयो भने मात्रै एउटा सफल गायिका बन्न सकिन्छ भन्ने गायिका मिरा गिरी संगीतको क्षेत्रमा निपूर्ण भएर सबैखाले गीत गाउने सोचमा छिन् । कला र गला भयो भने मात्र सफल जिन्दगी चल्न सक्छ, गायिका मिराले भनिन् संगीतभित्रै नाम र दाम खोज्ने यात्रामा दौडिरहेको छु । उनलाई चिनाउने गीत भने कसको होला छोरो – न त कालो न गोरो, म छु परेदेशमा, खरबारीमा, कुन संसारमा जाऊँ नै बन्न सफल भए । खरबारीमा बोलको गीतबाट त उनले म्यूजिक खबर म्यूजिक अवार्डसमेत चुम्न सफल भएकी हुन् ।

    mira giri1

    उनको जिन्दगीको सबैभन्दा खुशीको क्षण भने ‘कसको होला छोरो‘’ भन्ने गीत गाएपछि गायिका भनेर धेरैले चिनेको दिन थियो । तर गायिका बन्नका लागि उनी दिनहुँ निरमाया दोहोरीमा गेष्ट भएर धाउँदाधाउँदै गायिका बन्ने अवसर मिलेको कहिल्यै भुल्दिनन् । नेपालीपन भएकी नारी बनेर गायनयात्रालाई सफलतातर्फ लैजानु नै उनको लक्ष्य रहेको छ ।
    गीतसंगीतमा छाडपन नभए चल्दैन भन्नेहरुका लागि उनी भन्छिन् बढी स्मार्ट हुन खोजिएको हो । तर गीतसंगीतमा मौलिकता नै हुनुपर्छ सभ्य गीत नै पछिसम्म चल्छ । यतिबेला गायिका गिरी नयाँ लोकदोहोरी एल्बमको तयारीमा जुटिरहेकी छिन् ।

    म्यूजिकखबर पाक्षिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु