• बौद्धिक सम्पत्ति दिवसमा मात्रै एकजुट

    म्यूजिक खबर
    प्रकाशित: ९ बैशाख २०७१, मंगलवार

    काठमाडौं, ९ बैशाख । विश्व बौद्धिक सम्पत्ति दिवस अप्रिल २६ लाई सम्पूर्ण संगीतकर्मीहरुले एकजुट भएर मनाउन लागेका छन् । गत वर्ष बौद्धिक सम्पत्ति दिवस मनाउने मुलुकहरुमध्ये नेपाल अग्रपंक्तिमा नै देखिएको थियो भने यसपाली पनि त्यो भन्दा भव्य रुपमा मनाउनका लागि संगीत क्षेत्रमा क्रियाशील संस्थाहरु लागिपरेका छन् । संगीत क्षेत्रमा पाइरेसी भयो, रोयल्टी पाइएन, प्रतिलिपी अधिकार हनन् भयो भनेर स्रष्टाहरु कुर्लिरहे पनि एकजुट भएर यस क्षेत्रमा क्रियाशील भएका संस्थाहरु कहिल्यै अधिकारका लागि हिडेको नदेखिए पनि बौद्धिक सम्पत्ति दिवसमा भने एकजुट भएका छन् ।
    विश्व बौद्धिक सम्पत्ति दिवस (ध्क्ष्एइ) लाई सम्पन्न गर्नका लागि संगीत क्षेत्रमा क्रियाशील भएका संस्थाहरु संगीत रोयल्टी संकलन समाज नेपाल, गीतकार संघ नेपाल, प्रस्तोता समाज नेपाल, संगीत उत्पादक समाज नेपाल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, नेपाली संगीत निर्देशक संघ, नेपाल संगीत उद्योग संघ, राष्ट्रिय संगीतकर्मी संघ एकै ठाउँमा भेला हुने भएका छन् । आगामी बैशाख १३ गते शनिबारका दिन सबै संगीतकर्मीहरु एकठाउँमा भेला भएर दिनभर सांस्कृतिक कार्यक्रमहरु गर्ने भएका छन् । भृकुटीमण्डपबाट ¥याली सुरु भएर खुलामन्चसम्म पुगेर दिनभर सांस्कृतिक कार्यक्रमसहित विश्व बौद्धिक सम्पत्ति दिवस मनाइने संगीत रोयल्टी संकलन समाजमा अध्यक्ष सुरेश अधिकारीले बताए । बौद्धिक सम्पत्ति भनेको स्रष्टाको सिर्जना हो । सिर्जनाको सुरक्षा गर्नु सबै स्रष्टाको दायित्व हो तर यसभित्र कुन कुन संस्था मात्र पर्ने हो भन्ने कुरा महत्वपूर्ण हुन आउँछ । संगीत क्षेत्रका स्रष्टाहरुको मात्र बौद्धिक सम्पत्ति दिवस हो की अन्य संघसंस्थामा आबद्ध हुनेहरु पनि यस दिवसको क्षेत्रफलभित्र बाँधिन सक्छन् ? वर्षको एक दिन मात्र सडकमा उत्रिएर बौद्धिक सम्पत्तिलाई संरक्षण गर्न सकिन्छ की सकिँदैन यो बारेमा पनि यस क्षेत्रमा क्रियाशील संघसंस्था एवं स्रष्टाहरुले सोच्नुपर्ने बेला आएको छ । यतिबेला धरासायी बनेको संगीत क्षेत्रमा यसरी नै संगठित भएर संगीत क्षेत्रमा क्रियाशील संस्थाहरु एकजुट भए भने पक्कै पनि यस क्षेत्रको भविश्य उज्ज्वल हुने थियो । त्यसैले बौद्धिक सम्पत्ति दिवस मनाउन सम्पूर्ण संघसंस्था एवं स्रष्टाहरु एकजुट हुनु आवश्यक छ ।
    World_IP_Day_2014_Press_Release

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु