• बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन

    म्यूजिक खबर
    प्रकाशित: ३२ श्रावण २०७२, सोमबार

    बेल्जियम– बेल्जियममा पहिलोपटक अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सुरु भएको छ । बेल्जियमको लुभेन सहरमा भएको सम्मेलनको पहिलो दिन यूरोपभरका झण्डै ५० जना साहित्यकारले रचना वाचन गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, बेल्जियमले आयोजना गरेको सम्मेलनको उदघाटन संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले गरे ।

    ramesh adhikari
    कार्यक्रमलाई सम्बोधन गर्दै यूरोपमा नेपाली साहित्यप्रेमीको उत्साहजनक उपस्थितिले आफू प्रभावित भएको बताए । उनले विश्वका जुन मुलुकमा बसे पनि भाषा साहित्य जोगाउने जिम्मा अहिलेको पुस्ताको भएको बताए । ‘धेरैले कविताबाट जे बोल्नुभएको छ,’ उनले भने, ‘यति भनेपछि मेरो देशलाई म माया गर्छु भनिरहनुपरेन ।’
    कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष जीवा लामिछानेले एनआरएन स्थापनाको उद्धेश्यहरुमध्ये नेपाली भाषा साहित्य र संस्कृति प्रबद्र्धन गर्ने पनि रहेको बताए । प्रा.डा. खगेन्द्र लु्इँटेलले प्रवासी नेपालीहरुले भाषा साहित्य प्रवद्र्धनमा ठूलो भूमिका खेलेको बताए । ‘नेपालीले विश्वमै अलग पहिचान बनाएका छन्,’ उनले भने, ‘अबको पहिचान नेपाली साहित्यबाट पनि बनोस् ।’

    sarubhakta
    अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदी र वर्तमान अध्यक्ष पदम विश्वकर्माले संस्था स्थापनाको रजत जयन्ती मनाउने तयारी गरिएको बताए । एनआरएन यूरोप संयोजक अर्जुनकुमार श्रेष्ठले नेपाली भाषा साहित्य प्रवद्र्धनमा यूरोपको नेपाली समाज एक भएको बताए ।
    मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ, साहित्यकारद्वय ईन्द्रकुमार जोशी, रमेश अधिकारी, अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसी, अनेसास बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण बजगाईं, एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङलगायतले सम्मेलन डायस्पोरा साहित्यलाई टेवा दिने विश्वास व्यक्त गरे ।
    सम्मेलनको दोस्रो दिन सोमबार नेपाली भाषा र साहित्यको विश्वव्यापीकरण, प्रवासमा नेपाली भाषा साहित्यको विकासमा नेपाली सञ्चारको भूमिका तथा नेपाली साहित्यको उत्तरआधुनिकवाद विषयक छलफल कार्यक्रम हुँदैछ । सम्मेलनको समापनमा यूरोप घोषणापत्र जारी हुने अनेसास बेल्जियमका अध्यक्ष केसीले जानकारी दिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु