• माया गर्न आफैं सिकेकी निर्मला

    म्यूजिक खबर
    प्रकाशित: १४ आश्विन २०७२, बिहीबार

    काठमाडौं । गायिका निर्मला थापा मगरले माया गर्न आफैं जानेकी हुन् । उनलाई पँधेरीमा पानी भर्न आमाले सिकाएकी हुन्, खेतबारीमा काम गर्न पनि आमाले सिकाएकी हुन् तर माया गर्न, आँखा तर्न भने आफैं सिकेकी हुन् रे । माया भन्ने चिज नै अचम्मको रहेछ कसैले सिकाउन पनि नपर्ने, पढ्न नि नपर्ने उमेर अनुसार आफैं सिक्दै जाने रहेछ । निर्मलाले पनि आफूले चाहेजस्तो माया गर्न आफैंले सिकेकी हुन् ।
    संगीतकार दीपक शर्माको शब्द र संगीतमा तयार भएको पँधेरीमा पानी भर्न गायिका निर्मला थापा मगरले स्वर दिएकी छिन् । शिवदर्शन डिजिटलले बजार प्रबद्र्धन गरेको गायिका थापाको गीत यतिबेला डिजिटल मार्केटमा चर्चाको शिखरमा छ । यस गीतको म्यूजिक भिडियोमा जीवन सेन्चुरीको निर्देशन रहेको छ भने कार्यकारी निर्माताको रुपमा गायत्री थापा रहेकी छिन् । रामेश्वर हुमागाईंको छायाँकन रहेको यस म्यूजिक भिडियोलाई जीवन सेन्चुरीले नै सम्पादन गरेका छन् । पँधेरीमा पानी भर्न गीतको म्यूजिक भिडियोमा निर्मल सेन्चुरी र शशी खड्काको अभिनय रहेको छ ।

    nirmala thapa magar
    गुल्मी दिगाममा जन्मिएकी निर्मलाले धेरै गीत गाइसकेकी छिन् । करिब दुई दर्जनभन्दा बढी गीतमा स्वर दिइसकेकी गायिका थापाले ‘अस्तित्व’ आधुनिक एल्बमबाट आफ्नो गायनयात्रामा हाम्फालेकी हुन् । अस्तित्व एल्बमको यो धर्तीमा झरेँ किन बोलको गीत हिट भयो तर उनलाई भने चिनाउन सकेन । जुन गीत चल्यो तर मलाई चिनाएन, उनले म्यूजिकखबरसँग भनिन् । मन्जुश्री संगीत पाठशालामा संगीत अध्ययन गरेपछि करिब दुई वर्ष शिव परियारसँग संगीतको शिक्षा लिएकी निर्मलाले ८ वर्ष संगीत क्षेत्रमा बिताइसकेकी छिन् । लोक, लोकपप, आधुनिक जस्ता विभिन्न फ्लेबरमा स्वर भरिसकेकी गायिका निर्मलाका हङकङको लाहुरे, मेरो सोल्टी राजा जस्ता दर्जनौं गीत चर्चाको शिखरमा रहे तर पनि निर्मला भने गायिका रुपमा स्थापित हुन अझै संघर्ष घडीमा नै छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु