एउटै मञ्चमाः सहयोगीलाई धन्यवाद, उम्मेद्वारलाई शुभकामना र कलाकारलाई प्रशिक्षण

म्यूजिक खबर
प्रकाशित: १६ आश्विन २०८३, शुक्रबार १८:३६

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा ‘९ औं राष्ट्रिय लोक दोहोरी अवार्ड धन्यवाद ज्ञापन साथै ९ औं केन्द्रीय महाधिवेशन उम्मेदवारहरूलाई अग्रिम शुभकामना तथा संगीत र प्रविधि विषयक अन्तरक्रिया कार्यक्रम २०८३’ राजधानीमा भव्य रूपमा सम्पन्न भएको छ ।

समितिका अध्यक्ष प्रसाद लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त गरिमामय समारोहको उद्घाटन प्रमुख अतिथि प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं वरिष्ठ गीतकार रमेश बिजीले दीप प्रज्वलन गरेर गर्नुभएको थियो ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय वरिष्ठ उपाध्यक्ष पशुपति शर्मा, केन्द्रीय प्रथम उपाध्यक्ष रामजी खाँड, केन्द्रीय महिला उपाध्यक्ष राधिका हमाल, केन्द्रीय महासचिव शिव हमाल, केन्द्रीय सहसचिव द्वय राजकुमार रायमाझी र सीता राना मगर, केन्द्रीय सहकोषाध्यक्ष ईश्वरी प्रसाद भुसाल, केन्द्रीय सदस्यहरू श्रीकृष्ण बम मल्ल, सुजन लम्साल, अर्जुन थापा मगर, र मनमाया वाइवाको विशेष उपस्थिति रहेको थियो।

त्यसैगरी वरिष्ठ गीतकार एकनारायण भण्डारी, प्रतिष्ठानका जापान शाखाका पूर्व अध्यक्ष रामकृष्ण बम मल्ल, प्रविधि विज्ञ राजेन्द्र अर्याल, समाजसेवी लक्ष्मण मल्ल लगायत थुप्रै दिग्गज कलाकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो। समारोहमा वरिष्ठ उपाध्यक्ष शर्मिला कँडेलले स्वागत मन्तव्य राख्नुभएको थियो भने अध्यक्ष प्रसाद लामिछानेले कार्यक्रमको औचित्य तथा उपत्यका समन्वय समितिको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

सहयोगी र स्रष्टाहरू सम्मानित
हालै सम्पन्न भएको ‘९ औं राष्ट्रिय लोक दोहोरी अवार्ड २०८३’ लाई सभ्य र भव्य रूपमा सफल पार्न अतुलनीय योगदान दिने विभिन्न विधाका विजेता कलाकारहरू, सहयोगी व्यक्ति, संघ(संस्था तथा पत्रकारहरूलाई कार्यक्रममा औपचारिक रूपमा धन्यवाद ज्ञापन गर्दै सम्मान–पत्रद्वारा सम्मानित गरिएको थियो ।

डिजिटल बजार र प्रविधिबारे कलाकारलाई प्रशिक्षण
कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रियामा प्रविधि विज्ञ राजेन्द्र अर्यालले कलाकारहरूलाई विशेष प्रशिक्षण दिनुभएको थियो। उहाँले पछिल्लो समय सांगीतिक क्षेत्रमा भित्रिएको डिजिटल बजार, युट्युब, फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालका फाइदा, बेफाइदा र यसको सही सदुपयोग कसरी गर्ने भन्नेबारे विस्तृत जानकारी गराउनुभयो।

डिजिटल बजारबारे पर्याप्त ज्ञान नभएका थुप्रै कलाकारहरूले यो प्रशिक्षण वर्तमान समयमा एकदमै आवश्यक रहेको र यसले सांगीतिक करिअरलाई अघि बढाउन ठूलो मद्दत पुग्ने भन्दै खुसी व्यक्त गरे। कलाकारहरूले यस्तो उपयोगी र समसामयिक कार्यक्रम आयोजना गरेकोमा अध्यक्ष प्रसाद लामिछाने लगायत उपत्यका समन्वय समिति परिवारलाई विशेष धन्यवाद समेत ज्ञापन गरेका छन्।

महाधिवेशन उम्मेदवारहरूलाई अग्रिम शुभकामना
सोही अवसरमा प्रतिष्ठानको आगामी ९ औं केन्द्रीय महाधिवेशनमा विभिन्न पदका लागि उमेदवारी घोषणा गर्नुभएका उपत्यका समन्वय समिति तथा मातहतका उम्मेदवार कलाकारहरूलाई सुखद कार्यकाल र जितको सामूहिक अग्रिम शुभकामना दिइएको थियो। लोक संगीतको क्षेत्रलाई थप सबल र मर्यादित बनाउन सक्षम नेतृत्व चयनका लागि सम्पूर्ण कलाकर्मी एकताबद्ध भएर लाग्ने प्रतिबद्धता समेत व्यक्त गरियो।

उक्त विशेष कार्यक्रमको सहजीकरण तथा सञ्चालन उपत्यका समन्वय समितिकी महिला सचिव डोल्मा लामिछाने र सहसचिव क्षितिज गुरुङले संयुक्त रूपमा गर्नुभएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु