• राष्ट्रकविको स्यावासी संगीतकार श्रेष्ठलाई

    म्यूजिक खबर
    प्रकाशित: १६ माघ २०७२, शनिबार

    संस्मरण:   रमेश सुवेदीRamesh Subedi

    नेपाली साहित्यका शिखरपुरुष राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई केही बर्ष अगाडि रोल्पा विकास समाजले आयोजना गरेको कार्यक्रममा होस् वा कवि डा.कृष्णराज डी.सी.को पछिल्लो कृति ‘भगिरथ प्रयत्न’को बिमोचन कार्यक्रममा निकटबाट नियाल्ने,उहाँको मन्तव्य सुन्ने तथा फोटो खिच्ने मौका पाईएपनि ती सार्वजनिक कार्यक्रमहरुमा उहाँसँग मनग्ये भलाकुसारी गर्ने मौका भने नपाईएकोले उहाँको निबासमै पुगेर पेटभरी भलाकुसारी गर्ने रहर त छदैथियो नै । त्यै माथि डा.डी.सी.कै कृति बिमोचनमा कार्यक्रम सम्पन्न भएपछि राष्ट्रकविलाई निबासमा पु¥याउन कवि निवास लैनचौर सम्म जाने जिम्मा लिएका संगीतकार सन्तोष श्रेष्ठको मुखबाट ट्याक्सी ड्राईभरले राष्ट्रकविलाई चिनेर आफूले आफ्नो ट्याक्सीमा बयोबृद्ध सम्मानित कविलाई बोक्न पाएर गर्व महसुस मात्र गरेन कि कविको निवासको एउटा कोठामा सजाएर राखिएका उहाँका सम्मानपत्रहरुको खात देखेर मन्त्रमुग्ध भई ट्याक्सी भाडा नै लिन नमानेको प्रसंग सुनेपछि मलाई पनि ती कविका सम्मान पत्रहरु हेर्ने उत्सुकता अझ बढि जागेको थियो ।

    यसै प्रसंग उठाई कवि निवासमा जाने ईच्छा कविपुत्र एवम् खानेपानी तथा ढल निकास विभाग अन्तर्गत राष्ट्रिय खानेपानी तथा सरसफाइ केन्द्रका प्रमुख राजीव घिमिरे सरसँग प्रकट गरेपछि उहाँले आफ्नो घरमा लैजाने व्यवस्था सहजै मिलाउनु भो । राजीवसर सँगै साहित्यिक मन भएका अर्का सि.डि.ई रजित ओझा, प्रकाश पनेरु र म कवि निवास पुग्यौं । हामी कवि निवासको बैठक कोठामा टांगिएका कलाकृति र व्यवस्थित रुपले मिलाएर राखिएका कदरपत्रहरुको अवलोकन पछि बाहिरै घाममा बसेर छलफल गर्ने कुरा भएअनुसार हाम्रो छलफल शुरु भयो । कविपुत्र राजीव सरले मलाई कविको नजिकै बस्न लगाई कुराकानी गर्न आग्रह मात्र गर्नुभएन कि मलाई पनि साहित्य सर्जक भनी आफ्नो बुवासँग परिचय गराईदिनु भयो । राष्ट्रकविले के विधामा लेख्नुहुन्छ भनी सोध्दा मैले गीत, गजल भनी उत्तर दिए । कविले राम्रो प्रतिकृया दिदै एक दुईवटा आफ्ना रचना सुनाउन आग्रह गर्नुभयो । म रचना सुनाउनुपर्ला भन्ने कल्पना गरेको थिएन न त मेरा कृतिहरु नै बोकेर गएको थिए । तै पनि राष्ट्रकविले आग्रह गरेअनुसार रचना सुनाउने त्यो स्वर्णिम मौकालाई मैले खेर फाल्नु त हुदैन थियो नै । मैले मेरो गजल सङ्ग्रह ‘मनको तरेलीमा’मा छापिएको एक गजलको ३÷४ वटा जति शेर सम्झेर सुनाए । उहाँले चाख मानेर सुन्नुभयो । अर्को भर्खरै मनोजराजको स्वरमा रेकर्ड भएको गजल पनि सुनाए । उहाँले त्यो गजल कस्ले संगीत गरेको हो ? भन्नुभयो । मैले सन्तोष श्रेष्ठले भने । सन्तोषको नाम लिने बित्तिकै उहाँले आफूले भूईचालो सम्बन्धी चारवटा गीत रचना गरेको र अन्य तीनवटा गीत शिलाबहादुर लगायतका संगीतकारलाई संगीत भर्न दिएको एउटा अलि लोकसंगीतमा गर्ने खालको भएकोले सन्तोष श्रेष्ठलाई संगीत भर्न दिने ईच्छा रहेको आशय व्यक्त गरी सन्तोषलाई आफू कहाँ पठाईदिन मलाई आग्रह गर्नुभयो । मैले म आफै लिएर आउने प्रतिज्ञा गरे । मैले कहिले आऊ त ? भनी सोधे । उहाँले जहिले आएपनि हुन्छ भन्नुभयो । हाम्रो भलाकुसारीको क्रममा पटक पटक राजीव सरले आफ्नो मोबाईलबाट खिचिक खिचिक फोटो खिचिरहनु भएको थियो ।

    Rashtrakabi & Santosh

    मैले आफू मात्र कति कुरा गरिराख्नु भनेर अर्का साहित्यकार सि.डि.ई रजित ओझा सरलाई कविको नजिकमा आउन ईशारा गर्दै उहाँ पनि साहित्यकार भएको जानकारी गराए । कविले तपाईको विधा के हो भनी सोध्नु भो ओझा सरले मेरो कथा हो भन्नु भो । कविले आख्यान विधा त अहिले सुनाउन अलि अफठेरो होला भनेपछि रजित सरले आफूले कविता पनि लेख्ने बताउँदै एउटा कविता सुनाउनुभयो । राष्ट्रकविले उहाँको कविता पनि चाख मानेर सुन्नुभो । अब पालो थियो साथी प्रकाश पनेरुको उहाँ साहित्य रचना नगरेपनि साहित्य रुचाउने बताउनु भयो ।

    राष्ट्रकविले हाम्रा रचना सुन्ने मात्र होईन उहाँका ‘नेपाली हामी रहौला कहाँ नेपाल नरहे’ जस्ता पुराना तर कालजयी रचना मात्र होईन भूईचालो पछिका रचनाहरु पनि सुनाउनु भयो । एउटा रचना ,जुन रचना संगीतको लागि सन्तोष श्रेष्ठलाई दिने ईच्छा जाहेर गर्नुभएको थियो त्यो त झन हाम्रो पेशा अर्थात ईन्जिनियरिङसँग नै सम्बन्धित रहेछ । मैले यसो भन्दा उहाँ मुस्कुराउनु भयो । हामी त्यहाँ धेरै बेर बसेर भलाकुसारी गर्ने रहर भएता पनि कार्यालयको कामको बाध्यताले कार्यालय फर्कियौं । रजित ओझा सरले आफूले राष्ट्रकविलाई भेटेर रचना सुनाउन पाउँदा टेन्सन दूर भएको प्रतिक्रिया दिनुभयो । एक त ९७ बर्षीय बृद्धलाई भेट्न पाउनु देवता भेटे सरह नै हो भन्ने अर्को कुरा राष्ट्रकै विशिष्ट व्यक्तित्व सँग यसरी भलाकुसारी गर्न पाउनु हाम्रो लागि अहोभाग्य नै ठान्यौ ।

    bbbbbbbbbbbbbb
    राष्ट्रकविले आफ्नो एउटा गीतको लागि संगीत भर्न सन्तोष श्रेष्ठ लाई ल्याएर आउनु भनेको कुरा मैले त्यसै दिन सन्तोष श्रेष्ठलाई सुनाए । उहाँले शुरुमा त पत्याउनु नै भएन । राष्ट्रकविले आफूलाई सम्झिएकोमा उहाँ पनि खुशी नहुने कुरै भएन । एक दिन दुवै जना फेरी कवि निवास अल्कावस्ती, लैनचौर जाने निधो भयो । पुस २५ गते शनिबार राष्ट्रिय नाचघरमा रोल्पा जलजला सेवा समाजले आयोजना गरेको भेटघाट तथा सांस्कृतिक कार्यक्रममा केही समय सहभागी भएपछि पूर्व योजना अनुसार सन्तोष जी र म कवि निवास तिर लाग्यौ । हामी आएको जानकारी पछि राष्ट्रकविज्यू बैठकमा पाल्नुभयो । उहाँसँग गरेको प्रतिबद्धता अनुसार मैले सन्तोष श्रेष्ठलाई लिएर गएपछि मलाई ‘तपाई त बचनको पक्का हुनुहुदोरहेछ’ भनेर धाप मार्नुभयो । उहाँसँग भएको पहिलो भेटमा उहाँले आग्रह गरे बमोजिम मेरो २०६१ सालको पूर्वसन्ध्यामा प्रकाशित गरेको गजल संग्रह ‘मनको तरेलीमा’ र २०६८ सालमा म लगायत दामु मर्सिफुल र कविता उपाध्यायले संयुक्त रुपमा प्रकाशित गरेको ‘त्रिवेणी’ नामक गजलसङग्रह कविज्यूलाई प्रदान गरे । उहाँले खुशी भई मनको तरेलीको एउटा र त्रिवेणीको एउटा गजल आफै बाचन समेत गर्नुभयो । एउटा कविताको र एउटा मेरो गजल थिए ती । उहाँले पढेर राम्रो भएको प्रतिक्रिया दिनुभयो ।

    अव सन्तोषजीलाई सँगीत गर्न दिने गीतको लागि उहाँका कनिष्ठ पुत्र राजीवसरलाई बोलाउनु भयो तर उहाँ शायद बाहिर जानुभएको थियो । पछि ईमेलमा पठाउने कुरा भो । सन्तोषजीलाई आफ्नो इमेल ठेगाना छोड्न लगाउनुभो । गीत रेकर्ड गराउने म्युजिक नेपालमा रहेछ, त्यसैले आफ्नो फोनको डायरी ल्याएर म्युजिक नेपालका सन्तोष शर्मालाई डायल गर्न लगाउनुभो । सन्तोष श्रेष्ठको मोबाईलबाट कुरा गर्दा बुझिएन क्यार उताबाट ल्याण्डलाईन बाट फोन गर्न आग्रह गरेपछि फेरी कविले त्यो ‘जैसीजस्ता ईन्जिनीयर’बोलको गीत सन्तोष श्रेष्ठलाई म्युजिक गर्न दिनु भन्नुभयो ।

    विभिन्न गीतहरुमा संगीत गर्ने संगीतकारहरुको अनुसार राष्ट्रकविले एकैपटकमा चित्त नबुझाउने गरेको प्रसंगहरु सन्तोषजी आफैले पनि सुनाउनु भएको थियो मलाई । त्यै माथि कविपुत्र राजीव सरले मसँग आफ्नो बुबाको संगीतमा पनि गहन अध्ययन भएको हुँदा उहाँलाई चित्त बुझाउन केही गाह्रो हुन्छ,त्यो कुरा सन्तोषजीलाई भन्दिनुहोला भन्नुभएको थियो । मैले यी कुरा सन्तोष जीलाई सुनाएको थिए । मैले उहाँले तयार गरेको मेलोडी पनि सुनिसकेपछि यो त राष्ट्रकविले कसो मन नपराउलान् र भन्ने मनमनै सोंचेपनि तर पहिलो पटकमै उहाँबाट ओके हुनेमा हामी विस्वस्त भने थिएनौं ।

    12509713_1663598363902876_3580701831807947052_n (1)
    गीत प्राप्त भएको करीव एक हप्ता पछि अर्थात माघ ५ गते उनै गीतकार÷कविलाई मेलोडि सुनाउन एकजना पूर्व प्रशासक साहित्यकार रवीन्द्र आशीष शैली सर सहित म र सन्तोषजी कविनिवास पुग्यौ । यो मेरो एक महिना भित्रैको कविसँगको तेश्रो पटकको भेट थियो । कविज्यूलाई मैले म त फेरी आए नि भनेपछि उहाँले तपाईको आगमनबाट शुरु भएको गीत रेकर्डको अन्त हुदा सम्म पनि आउनुस् भन्नु भो हाँसेर । त्यति मात्र होईन तपाई गीत÷गजल लेख्ने मान्छे पनि भएकोले यस्तो अवसरमा आउनुपर्छ भन्नु भो । मन खुशीले पुलकित भयो । अव साहित्यकार रवीन्द्रले आफ्नो गीतिसंग्रह ‘शैलीका गीतहरु’ राष्ट्रकविज्यूलाई प्रदान गर्नुभएपश्चात सतोषजीले गीत गाएर सुनाउन हार्मोनियम तिर औला सल्बलाउन थालेपछि मैले पनि मेरो मोबाईल तयार गरी भिडियो रेकर्ड गर्न थाले । किनकि यो भिडियो सन्तोषजीको लागि मुल्यवान हुने मेरो ठम्याई थियो । सन्तोषजीले पुरै गीत गाउँदा कविका हाउभाउ र अनुहारबाट उहाँले मेलोडि अति नै रुचाएको प्रतित हुन्थ्यो । सबै गीत सुनिसकेपछि शब्दबाटै संगीतको प्रशंसा गर्नुभो पनि । उहाँको त्यो ‘जैसी जस्ता ईन्जिनीयर एकु बिन्ती लेउ,कहाँ कस्तो घर बनाउँ, माटो हेरिदेउ’ भन्ने स्थायी भएको त्यो गीतको पछिल्लो बाक्यको मेलोडिले उहाँलाई धेरै छोएछ । त्यसलाई अगाडि राख्नु भन्नु भो । मैले त ईन्जिनियरलाई दोश्रोमा झार्दे भनेर मलाई हेर्दै ठट्टा गर्नुभो, हामी सबै हाँस्यौं,उहाँ पनि हाँस्नु भो ।गीत रेकर्डिङ र बाजागाजाका अन्य सामान्य जिज्ञासा सन्तोषले राखेपछि त्यसमा उहाँको सामन्य राय दिदै छिटो भन्दा छिटो रेकर्ड गराउनुहोला भन्नुभो । संगीतको मामलामा सबैले अप्ठेरा भनेका कवि र पहिलो मेहनतमै यसरी उनका शब्दमा आफ्ना संगीतको संयोजन स्वीकृति होला भन्ने कल्पना नगरेका सन्तोषजी स्वीकृति मात्र होईन स्यावासी समेत पाएपछि खुशी नहुने कुरै भएन । हामी पनि गीत संगीतको सवालमा पटक पटक कविसँग भलाकुसारी गर्न पाउँदा खुशी नहुने कुरै थिएन ।

    ९७ बर्षीय कविको हृष्ठपुष्ट शरीर, चश्मा नलगाएरै पढ्न सक्ने खुबी तथा त्यो जोश साँच्चिकै बरदान लिएर आएको आभास हुन्थ्यो हामीलाई । लोक संगीतलाई अत्यन्त माया गर्ने कविले यस भन्दा अघिल्लो भेटमा हामीसँग आफ्नो गीतमा राप्तीको लोकलय समेटियोस् भन्ने चाहना गर्नुभएको थियो । यसपटक सुनाएको त्यो मेलोडिमा आफूले त्यो पाएकोमा प्रफुल्ल देखिनु भएको थियो । उहाँले आफूले अहिले महाकाव्य लेखिरहेको र त्यसपछि ओपेरा लेख्ने ईच्छा रहेको बताउनु भएको थियो । पहिले पहिले पश्चिमका गीतहरु राजधानी सम्म आईनपुग्ने बरु कामको शिलशिलामा देश बाहिर जानेहरु मार्फत बाहिर गएको प्रसंग कोट्याउँदै कविले पश्चिमको संगीतको प्रबद्र्धनको लागि देउकीको बारेमा ओपेरा लेख्ने, कर्णालीको देउडा लयमा गीत रचना गर्ने तथा रेकर्ड गराउने धोको रहेको बताउनु भएको थियो । म राष्ट्रकविको सुश्वास्थ्य तथा दिर्घायुको कामना गर्दै उहाँका ईच्छाहरु सबै पूरा होउन भन्ने चाहना समेत राख्दछु ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु