असार २१, काठमाडौं । पत्रकार मधु शाहीको शब्द र ज्योतिप्रकश विकेको संगीतमा ललितकला सम्बन्धी ‘उठौं कलाकार…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठानकी कुलपति रागिनी उपाध्यायको प्रमुख आतिथ्यतामा उक्त गीतको सार्वजनिक भएको हो ।
ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागीनि उपाध्याय, गीतकार एवं चलचित्रकर्मी यादव खरेल, कला समिक्षक रमेश खनाल लगायतले म्युजिक भिडियो र अडियो एकैसाथ सार्वजनिक गरे । कान्तिपुरकर्मी मधुले ललितकलाको विषयमा झन्डै एक दशक पत्रकारीता गरेको अनुभव संगालेकी छन् । ललितकला प्रज्ञा प्रतिष्ठानको सहयोगमा निर्माण गरिएका भिडियोलाई म्युजिक नेपालले बजार व्यवस्थापन गरेको छ ।
मधुले आफू जानी नजानी गीतकार बन्न पुगेको अनुभव बताउँदै ललितकलाको कुरालाई आफ्नो बुझाईलाई गीतमा उतारेको उनले बताइन् । त्यस्तै संगीतकार एवं चित्रकार ज्योति प्रकाशले कलाको क्षेत्रमा अहिले सम्म कुनै गीत सिर्जना नभएको बताउदै यसको महत्व खड्कीएको सुनाए । ‘कला क्षेत्रको गीत थिएन’, उनले भने, ‘यस गीतले ऐतिहासिक काम गरेको छ जस्तो लाग्छ ।’
कुलपति रागीनिले कला सम्बन्धी यस गीतले सबै कलाकारलाई हौसला मिल्नुका साथै सकरात्मक उर्जा मिलेको बताइन् । गीतकार यादव खरेलले सबै पाका र नया पुस्तका कलाकारलाई एकै साथ म्युजिक भिडियोमा समावेश गर्न सक्नु महत्वपुर्ण दस्तावेज रहेको बताए । तीन मिनेट लामो म्युजिक भिडियोमा पाका कलाकार शशी शाह, दुर्गा बराल, रागीनि उपाध्याय लगायत पोखराका कलाकार समेत समेटिएकोछ । गीतमा ज्योति संगै रुपक खनाल, सितल पाण्डे र सिता भण्डारीले स्वर दिएका छन् ।