• मादलले धानेको जिन्दगी

    म्यूजिक खबर
    प्रकाशित: १९ कार्तिक २०७३, शुक्रबार

    सविता पोखरेलishwari-prasad-bhusal
    ईश्वरीप्रसाद भुसाल कलाकारिताको क्षेत्रमा परिचित नाम हो अर्थात् वाद्यवादनमा उनको नामलाई नचिन्ने कमै होलान् । सानैदेखि गाउँको पूजाआजामा भजन, कीर्तन, आरती, नाटक, सांस्कृतिक कार्यक्रमहरुमा खैजडी बजाउने, मादल बजाउने, गाउने नाच्ने गर्दै आएका कलाकार भुसालले जीवनलाई नै मादलभित्र समाहित गरिरहेका छन् । हुन त उनीसँग गाउने, नाच्ने प्रतिभा पनि छ तर त्योभन्दा पनि उनलाई चिनाउने भनेकै मादल हो । २०३८ सालमा नवलपरासीको प्रगतिनगर ४ भगवती टोलमा जन्मिएका भुसालको पुख्र्यौल ीभने पर्वत हो । भुसालले पहिलोपटक बजाएको बाजा खैजडी हो । त्यसपछि उनले मुजुरा हुँदै मादलतर्फ प्रवेश गरे । भजनकीर्तन, सप्ताह होस् गाउँको कुनै पनि सांस्कृतिक कार्यक्रम भुसाल मादल बोकेर हिडिहाल्थे । त्यो त २०५१ सालको मध्यवधि निर्वाचनमा नवलपरासी क्षेत्र १ मा घाँटीमा मादल बोकेर पुरै क्षेत्रमा मादल बजाउँदै हिंड्दा उनको उपनाम नै ‘फुच्चे मादले’ भएको थियो ।
    फुच्चे मादल अर्थात् ईश्वरीप्रसाद भुसाल स्कुले जीवनमा पनि रमाइला थिए । गीतसंगीत भनेपछि हुरुक्कै हुने भुसाल स्कुलस्तरमा हुने प्राय सबै कार्यक्रमहरुमा सहभागी हुन्थे । जुनियर रेडक्रस, बाल अधिकार मन्च, जागृति बाल क्लब, बालचेतना समूह, सिविन नेपालजस्ता करिब डेढ दर्जन संस्थाहरुमा सक्रिय रहँदै आफ्नो जिम्मेवारी पूरा गर्दै माध्यमिक तहको पढाइ पूरा गरेका भुसालले जिल्लामा हुने विभिन्न प्रतियोगितामासमेत आफ्नो बलियो उपस्थिति जनाउने गर्थे ।
    एसएलसी पास गरेपछि २०५६ सालमा सप्तगण्डकी क्याम्पस भरतपुरमा हुने विभिन्न सांस्कृतिक कार्यक्रममा मादल र नृत्यमा उनी बढी सक्रिय हुने गर्थे । विशेषगरी नारायण कला मन्दिरको कार्यक्रममा उनको सहभागिता बढी नै रहन्थ्यो । त्यसबखत भरतपुरमा खुलेको सिनर्जी एफएम र बेसो टीभीमा पनि कार्यक्रममा वाद्यवादकको रुपमा धेरै नै काम गरिसकेका छन् भुसालले ।
    विगत सम्झिँदै भुसाल भन्छन् – जिन्दगीमा अहिलेको स्थान आकाश र पातलको फरक छ भन्ने लाग्छ । २०५९ साल बर्खाको रोपाईं सकेर गीतसंगीतकै क्षेत्रमा केही गर्छु भनेर काठमाडौं छिरेको दिन कसैलाई नचिन्दा र आफ्नो मान्छे नहुँदा पाएको दुःख अहिलेजस्तै लाग्छ । हो काठमाडौंमा धेरैले खाली पेट जागिरको खोजीमा गल्ली चाहरेको अवस्था र काम नपाएको अवस्थामा निराश भएर बस्नुपर्ने क्षण भोगेका छन् । त्यो भोगाइभित्र कलाकार भुसाल पनि पर्दछन् । काठमाडौंमा काम नपाएपछि दशैंतिहार मान्न गाउँ फर्केका भुसाल अन्ततः काठमाडौंमै छिरेर आफूलाई एउटा वाद्यवादकको परिचयमा स्थापित गर्न सफल भएका छन् ।
    राष्ट्रिय नाचघरका अभिनय प्रशिक्षक एवं रंगकर्मी वीरेन्द्र हमालको सहयोगमा हमालकै कल्चर एमआर थियटरका नृत्य प्रशिक्षक अर्जुन विसीमार्फत् बौद्ध टुसालस्थित लेकबेसी दोहोरी साँझमा वाद्यवादन सहयोगीका रुपमा प्रवेश गर्ने मौका मिलेको थियो । त्यतिबेला एक छाक खानाको भरमा दुई महिना निःशुल्क काम गरेको अनुभव छ भुसालसँग । दोहोरी साँझमा वाद्यवादकको कुनै टिप्स आउँदैनथ्यो । गाउनेहरुले टिप्स लैजान्थे तर हामी पर्दा पछाडिका मादल बजाउनेहरुका लागि ठूलो चुनौति थियो टिप्स पाउन । त्यसो त हामी मादलेहरुले गायक गायिकाहरुले झैं माया पनि पाइँदैनथ्यो, भुसालले अनुभव सुनाए ।

    २०५९ को अन्तिममा सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरमा सरकारी प्रशिक्षणमा भाग लिँदा नाम निस्केपछि जीवनमै पहिलो पटक संगीतसम्बन्धी प्रशिक्षण लिन पाएका थिए भुसालले । ६ महिले निःशुल्क बाद्यवादन विधामा प्रशिक्षण लिएपछि त्यही शिक्षाबाट आफूले साथीसंगी, इष्टमित्र आदि बनाउन सफल भएको बताउँछन् उनी ।

    ishwari-anusha
    त्यसैबखत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका चन्द्र शर्मासँग भेट हुने अवसर मिल्यो । उहाँको संगीतमा मैले दोहोरी गीत प्रतिष्ठानको केन्द्रमा कार्यालय सचिवको जागिर पाएँ । तत्कालिन अध्यक्ष प्रजापति पराजुली हुनुहुन्थ्यो, त्यही कार्यालयमा जागिर गर्दै लेकबेसी दोहोरी साँझमा काम गरेर आएको रकमबाट आफ्नो क्यारिअर सुरु गरेको हुँ, भुसालले अतित सम्झाए । त्यसैगरी संस्थाको महाधिवेशनले दुर्गा रायमाझीको नेतृत्व पाएपछि पुनः मेरो जागिरले निरन्तरता पायो जसबाट मेरो वाद्यवादनको करिअरले अगाडि बढ्ने मौका मिल्यो । त्यसैले मेरो जीवनकै लागि नबिर्सने नाम वीरेन्द्र हमाल, अर्जुन बिसी, चन्द्र शर्मा, दुर्गा रायमाझी हुनुहुन्छ, मेरो पथप्रदर्शक र आदर्श व्यक्तित्व हुनुहुन्छ, भुसालले भने ।

    ishwari
    तत्कालिन अध्यक्ष दुर्गा रायमाझीले २०६२ असोजमा काठमाडौंमा रहेका लोकदोहोरी कलाकारहरुलाई एकै छातामुनी समेट्दै उपत्यका समन्वय समिति गठन गरेपछि म पनि संस्थापक सदस्य बन्ने मौका मिलेको थियो । समन्वयको स्थापनादेखि सदस्य, सहकोषाध्यक्ष, कोषाध्यक्ष हुँदै हाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यसम्मको यात्रा गरिसकेका भुसालले विभिन्न सांस्कृतिक कार्यक्रम, दोहोरी प्रतियोगितामा वाद्यवादन संयोजकको भूमिका निर्वाह गरिसकेका छन् । प्रयाग संगीत समूह इलाहवाद भारतबाट तबला वादनमा डिप्लोमासम्मको अध्ययन गरिसकेका भुसालले ललितकला क्याम्पसमा बीएफए सम्मको अध्ययन गरिसको छन् । लोक, आधुनिक र शास्त्रीय विधामा नै क्रियाशील रहँदै आएका भुसालले दर्जनभन्दा बढी गीतमा नृत्य गरेका छन्, गीत गाएका छन् । हाल इमेज टेलिभिजन एवं इमेज एफएममा वाद्यवादक संयोजकको रुपमा काम गरिरहेका भुसाल प्रस्तोता समाजको सदस्य, वाद्यवादक संघको सदस्यका रुपमा क्रियशील छन् । त्यस्तै लेकबेसी, गाउँवेशी दोहोरी हुँदै हाल ललितपुर रोधी क्लबममा कार्यरत छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु