• पृथ्वीजस्तै घुम्दै पुरानै धारमा आए प्रमोद

    म्यूजिक खबर
    प्रकाशित: २० जेष्ठ २०७५, आईतवार

    २० जेठ, काठमाडौं । प्रमोद खरेल भन्ने वित्तिकै एउटा ब्राण्ड बनिसकेको छ । जसले हाइ स्केलका चर्चित गीतहरु गाउँछन् भन्ने प्रमाणित भइसकेको छ । उनको ब्राण्डलाई पछ्याउने धेरै छन् । उनी पछिल्लो समय देशविदेशमा कार्यक्रमहरु गर्दैमा व्यस्त देखिन्छन् तर आफ्नो सुरलाई पनि उत्तिकै ख्याल गरिरहेका हुन्छन् ।
    प्रमोद खरेलको आवाज ‘भर्सटायल’ छ । जसले गर्दा उनका धेरै गीत चर्चाको शिखरमा पुग्न सफल पनि भएको छ । ‘म बिना कसै–कसैलाई’ गीत मात्र होइन ‘याद गर्न पनि’ जस्तो गीतले उनलाई अझ बढी प्रभावित बनाएको छ । तर स्रोतालाई खुशी अझै मिलेको छैन कि जस्तो उनीभित्र सधैं लागिरहन्छ । त्यही कुरालाई मध्यनजरमा राख्दै यतिखेर गायक खरेलले ‘पृथ्वी’ लिएर आएका छन् ।


    विश्वास छैन चोट लाग्यो कि भनेर रोकिन्छौ कि
    पिरै छैन पराईको पाखुरीमा पोखिन्छ्यौ कि
    पृथ्वी गोलो छ,
    डर लाग्छ घुम्दै फिर्दै फेरी ठोकिन्छ्यौ कि

    पृथ्वी गोलो भएकोले पनि होला, उनी घुम्दै पुरानो गायकीका फ्यानलाई खुसी तुल्याउन पुरानै धरातलमा फर्किएका छन् । यस गीतबाट उनले पुनः श्रोेतामाझ आफ्नो गायकीको वास्तविक धरातल प्रदान गर्नेछन् । यसो त गायक खरेल अहिलेसम्म अरुकै शब्द र संगीतमा बढी रमाइरहेका थिए । तर, यतिबेला भने आफ्नै शब्द, संगीतको खानीलाई स्वरसँगै उतारेका छन् । शब्दको गहिराईभित्र उनी डुबिरहँदा संगीतको मापन गर्ने ठाउँ पनि कतै भेटिँदैन । अर्थात् उनको संगीतको गहिराईले पनि उत्तिकै स्रोताको मन छुन सफल हुनेछ ।

    ‘पृथ्वी’को पनि सुन्दर म्युजिक भिडियो बनेको छ । भिडियोका निर्देशक सुव्रतराज आचार्यका केही ‘टिटबिट्स’हरुले एक हदसम्म शब्दको गहिराई महशुस गराउँछन् । भिडियो कथाको ‘कन्सेप्ट’ अनुसार अभिनयमा सारा सिरपाइली र फिरोज तिमिल्सिना फिट छन् । जीवन रिजाल र निराजन कार्कीको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई प्रविन श्रेष्ठले सम्पादन गरेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु